site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीय संसद्का दुवै सदनको बैठक आज

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने तय छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ ।

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड़काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, दिउँसो १ः१५ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल र पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । मन्त्री अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन् ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उनले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उपप्रधानमन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उनले नै राष्ट्रियसभा बैठकमा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उनले सोही ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । रासस

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्