site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेखर कोइरालासहित तीन नेतालाई कांग्रेसले स्पष्टीकरण सोध्ने

काठमाडौं । सामाजिक सञ्जाल र मिडियाले आरोप लगाएकै भरमा गृहमन्त्रीको राजीनामा मागेको भन्दै डा. शेखर कोइरालामाथि सत्तारुढ नेपाली कांग्रेसभित्र प्रश्न उठेको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा डा. शेखरलाई स्पष्टीकरण सोध्ने समझदारी बनेको संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डा. शेखर भने उपत्यका बाहिर भएका कारण बैठकमा उपस्थित भएका थिएनन् । 

“आरोप लागेको कर्मचारीमाथि समेत छानबिन सुरु नहुँदै डा. शेखरले  गृहमन्त्रीको राजीनामा मागेको विषयमा बैठकमा छलफल भएको छ,” प्रमुख सचेतक घिमिरेले बाह्रखरीसँग भने, “यस विषयमा सभापतिजीले बोलाएर सोध्ने भन्ने भएको छ ।” 

उनले कर्मचारीमाथि लागेको आरोपमा कर्मचारी नै जवाफदेही हुने भन्दै छानबिनले पुष्टि नगरी गृहमन्त्रीको राजीनामा माग्नु गलत हुने बताए । 

बैठकका निर्णयबारे जानकारी गराउने क्रममा प्रवक्ता डाक्टर प्रकाशरण महतले भने स्पष्टीकरणको विषय खुलाएका थिएनन् । उनले विषयको गहिराइमा नपुगी नेताहरूबाट टिप्पणी भएको बताएका थिए । “सायद उहाँहरू विषयको गहिराइमा नपुगी बोल्नुभयो,” महतले यति मात्र भने ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताए । पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले भने, “गृहमन्त्रीले आज जुन कुरा राख्नुभयो म छर्लंग भएँ । एक इन्च पनि उहाँले गल्ती गर्नुभएको छैन ।”

उनले गृहमन्त्रीको राजीनामा माग गर्नेहरूलाई बोलाएर सोध्न सभापति देउवालाई आग्रह गरेको उनले बताए । “गृहमन्त्रीको राजीनामा माग्ने पार्टीका नेताहरूलाई बोलाएर सोध्न पार्टी सभापतिलाई भनेका हौँ,’ उनले भने, “एकआपसमा मुठभेड गरेर कांग्रेसलाई फाइदा हुँदैन । शेखर, सुनील र राजेन्द्र बजगाईंसँग स्पष्टीकरण सोध्न भनेका छौँ ।”

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्