site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षकको तहगत शैक्षिक योग्यता तोक्नेदेखि दण्ड र पुरस्कारसम्मको प्रस्ताव
फाइल तस्बिर ।

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० मा तहअनुसार शिक्षकको शैक्षिक योग्यता तोक्नेदेखि नतिजाका आधारमा दण्ड र पुरस्कारसम्मको सुझाव आएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा रहेको विधेयकलाई ऐनको रूप दिन सरोकारवालाहरूले यस्तो सुझाव दिएका हुन् ।

समितिले विधेयकमाथि सुझाव संकलनका निम्ति गएको मंसिर २६ देखि माघ १४ गतेसम्म सातै प्रदेशमा सरोकारवालाहरूसँग छलफल तथा अन्तर्क्रिया गरेको थियो । यसैका आधारमा समिति सचिवालयले विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रमको प्रतिवेदन २०८१ तयार पारेको छ ।

१६३ दफा रहेको विधेयकमाथि प्रदेश, जिल्ला र पालिकास्तरसम्म पुगेर प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, शिक्षक संघ संगठनका प्रतिनिधि, बालबालिका सञ्जाल, पत्रकार, जिल्ला समन्वय समिति प्रमुखहरू, प्याब्सनका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति लगायतका सरोकारवालासँग अन्तर्क्रिया तथा छलफल गरिएको थियो । प्राप्त सुझावहरूलाई प्रतिवेदनमा विभिन्न २८ वटा उपशीर्षकमा वर्गीकरण गरी समितिमा पेस गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्ता छन् विधेयकमाथि आएका सुझावहरू
विद्यालय शिक्षा ऐनको रूपमा आउन लागेको विधेयकमा सरोकारवालाले संस्थागत विद्यालयलाई तत्काल निरुत्साहित गर्न नहुनेगरी व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । निजी विद्यालयलाई गुठीको साटो कम्पनी ऐनअनुसार सञ्चालन गर्नुपर्ने र तिनको नियमनका लागि छुट्टै बोर्ड गठन गर्नुपर्ने सुझाव आएको छ ।

साथै, निजीलाई सहकारी मोडेलमा चलाउन सकिने  र निजीका शिक्षकहरूलाई पनि अस्थायी अनुमतिपत्र (लाइसेन्स)को व्यवस्था हुनुपर्ने सुझाव  छ । निजीले दिने छात्रवृत्ति प्रतिशत बढाएर २० देखि २५ सम्म पुर्‍याउनुपर्ने पनि सुझाव दिइएको छ ।

सामुदायिक विद्यालयको हकमा भने सरकार र शिक्षकबीच यसअघि भएका सम्झौता हुबहु कार्यान्वयन हुने गरी ऐन जारी हुनुपर्ने, शिक्षकले अतिरिक्त काममा संलग्न हुन पाउने व्यवस्था हुनुपर्ने सुझाव छ ।

तह छुट्याएर सामुदायिक विद्यालयका कर्मचारीको पनि नियुक्ति शिक्षक सेवा आयोगबाटै हुनुपर्ने, सबै शिक्षकलाई निजामती कर्मचारी सरह स्थानीय सरकार अन्तर्गत रहने गरी समायोजन गरिनुपर्ने पनि सुझाव छ ।

सुझावमा शिक्षक सेवा आयोगबाट पाँच वर्षका निम्ति अस्थायी लाइसेन्स पाएका शिक्षकलाई स्वतः स्थायी लाइसेन्स उपलब्ध गराउनुपर्ने, सातै प्रदेशमा शिक्षक सेवा आयोग गठन गर्नुपर्ने पनि उल्लेख छ ।

गुणस्तरीय शिक्षाका निम्ति विद्यार्थी संख्याका आधारमा बालविकास शिक्षकको व्यवस्था हुनुपर्ने, प्रक्रिया पुर्‍याइ उनीहरूलाई स्थायी गरिनुपर्ने, न्यूनतम सुविधा तोकिनुपर्ने सुझाव छ ।

माध्यमिक तहसम्मको विद्यालय शिक्षासम्बन्धी अधिकार प्रदेशलाई र सोभन्दामाथि संघलाई हुने गरी व्यवस्था हुनुपर्ने, नियमन र अनुगमनको अधिकार प्रदेश सरकारले गर्नुपर्ने, शिक्षक व्यवस्थापन र सरुवाको अधिकार स्थानीय तहको हुने हालको व्यवस्था व्यवहारिक नभएकाले प्रदेशले गर्ने व्यवस्था हुनुपर्ने सुझाव आएको छ ।

