site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसभित्रै घिमिरेमाथि प्रश्न– जे पनि बोल्न पाइन्छ तर, प्रमुख सचेतकबाट राजीनामा दिएर
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेको विषयमा पार्टीभित्रै गम्भीर प्रश्न उठेको छ । पार्टीको जिम्मा लिने पदमा बसेर गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै घिमिरेका विषयमा प्रश्न उठेको हो । संसद्‌मा र पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा प्रश्न उठिरहेकै समयमा नेता डा. मीनेन्द्र रिजालले घिमिरेको भूमिकामा प्रश्न उठाएका हुन् ।

उनले प्रमुख सचेतक पदमा बसेपछि पार्टीको प्रतिनिधित्व हुने भन्दै सचेतकको जिम्मेवारीबाट अलग भएर व्यक्तिगत धारणा राख्नुपर्ने बताए । “पार्टीका प्रमुख सचेतकले नै यौन व्यवसायको बैधानिकताबारे बोल्नुभयो । निर्वाचित सांसदको बोल्ने अधिकारप्रति मेरो टिप्पणी छैन,” डा. रिजालले भने, “तर, प्रमुख सचेतकबाट राजीनामा दिएर बोले भयो नि !”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डा. रिजालले जिम्मेवार पदमा बसेकै व्यक्तिले बोल्ने अनि माफी माग्ने गर्दा त्यसले पार्टीकै विश्वासनीयतामा प्रश्न उठाउने बताए । “बोल्ने अनि माफी माग्ने, प्रमुख सचेतकले दलीय आधारमा समय लिने अनि माफी माग्दा मेरो व्यक्तिगत धारणा हो भन्ने ?,” प्रश्न उठाउँदै डा. रिजालले भने, “भोलि उहाँले रोष्ट्रममा बोल्दा तपाईंको व्यक्तिगत धारणा कि पार्टीको भनेर सोध्नुपरेन ? त्यसबेला पार्टीको विश्वासनीयता के हुन्छ ?”

घिमिरेले अन्य विषयमा पनि संसदीय व्यवस्था र पार्टीको लोकतान्त्रिक चरित्रको प्रतिनिधित्व गर्न नसकेको डा. रिजालको टिप्पणी थियो । उनले संसद्का अन्य दलहरूका प्रश्नमा दिनुपर्ने जिम्मेवारी नहुँदा नहुँदै जवाफ दिन गएको र जवाफ कांग्रेस नभएर अर्कै पार्टीको सदस्यका रूपमा आएको पनि बताए । “श्याम घिमिरेसँग मेरो व्यक्तिगत कुनै दुस्मनी छैन । उहाँले पनि रेस्पेक्ट गर्नु हुन्छ । तर, उहाँ अध्यादेश नल्याउने भए संविधान संशोधन गरेर अध्यादेश ल्याउने व्यवस्था नै बन्द गरौँ भनेर बहस गर्नुहुन्छ,” डा. रिजालले भने, “अध्यादेश ल्याउने व्यवस्था रोक्न कसैले बहस गरेको छैन । जति मन लाग्यो त्यति कानुन संशोधन गर्न अध्यादेशको प्रावधान संविधानमा राखिएको होइन ।”

उनले घिमिरेले बुझ्नुपर्ने कुरा धेरैवटा ऐन संशोधन गर्न र एकैपटक धेरैवटा अध्यादेश जारी गर्ने सरकारको सुविधाका लागि अध्यादेशको प्रावधान नरहेको सम्झाउने प्रयास गरे । “एकैपटक धेरैवटा कानुन संशोधन गर्न र धेरैवटा अध्यादेश जारी गरेर बस्न संविधानमा अध्यादेशको प्रावधान राखिएको होइन,” डा. रिजालले प्रश्न गर्दै भने, “त्यसोभए संसद्को कुनै एकाउन्टिबिलिटी हुँदैन ? लोकतन्त्रमा अध्यादेशबाट होइन विधायिकाले बनाएको कानुनबाट शासन गर्ने हो । अध्यादेश जारी गरे पनि अहिले संसद्‌मा तिनै अध्यादेशका प्रतिस्थापन विधेयकमा छलफल चलिरहेको छ ।”

उनले सरकारले विधेयक सिधै संसद्‌मा ल्याएर फास्ट्रयाकमा अघि बढाउँदा सरकारमाथि प्रश्न नउठ्ने बताए । पदमा बसेका व्यक्तिको अभिव्यक्तिमा पार्टी भेटिनुपर्ने भन्दै घिमिरेका अभिव्यक्तिले पार्टीमा मात्र नभएर संसद्को उत्तरदायित्व र लोकतान्त्रिक प्रणालीका विषयमा समेत प्रश्न उठिरहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्