site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘नवप्रज्ञापन’लाई प्रदान

काठमाडौं । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता कोषले २०८१ सालको ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘नवप्रज्ञापन’ त्रैमासिक साहित्यिक पत्रिकाका सम्पादक नवराज रिजाललाई प्रदान गरेको छ ।

अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको ८८औँ जन्मोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकारहरू शर्मा र रोचक घिमिरेले नगद राशि २५ हजार रुपैयाँ सहित उक्त पुरस्कार प्रदान गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त अवसरमा अभिव्यक्ति पत्रिकाका संरक्षक शर्माले ५० वर्षअघि अभिव्यक्तिको प्रकाशन गर्दाका प्रसंग स्मरण गर्दै साहित्यिक पत्रिका पैसाले मात्र नभई तपस्याले प्रकाशित हुँदै आएको उल्लेख गरे । उनले अभिव्यक्तिको प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

साहित्यिक पत्रिका रचनाका प्रधान सम्पादक रोचक घिमिरेले साहित्यिक पत्रकार र सरकारको सम्बन्धको चर्चा गर्दै सरकारले यस्ता रचनात्मक काममा कहिल्यै ध्यान नदिएको र सहयोग समेत नगरेको बताए । 

पुरस्कार कोषका सदस्य कवि विधान आचार्यले पुरस्कृत पत्रिकाको चर्चा गर्दै रिजालको कामको प्रशंसा गरे । पुरस्कृत पत्रिकाका सम्पादक रिजालले बारा जिल्लामा पत्रिका दर्ता गरेर विगत ३० वर्षदेखि प्रकाशन गर्दाका आरोह अवरोहबारे उल्लेख गरे । उनले आफूलाई यस पुरस्कारले थप दायित्वबोध गराएको बताए ।

नवप्रज्ञापनको १०७औँ अंक केही समयअघि प्रकाशित भएको छ । कोषका अध्यक्ष पवन आलोकले यो पुरस्कार जनस्तरबाट स्थापना भएको बताए । कार्यक्रममा देविका तिमिल्सिना, किशोर पहाडी, शंकर भारतीले बोलेका थिए । 

कोषले यसअघि साहित्यिक पत्रकारहरू रोचक घिमिरे, रामप्रसाद पन्त र चूडामणि रेग्मीलाई पुरस्कृत गरिसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्