तर, पाठ्यक्रममा भने तीनैतहको भूमिका हुनुपर्ने, प्रत्येक पालिकाले २० वर्षको विद्यालय सुधार रणनिति बनाउनुपर्ने, शिक्षामा लगानी स्थानीय तहको भूमिका हुनुपर्ने र विद्यालयले पाउने अनुदान पनि प्रदेशमार्फत् आउनुपर्ने सुझाव छ । राज्यकोषबाट तलब लिने कर्मचारी, जनप्रतिनिधि सबैले आफ्ना सन्तान अनिवार्य सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने र राजनीतिरहित  सामुदायिक विद्यालय बनाउने गरी व्यवस्था हुनुपर्ने सुझाव छ ।

शिक्षकको लाइसेन्स सँगसँगै कम्प्युटर स्कील टेष्ट पनि गराउनुपर्ने, विश्वविद्यालयमा उत्कृष्टता हासिल गरेकालाई शिक्षक नियुक्त गर्नुपर्ने तथा जुनसुकै विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था हटाइनुपर्ने सुझाव आएको  छ ।

गुणस्तरीय शिक्षाका निम्ति अभिभावक र परिवारको भूमिका स्पष्ट उल्लेख हुनुपर्ने, विद्यालय व्यवस्थापन समितिमा स्थानीय सरकारबाट तोकेको व्यक्ति हुनुपर्ने, समितिका पदाधिकारीले विद्यालयमा दिने समय तोक्नुपर्ने र समितिको हाल कायम रहेको तीनवर्षे कार्यकाल बढाउनुपर्ने सुझाव दिइएको छ  ।

विद्यालय शिक्षा निःशुल्क भनिएको हालको  ऐन कार्यान्वयन हुने गरी व्यवस्था गरिनुपर्ने र निजी विद्यालयको शुल्क नियन्त्रणमा पनि ऐनले बोल्नुपर्ने सुझाव आएको छ ।

कक्षा ११ र १२ मा दरबन्दी सिर्जना गरी विषय शिक्षकबाट नै अध्यापन गराउने व्यवस्था हुनुपर्ने, शिक्षकको साप्ताहिक कक्षा लोड १२ देखि १८ पिरियड हुनुपर्ने र एसईई प्रदेश बोर्डबाट लिन उचित हुने सुझाव आएको छ ।

शिक्षक बढुवामा २५ प्रतिशत आन्तरिक, २५ प्रतिशत कार्यसम्पादन मूल्यांकन र ५० प्रतिशत ज्येष्ठताका आधारमा हुनुपर्ने, नियुक्तिपछि एकदेखि तीनमहिना सेवा प्रवेश तालिम दिनुपर्ने सुझाव दिइएको छ ।

अस्थायी सेवामा २५ वर्ष काम गरी रिटायर्ड भएका शिक्षकलाई विशेष सुविधा दिने तथा स्थायी र करार गरी दुईखाले मात्रै शिक्षक रहनुपर्ने गरी ऐनमा व्यवस्था हुनुपर्ने सुझाव छ ।

शिक्षक कर्मचारीको सेवासुविधा निजामती सरह हुनुपर्ने, बढीमा पाँच–पाँच वर्षमा सरुवाको व्यवस्था गरिनुपर्ने र अपांगता भएका शिक्षक कर्मचारीलाई विशेष सेवा सुविधाको व्यवस्था गरिनुपर्ने सुझाव छ ।

सेवा प्रवेशको उमेरहद ४० वर्षसम्म हुनुपर्ने र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनु्पर्ने पनि सुझाव दिइएको छ । द्वन्द्वपीडित शिक्षकलाई सेवा टुटेको अवधिको समेत जोडेर सुविधा दिनुपर्ने सुझाव छ ।

तहअनुसार शिक्षकको शैक्षिक योग्यताबारे पनि सरोकारवालाले सुझाव दिएका छन् । जसमा कक्षा ५ सम्म पढाउने शिक्षकको शैक्षिक योग्यता प्लस टु, ६ देखि १० सम्म स्नातक र ११ र १२ मा स्नातकोत्तर तोक्नुपर्ने उल्लेख छ ।

