site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्न ‘वेटिङ’मा बाराकोटी, मन्त्रालयले कहिले दिन्छ पत्र ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा रहेका डा. टंक बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त भएको खबर गत मंगलबार बाहिरियो । विभागीय मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई जिम्मेवारी दिएको भनियो । तर बिहीबार (आज)सम्म पनि बाराकोटीले नियुक्तिको पत्र पाएका छैनन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव बन्ने दौडमा रहेका डा. बाराकोटी सचिवका लागि तेस्रो नम्बरमा सिफारिसमा परेका थिए। तर, सचिव सिफारिसका लागि दोस्रो नम्बरमा परेका डा. विकास देवकोटालाई गत साता बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव नियुक्त गरेपछि डा. बाराकोटी सचिवको दौडबाट बाहिरिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनलाई नै स्वास्थ्य मन्त्री पौडेलले विभागको महानिर्देशक बनाउने तयारी गरेका हुन् । उनीहरू तीनैजना १२औँ तहका डाक्टर हुन् ।

“डा. बाराकोटीलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाउन मन्त्री पौडेल तयार हुनुहुन्छ, उहाँ वेटिङमा नै हुनुहुन्छ, एक–दुई दिनमा नियुक्तिपत्र दिने कुरा छ,” स्वास्थ्यमन्त्री पौडेलको सचिवालयका एक कर्मचारीले भने ।

डा. बाराकोटीबाहेक डा. संगीता कौशल मिश्रा पनि १२औँ तहकी डाक्टर हुन् । तर मिश्रालाई विभागको महानिर्देशकबाट हटाउँदा मन्त्री पौडेलले हालका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई महानिर्देशक बनाएका थिए । डा. देवकोटा सचिव बनेपछि रिक्त स्थानमा डा. बाराकोटीलाई मन्त्री पौडेलले जिम्मेवारी दिने तयारी गरेका हुन् ।

“मलाई पनि तपाईं विभागको महानिर्देशक बन्दै हुनुहुन्छ भनेर भनिएको हो, तर नियुक्तिपत्र पाएको छैन,” डा. बाराकोटीले बाह्रखरीसँग भने।

विसं २०५६ सालमा सेवा प्रवेश गरेका बाराकोटी २०७९ चैत १३ मा १२औँ तहमा बढुवा भएका थिए। त्यसअघि उनी प्रदेशिक अस्पताल भद्रपुरमा मेडिकल सुपरिटेन्डेन्ट हुँदै स्वास्थ्य मन्त्रालयमा आएका हुन् । 

उनले अधिकांश समय काठमाडौंबाहिर बसेर सेवा गरेका छन् ।  हाल उनी मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा जिम्मेवारीमा छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्