site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले भने – हार्वर्डका विद्यार्थीको देश र नाम पहिचान गर्न खोजेको हुँ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनले हार्वर्ड विश्वविद्यालयमा भर्ना भएका सबै अन्तर्राष्ट्रिय विद्यार्थीको नाम र देशको पहिचान प्राप्त गर्न खोजेको बताएका छन् । 

हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक लगाउने कदममा अदालतले रोक लगाएपछि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले यस्तो बताएको यूएसए टुडेले जनाएको छ ।

सञ्जालमा उनले लेखेका छन्, “म ती विद्यार्थीहरू कोको हुन् भन्ने जान्न चाहन्छु । किनभने हार्वर्डलाई अर्बौं डलर दिइरहेका छौँ । तर हार्वर्डले पारदर्शिता देखाएन,” ट्रम्पले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रम्पले यो जानकारी संघीय सरकारले कसरी तुरुन्तै प्रयोग गर्ने भनेर स्पष्ट गरेनन् । 

यसअघि होमल्यान्ड सुरक्षामन्त्री क्रिस्टी नोएमले हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी स्वीकार गर्ने अनुमति बन्द गर्ने घोषणा गरेकी थिइन् । उक्त घोषणामार्फत विद्यार्थी भर्ना र एक्सचेन्ज भिजिटर कार्यक्रम तत्काल लागु हुने गरी बन्द गरिएको थियो । अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अमेरिकामा अध्ययन गर्न यो कार्यक्रम अनिवार्य छ ।

नोएमले सबै अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकामा रहन अर्को विश्वविद्यालयमा स्थानान्तरण गर्नुपर्ने पनि बताएकी थिइन् । यसपछि हार्वर्डले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गर्दै यो कदमलाई संविधानको पहिलो संशोधन (अभिव्यक्ति स्वतन्त्रता) र १४औँ संशोधन (कानुनी प्रक्रिया र अधिकार)को स्पष्ट उल्लंघन गरेको भनेको थियो । 

एक अमेरिकी न्यायाधीश एलिसन बरोजले मे २३ मा ट्रम्पको यो कदममा अस्थायी रोकको अन्तरिम आदेश दिँदै हार्वर्डको पक्षमा फैसला दिएकी थिइन् ।

उनले आफ्नो आदेशमा यो नीतिले हार्वर्डमा तत्काल र अपूरणीय क्षति पुर्‍याउने बताएकी थिइन् । ट्रम्पको दोस्रो प्रशासनकालमा हार्वर्डजस्ता प्रतिष्ठित विश्वविद्यालयहरू उनको कोपभाजनमा परेका छन् । 

अमेरिकी तल्लो संसद् कंग्रेसमा दर्ता भएको नयाँ खर्च विधेयकले धनी निजी विश्वविद्यालयहरूले आफ्नो सम्पत्तिबाट कमाएको लाभमा कर तिर्नुपर्ने प्रावधानसहितको विधेयक दर्ता भएको बताइएको छ ।
 
यसैबीच हार्वर्डसँग लगभग ५३ अर्ब डलरको सम्पत्ति रहेको भन्दै ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने, “हार्वर्डसँग  ५३ अर्ब डलर छ, यसलाई प्रयोग गर र संघीय सरकारबाट अनुदानका निम्ति अनुरोध गर्न बन्द गर !”
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्