योग्यताक्रम र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा हुने र शिक्षकका हकहितका निम्ति एउटा ट्रेड युनियन मात्रै राखेर बाँकी सबै संघ संगठन खारेज गर्ने गरी ऐनले व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

राजनितिक दलमा लाग्ने र मयार्दाविपरीतका कार्य गर्ने शिक्षकलाई दण्ड र राम्रो नतिजाका लागि योगदान पुर्‍याउनेलाई पुरस्कारको व्यवस्था हुनुपर्ने सुझाव दिइएको छ ।

यस्तै, प्रधानाध्यापकको छुट्टै दरबन्दी हुनुपर्ने, जुन आयोगबाट पूर्ति हुनुपर्ने अधिकार त्यहीबाट प्राप्त हुनुपर्ने पनि सुझाव दिइएको छ । लामो समय अस्थायी रहेका शिक्षकलाई अस्थायीबीच आन्तरिक प्रतिस्पर्धा गराई पास हुनेलाई स्थायी, नहुनेलाई गोल्डेन ह्यान्डसेक दिइ बिदाइ गर्ने व्यवस्था हुनुपर्ने सुझाव छ । अस्थायी शिक्षक कर्मचारीले पनि बिरामी बिदाको उपभोग गर्न पाउनुपर्ने सुझाव दिइएको छ ।

यसैगरी कक्षा ६ बाटै प्राविधिक शिक्षाको मार्ग खोल्नुपर्ने तथा माध्यमिकमा प्राविधिक शिक्षा अनिवार्य गर्नुपर्ने सुझाव छ । सीटीईभीटीको आउटपुट समीक्षा गरी समसामयिक बनाउनुपर्ने र माध्यमिक शिक्षामा पर्यटन, कृषि, उद्यमशीलता, डिजिटल लर्निङमा जोड दिुनपर्ने सुझाव छ ।

नेपाली, अंग्रेजी र स्थनीय भाषामा अध्यापनको व्यवस्था गरी भाषा छनोटको अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिनुपर्ने सुझाव छ । विद्यार्थी संख्या र भौतिक दुरीका आधारमा विद्यालय मर्ज गर्न सकिने, मर्ज गर्दा छात्रावासको व्यवस्था गर्र्नुपर्ने सरोकारवालाको सुझाव छ ।

विद्यार्थी संख्याका आधारमा विद्यार्थी शिक्षक अनुपात मिलाएर दरबन्दीको व्यवस्था गर्नुपर्ने, जसको अनुपात तराईमा ४० विद्यार्थीका लागि एक शिक्षक, पहाडमा १ः३० र हिमालमा १ः२५ हुनुपर्ने सुझाव दिइएको छ ।

कक्षा ११ र १२ का शिक्षकको दरबन्दी सिर्जना गरी कक्षा ९ देखि १२ सम्म राहत र करारका शिक्षकलाई स्थायी हुने प्रबन्ध गर्नुपर्ने सुझाव छ ।

विद्यालयको गुणस्तरका सम्बन्धमा स्थानीय तहलाई पनि जिम्मेवार बनाउने गरी भूमिका र अधिकार दिइनुपर्ने तथा विद्यालय शिक्षा सुधारमा अभिभावकको भूमिका हुने गरी प्रणाली विकास गर्नुपर्ने सु्झाव छ ।

विद्यालयहरूको गुणस्तर अनुगमनका निम्ति प्रभावकारी संयन्त्र खडा गर्नुपर्ने र इ–हाजिरीको व्यवस्था गरी सोको नियमन गर्न निकाय तोक्नुपर्ने सरोकारवालाको सुझाव छ ।

विद्यालयमा अपांगमैत्री भौतिक संरचना हुनुपर्ने र तालिम दर्ता लगायतको प्रयोजनका लागि शिक्षक काउन्सिलको व्यवस्था हुनुपर्ने सुझाव  छ ।

सामुदायिक विद्यालयको बिदा घटाउनुपर्ने, विज्ञान र गणित विषयमा कम जनशक्ति रहेकाले जनशक्ति उत्पादनमा पनि केही नीति बनाउनुपर्ने, लाइसेन्स प्रक्रिया सहज बनाइनुपर्ने सुझाव आएको छ ।

यसैगरी व्यवहारिक शिक्षामा जोड दिने र शिक्षकलाई विद्यार्थीको मनोविज्ञान बुझ्न सक्ने गरी तालिमको व्यवस्था ऐनले गर्नुपर्ने सुझाव सरोकारवालाबाट आएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्