site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
यी हुन् युक्रेनी सेनाबाट फुत्काएर स्वदेश फर्काइएका दुई नेपाली

सिड्नी । नौ महिनासम्म युक्रेनी सेनाको कब्जामा रहेका दुई युवा नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको पहलमा स्वदेश फर्किएका छन् । 

भारतको नयाँ दिल्लीस्थित एक कन्सल्टेन्सीबाट विद्यार्थी भिसामा युक्रेन पुगेका दोलखा घर भएका शेर साम्बो शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा नौ महिनाअघि युक्रेनको अध्यागमन टोलीको पक्राउमा परेका थिए । 

छोटो समयको भिसा लिएर युक्रेन पुगेका उनीहरू भिसा थप्ने प्रक्रियामा रहदा युक्रेनी आर्मीको चेकजाँचमा समातिएका थिए । उनीहरूलाई नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको विशेष पहलमा त्यहाँबाट उद्धार गरिएको हो। उनीहरूको हवाई भाडाको व्यवस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मिलाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एनआरएनका प्रतिनिधिसँग कुरा गर्दै दोलखाका शेर साम्बो शेर्पाले सामाजिक सञ्जालमा देखिएका विज्ञापनमा लागेर भाषा अध्ययन तथा रोजगारीको आसमा आफूहरू माल्दोवा हुँदै युक्रेन पुगेको बताएका छन् । 

शेर्पाले आफूहरू प्रलोभनमा परेर युक्रेन गए पनि अरूलाई नजान समेत आग्रह गरे । अझै पनि दिल्लीको बाटो हुँदै सयौँ नेपाली युक्रेन पुगिरहेको अवस्था छ । दलालहरूले भारतको बाटो हुँदै युक्रेन लाने गरेकाले त्यसलाई रोक्नुपर्ने शेर्पाले बताएका छन् । 

आफूहरूलाई नेपाल फर्काउने क्रममा जर्मनीका लागि नेपाली राजदूत शैल रूपाखेती, एनआरएनए अध्यक्ष बद्री केसी तथा श्रीलंकाली नियोगको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए । 

अध्यागमनको हिरासतमा रहँदा शारीरिक यातना नदिए पनि मानसिक तनाव भने निकै भएको शेर्पाले बताए । अदालतले डिपोर्ट गर्ने निर्णय गरे पनि युक्रेनी सेनाले स्वास्थ्य परीक्षण गरेर राखेको बताए । कानुनी अड्चनका कारण नौ महिना हिरासतमा बस्नुपरेको शेर्पाले सुनाए ।

एनआरएनका अध्यक्ष बद्री केसीले विदेशी भूमिमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्ने आफूहरुको दायित्व भएकाले यसपटक पनि सहयोगी भूूमिकामा सफल भएको बताए । ‘‘हामी निरन्तर सम्पर्क र उद्धारको प्रयासमा थियौँ यसमा राजदूतावासको महत्त्वपूर्ण सहयोग पायौँ र नेपाल ल्याउन सफल भयौँ,’’ केसीले भने । 

एनआरएनले यसअधि पनि विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  ०५:५७
प्रतिक्रिया दिनुहोस्