site stats
बाह्रखरी :: Baahrakhari
देश
३४ बोराबाट ८९४ केजी शालिग्राम बरामद 

मुस्ताङ । प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ । ३४ वटा सेतो बोरामा ‘प्याकिङ’ गरिएको ८९४ केजी शालिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, घमिबाट जोमसोमतर्फ आउँदै गरेको ग३च ८१५२ नम्बरको बोलेरो जीपमा अवैध शालिग्राम फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं इन्स्पेक्टर विशाल अधिकारीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लोघेकर दामोदरकुण्ड–५, सुर्खाङका ४१ वर्षीय कुनसाङ रेञ्जिङ गुरुङले बोलेर जीपमा लोड गरेर लुकाइछिपाइ शालिग्राम जोमसोमतर्फ ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय छुसाङले बरामद गरेको इन्स्पेक्टर अधिकारीको भनाइ छ ।

अवैध रूपमा ल्याउँदै गरेको शालिग्रामसहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा पेस गरिएको प्रहरीले जनाएको छ ।

एक्याप जोमसोमले शालिग्राम शिलासहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रधान कार्यालय पोखरामा अनुसन्धानका निम्ति पठाइसकेको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।

मुस्ताङको दामोदरकुण्ड हुँदै कालीगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दु धर्मशास्त्रमा विष्णु भगवान्को प्रतीकका रूपमा पुज्ने गरिन्छ । व्यावासायिक रूपमा ठूलो परिमाणमा शालिग्राम ओसारपोसार गर्नेविरुद्ध मुस्ताङ प्रशासन, प्रहरी र एक्यापले कडान निगरानी गर्ने गरेको छ । व्यक्तिगत रूपमा फुटकर शालिग्राम खरिद गरेर जिल्लाबाहिर लैजानका निम्ति प्रशासन, प्रहरी र एक्यापले छुट दिएको छ ।

जिल्लामा सडक सञ्जालको विकाससँगै शालिग्राम दोहनको क्रम बढ्दो छ । यहाँका कागबेनी, मुक्तिनाथ, जोमसोमलगायत स्थानमा खुद्रा व्यापारीले शालिग्राम बिक्रीका निम्ति राख्ने गर्छन् । जिल्लामा पर्यटक आगमन बढेसँगै शालिग्राम संरक्षणको विषय निकै चुनौती बनेको छ । रासस
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्