site stats
बाह्रखरी :: Baahrakhari
विदेश
संदिग्ध आतंकवादीको खोजी गर्न नेपाल–भारतबीच संयुक्त सीमा गस्ती

काठमाडौं । भारतले नेपालमा संदिग्ध पाकिस्तानी आतंकवादीको उपस्थिति रहेको जानकारी पाएको दाबी गरेको छ । भारतको उक्त दाबीपछि गत शुक्रबार दुवै देशले संयुक्त सीमा गस्ती अभियान सम्पन्न गरेको इन्डिया टुडेले जनाएको छ ।

भारतको सशस्त्र सीमा बल (एसएसबी) र नेपालको सशस्त्र प्रहरी बल (एपीएफ)ले दुवै देशबीचको ‘नो मेन्स ल्यान्ड’को घना जंगलमा आतंककारीहरूको हतियार हुन सक्ने आशंकामा संयुक्त खोजी अभियान चलाइएको समाचारमा बताइएको छ । भारत र नेपालबीच एक हजार ७०० किलोमिटरभन्दा बढी लामो खुला सीमा छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इन्डिया टुडेसँग कुरा गर्दै एसएसबी कमान्डेन्ट गंगा सिंहले भने, “संयुक्त गस्तीमा नेपाली सशस्त्र प्रहरीहरू हामीसँगै आतंकवादविरुद्ध लडिरहेका छन् । नेपाली सुरक्षा बलसँग हाम्रो धेरै राम्रो सम्बन्ध छ । हरेक महिना दुवै देशका सीमा बलहरूको समन्वय बैठक हुन्छ । संदिग्धहरूको पहिचान गर्न सकियोस् भनेर उनीहरूले हामीलाई गुप्त जानकारी दिन्छन् र हामी पनि आफ्नो जानकारी साट्छौँ ।”

नेपालगन्ज क्षेत्रमा एक इस्लामिक संगठन भएको र त्यहाँ पाकिस्तानीहरू विशेष कार्यक्रमका लागि आउने गरेको उनले दाबी गरे । “केही गलत क्रियाकलाप भए भने यी व्यक्तिहरूले हामीलाई जानकारी दिन्छन्,” सिंहले भने । 

अयोध्यामा हुन सक्ने सम्भावित आतंकवादी हमलाका विषयमा कुरा गर्दै सिंहले पाकिस्तानी आतंकवादीले कुनै पनि स्थानलाई निशाना बनाउन सक्ने बताए । यसमा नेपाली सुरक्षा बलले एसएसबीलाई निरन्तर सहयोग गरिरहेको उनले बताए ।

एसएसबी बलले नेपाल सीमामा विभिन्न टावरबाट निगरानी राख्दै आएको र उनीहरू हतियारलगायत कुनै पनि संकट सामना गर्न तयार रहेको समाचारमा बताइएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्