site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
अस्ट्रेलियाको रियल इस्टेटमा जमेको नेपाली ठिटो  

सिड्नी, अस्ट्रेलिया । चितवनको भरतपुरमा गितार बजाउँदै हिँड्ने एक अल्लारे ठिटो गायक वा नायक बन्ने सोचमा थियो । तर एकाएक मुलुकमा सुरू भएको माओवादी द्वन्द्वले उनलाई देश छाडेर विदेश पलायन हुन वाध्य बनायो । पुर्पुरोमा लेखेको कुरा रोक्न कसैको बसमा थिएन । 

चितवन थातथलो भएका विजय पौडेल यस्तै परिस्थितिमा सन् २००७ मा अस्ट्रेलिया आइपुगे, उच्च अध्ययनका लागि ।  यतिबेला अस्ट्रेलियाको नेपाली समाजमा घर जग्गाको नाम लिने बित्तिकै धेरैले सम्झने नाम हो, विजय पौडेल । 

सिड्नीको रियल इस्टेट नेपालीहरूको प्रवेशसँगै झांगिएको यो व्यवसायमा पौडेल एउटा पर्यायवाची नाम पनि बनिसकेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चिटिक्क परेको जिउडाल र अजीझैँ उनको बोल्ने शैलीले नेपाली मात्र होइन, व्यवसायमा थुप्रै अस्ट्रेलियनहरू पनि सहजै आकर्षित हुन्छन । पछिल्लो सात वर्षमा करिब ६ सय घर बेचबिखन गर्न सफल पौडेलको रियलस्टेट यात्रा रोचक मात्र हैन, रोमाञ्चक पनि छ । 

रियल इस्टेट व्यापारबाट पौडल विदेशीको आँखामा ‘बिजे पल’ पनि बने । गीत–गीतको पारखी पौडेलले अस्ट्रेलियाको सिड्नीलाई कर्मभूमि बनाउँदै लामो समय आफ्नो संघर्षलाई कायमै राखे । 

प्रारम्भमा कुकरीबाट अध्ययन र विदेश बसाइँ प्रारम्भ गरेका पौडेलले त्यसपछि संगीत पनि पढ्न भ्याए । 

उनको सोखै थियो, गाउने । त्यो निरन्तर गर्न सकिन्छ कि भनी संगीतमा ब्याचलर डिग्री पनि गरे । पव–रेष्टुरेन्टमा गीत पनि गाए ।

तर आर्थिक रुपमा सोचेअनुरुप प्रगति हुन नसकेपछि केही फरक र अलग काम गर्ने सोच आयो । त्यसपछि अनाडेलमा आफ्नै रेस्टुरेन्ट खोलेर साहुजी बन्ने निधो गरे । एक वर्षमा रेस्टुरेन्ट चलेन बन्द भयो । फेरि आर्थिक समस्याले गाँज्न थाल्यो, उनी पुराना दिन सुनाउँछन् । 

नेपाली समाजका सबैखाले कार्यक्रममा सहभागी हुने उनको दिनचर्या बनिसकेको थियो । सन् २०११ मा ‘मिस्टर एन्ड मिस’ अस्ट्रेलियामा उनी रनर अप समेत भए । काम र माम अनि घुमघामलाई दामले साथ दिन छाडेपछि पौडेलले धनको महत्व राम्ररी बुझे । 

यसरी समस्याको पहाड बढ्दै गर्दा पौडेलले के गर्ने भनी कम्प्युटरमा घन्टौ नियाल्न थाले ।  अस्ट्रेलियाको सिड्नीमा रियल इस्टेट बिजनेश बुम भइरहेको देखेपछि उनले यसमा भिड्नुपर्छ भन्ने सोच बनाए । 

त्यसपछि उनले एक रियलस्टेटमा डिप्लोमा गरेर ए प्लस रियालिटीमा जागिर खाए । त्यहाँ उनले कमाईभन्दा सिकाईमा बढी जोड दिए । 

दिनभर रियल इस्टेट र रातभर अर्को काम गरेर भएपनि उनले आफ्नो सामाजिक जीवनलाई कायमै राखे । रियल इस्टेटमा काम गर्न सके राम्रै कमाई हुने देखेपछि उनले पुन ‘रे ह्वाइट रियल इस्टेट’मा जागिर गर्न थाले । त्यतिबेला उनले तीन महिनामा चार वटा अपार्टमेन्ट बेचे । तलबबाहेक राम्रै कमाइ भयो । त्यसपछि उनले कहिले पछाडि फर्केर हेरेनन् ।

सन् २०१६ मा ‘रे हवाइट’मै काम गर्दै गर्दा उनले अन्य केही साथीभाइ पनि भेटे । त्यसपछि उनको यात्रा प्रारम्भ भयो, ‘मल्टी डाइनामिकमा ।’ 

रे ह्वाइटमै काम गर्ने मेघराज पौडेल अनि बिष्णु प्रभातसँग मिलेर पौडेलले मल्टी डाइनामिक रियल इस्टेट प्रारम्भ गरे ।  अस्ट्रेलियामा नेपाली समाज बढ्दै गएको बेला मल्टीले सिड्नीको रियल इस्टेटमा धुम मचायो । यसका देशैभरि फ्रेन्चाइज पनि सञ्चालनमा ल्याए ।

संचालकका रुपमा पौडेलले मल्टीमा आफ्नो कला र परिश्रम खर्च गरे । यसले रंग पनि ल्यायो र पैसो पनि कमाए । उनी अचानक मल्टी डाइनामिक छाडे । यहाँको प्रतिष्ठित रियलस्टेट रेन एन्ड हर्नको लेपीङ्टन र अस्टल शाखा सञ्चालनमा ल्याएका छन् । आफूले खडा गरेको कम्पनी छाड्नुको पछाडि उनी नयाँ चुनौती स्वीकार गरेको बताउँछन् । 

उनी भन्छन्, ‘‘नेपाली समाज मात्र होइन, अस्ट्रेलियामा ब्यापार गरेपछि हरेक समाजमा पुग्नुपर्छ भन्ने मेरो मान्यता हो । तर नेपाली त आफ्नै घर भइहाल्यो ।’’ 

उनी दाइ विकास पौडेलको साथ र सहयोगमा उनी रेन एन्ड हर्नमार्फत आफूलाई अलग धारमा चिनाउने प्रयासमा अग्रसर रहेको बताउँछन् । 

उनले आफ्नो लक्ष्य सुनाए, ‘‘एक दिन एउटा नेपालीको छोरो अस्ट्रेलियाको नम्बर एक रियल इस्टेट एजेन्ट बन्नुपर्छ भन्ने मेरो मान्यता हो ।’’  धर्मपत्नी संचिता दाहालसँग सिड्नीको रियल इस्टेटमा रमाइरहेका पौडेल नेपाली युवाहरूको उत्प्रेरणा समेत हुन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्