site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फा कप फुटबल प्रतियोगिता स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने तय भएको लिग कम नकआउट प्रतियोगिता स्थगित भएको छ ।

एन्फाले बिहीबार क्लबहरूलाई प्राविधिक कारणले प्रतियोगिता स्थगित गर्नुपरेको जानकारी दिएको हो । एन्फाले टिम दर्ता गर्ने अन्तिम मिति वैशाख १० गतेसम्मलाई तोकेको थियो । तर, अन्तिम मितिसम्म तीन विभागीय टोली र संकटा क्लबले मात्र टिम दर्ता गराएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत चैत २५ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न बैठकले १४ शीर्ष डिभिजन क्लबको सहभागिता रहने लिग कम नक आउट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । प्रतियोगिता वैशाख २० गते हुने भनिएको थियो ।

प्रतियोगिताको विजेताले एएफसी च्यालेन्ज लिग २०२५/२६ का पहिलो चरणमा नेपालको प्रतिनिधित्व गर्ने बताइएको थियो । गत वर्ष लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको थियो । चर्च ब्वाइज घरेलु मैदानमै भुटानको पारो एफसीसँग २–१ ले पराजित गरेको थियो ।

यसैगरी एन्फाले एएफसी क्लब लाइसेन्स प्रक्रिया समेत स्थगित गरिएको जानकारी दिएको छ । यससँगै एएफसीका क्लब प्रतियोगितामा यो वर्ष कुनै पनि नेपालको प्रतिनिधित्व रहने सम्भावना न्यून बनेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्