site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
समय कठघरामा उभिएपछि... 

प्रकाशचन्द्र खतिवडा


आउनुपर्ने दिन आउनु थियो 
लामो यात्रा हिँडेपछि 
वर्षाैंबाट 
केवल समय 
(जसलाई गोजीभित्र राख्न सकिन्न)
गोजीभित्र राख्ने दुस्साहस गर्‍र्यौं 
(जो गर्न हुन्नथ्यो )
अफसोस,
तिमी कुन दन्त्यकथाको बादशाह थियौ कुन्नि ?     
तिमी कुन पुरको सम्राट थियौ कुन्नि ? 
हस्तिनापुर या अरू कुनै पुरको ? 
गज्जब लागिरहेछ मलाई त 
तिम्रो बहुलट्ठीपनदेखि 
अलिकति पढ्नुपर्थ्यो धृतराष्ट्रहरू 
पढ्नुपर्थ्यो अलिकति दुर्याेधनहरू 
र सँगसँगै पढ्नुपर्थ्यो
पाण्डवहरूको अमर कथा । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समय 
शकुनिहरूको जुवाघर मात्रै थिएन 
कौरवहरूको हस्तिनापुर मात्रै थिएन 
समय 
वीर अभिमन्युहरूको 
र वीर योद्धा अर्जुनहरूको पनि थियो 
र त समय 
कर्फ्यभित्र अट्न सकेन । 

हो, 
समय यसरी गोजीबाट फुत्कियो 
फुत्कियो, समात्न के सक्नु थियो र ? 
गयो 
दन्त्यकथाका तासका घरहरू लडाएर गयो 
दन्त्यकथाका बादलका महलहरू पल्टाएर गयो 
मनाउनुपर्ने थुप्रै खुसीहरू थिए 
उठाउनुपर्ने थुप्रै विश्वासका हातहरू थिए 
हल्लाउनुपर्ने थुप्रै विजयका झन्डाहरू थिए 
समय 
(जो गोजीबाट फुत्किएको थियो)
मनाउनुपर्ने खुसीहरूमै पुग्यो 
उठाउनुपर्ने हातहरूमै पुग्यो 
हल्लाउनुपर्ने झन्डाहरूमै पुग्यो ।

यसरी आउनु थियो, आयो 
ल्याउनु थियो, ल्याइयो 
घृणित बुख्याचाका खल्तीहरूबाट
जीवन उत्सर्ग गरेर 
(यहाँ पौँठेजोरी खेलिएको हुनुपर्छ)
यसरी 
वर्षाैंबाट केवल 
प्रतीक्षारत समाउन 
दन्त्यकथाको सेतो हात्ती 
र ऊसँगसँगै 
कठघरामा उभिएको समय 
सायद
लखतरान छ
हत्तुहरान छ 
समयको पदचापसँगै
दन्त्यकथाको सेतो हात्ती 
फुत्कन के बेर ? 
फुत्कन नदेऊ
कोर्रा लगाएर राख
पीडाले छटपटाउँदै 
धुरुधुरु रुन देऊ
ओ महाशय,
तिमीले प्रायश्चित गर्नैपर्छ 
समय कठघरामा उभिएपछि । 

(सुन्दरहरैँचा–६, मोरङ)

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०९:१९
प्रतिक्रिया दिनुहोस्