site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्राधिकरण वित्तीय समस्यामा, नगद प्रवाह व्यवस्थापन कठिन

काठमाडौं । सरकारको सेयर तथा ऋण लगानीमा सञ्चालित विभिन्न आयोजनामा विनियोजित रकम निरन्तर घट्दो क्रममा रहेको देखिएको छ ।

चालु आर्थिक वर्षमा सरकारको आन्तरिक स्रोततर्फ विनियोजित रकम ४ अर्ब २६ करोड रुपैयाँ विगत वर्षहरूको तुलनामा अत्यन्त न्यून रहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले वैदेशिक सहायतामा सञ्चालित आयोजनाको स्वदेशी तथा काउन्टरपार्ट फाइनान्सका लागि समेत चालु आर्थिक वर्षमा सरकारको विनियोजित रकम अपर्याप्त रहेको उनको दाबी छ । 

चालू आर्थिक वर्षको फागुनसम्ममा नेपाल सरकारबाट एक अर्ब ४६ करोड रुपैयाँ मात्र प्राप्त भएको छ । प्राधिकरणबाट १४ अर्ब ५३ करोड रुपैयाँ विभिन्न आयोजनामा खर्च भएको छ । प्राधिकरणले आर्थिक वर्षमा २०७३/७४ देखि हालसम्म आफ्नो स्रोतबाट मात्र करिब ५९ अर्ब रुपैयाँ सहायक तथा सम्बद्ध कम्पनीमा लगानी गरेको छ ।

वार्षिक नाफाको तुलनामा आयोजनाहरूमा आवश्यक लगानी रकम अत्यधिक रहेको र सरकारबाट वार्षिक विनियोजन पनि कम हुँदै गएकाले आगामी दिनमा प्राधिकरणको नगद प्रवाह व्यवस्थापन कठिन हुने देखिने उनको भनाइ छ ।

प्राधिकरणको विगत चार वर्षको परिस्थितिको विश्लेषण गर्दा औसतमा विद्युत विक्रीबाट हुने आम्दानीको करिब ५९ प्रतिशत विद्युत खरिदमा मात्र खर्च हुने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्