site stats
बाह्रखरी :: Baahrakhari
देश
बालेनका स्वकीय सचिवलाई भेटेपछि कार्कीले भने – पत्र स्वीकारेको छैन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले आफूले सुशासन समितिको संयोजक पद स्वीकार नगरेको स्पष्ट पारेका छन् । 

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहसँग भेटेपछि कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् । भुपदेवले जेठ ६ गते वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठ र कार्कीसँग भेटेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“काठमाडौं महानगरपालिका प्रमूखज्यूले मिति २०८२–०२–०१ गते कामपाको विषयगत समितिको जिम्मेवारी तोक्ने क्रममा मलाई सुशासन समितिको जिम्मेवारी तोकी पत्र पठाएकोमा मसहित अन्य साथीहरूले संयुक्त हस्ताक्षर गरेर मिति २०८२–०२–०४ गते नै उक्त पदमा बस्न नसक्ने पत्रमार्फत जानकारी  गराइसकेको परिप्रेक्ष्यमा पुन २०८२–२–५ गतेदेखि सो पदमा नरहेको जानकारी गराउन चाहन्छु,” उनले भने । 

बालेनले जेठ १ गते कार्यपालिकाअन्तर्गतका चार समितिका संयोजक हेरफेर गरेका थिए । जसमा सूचना प्रविधि समिति संयोजकबाट नवीन मानन्धरलाई हटाउँदै काठमाडौं–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई जिम्मेवारी तोकिएको थियो ।

त्यस्तै, सुशासन समिति संयोजकबाट काठमाडौं–२६ का वडाध्यक्ष ख्यामराज तिवारीलाई हटाउँदै वडा नम्बर–३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समिति संयोजकबाट काठमाडौं–८ का वडाध्यक्ष आशामान संगतलाई हटाएर वडा नम्बर–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी दिएका थिए ।

तर, कार्यपालिका बैठकबाट संयोजक तोकिनुपर्ने व्यवस्थाविपरीत बालेन शाहले स्वेच्छाचारी निर्णय लिएको जिकीरसहित तीन वडाध्यक्षले जिम्मेवारी अस्वीकार गरेका थिए ।  

मेयर बालेनले विधायन समिति संयोजकबाट काठमाडौं–२३ का वडाध्यक्ष मचाराजा महर्जनलाई हटाउँदै वडा नम्बर–१६ की अध्यक्ष रोजिना श्रेष्ठलाई जिम्मेवारी तोकेका थिए ।

उनले मात्र बालेनको निर्णयलाई स्वीकार गरेकी थिइन् । श्रेष्ठ स्वतन्त्र पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्