
काठमाडौं । लिभरपुल फुटबल क्लबको प्रिमियर लिग ट्रफी परेडका क्रममा सोमबार साँझ एक कारले मानिसहरूको एक समूहमा घुसेर दर्जनौँ व्यक्तिलाई किचेर घाइते बनाएको छ । भीडमा कार चलाउने व्यक्तिलाई ब्रिटेनको प्रहरीले गिरफ्तार गरेको छ ।
मर्सिसाइड प्रहरीका अनुसार गिरफ्तार व्यक्ति लिभरपुल क्षेत्रका बासिन्दा ५३ वर्षिय श्वेत ब्रिटिश नागरिक हुन् । नर्थ वेस्ट एम्बुलेन्स सेवा एनएचएस ट्रस्टका प्रमुख डेभिड किचिनले घटनामा घाइते भएका २७ जनालाई अस्पताल पुर्याइएको सीएनएनले जनाएको छ । उनले अस्पताल भर्ना भएका एक बच्चासहित दुईजना गम्भीर घाइते भएको बताएका छन् ।
ब्रिटेनको मर्सिसाइड फायर एन्ड रेस्क्यू सेवाका प्रमुख निक सर्लेका अनुसार एक बच्चासहित चारजनालाई कारको मुनिबाट निकालिइएको थियो । उनले भने साना चोटहरू लागेका थप २० जनालाई घटनास्थलमै उपचार गरिएको थियो ।
ब्रिटेनको मर्सिसाइड प्रहरीका सहायक प्रमुख कन्स्टेबल जेनी सिम्सले यो घटनालाई आतंककारी घटनाको रूपमा नहेरिएको बताएकी छिन् । गिरफ्तार भएको व्यक्ति कारको चालक हुनसक्ने उनले बताइन् ।
यो घटना लिभरपुल फुटबल क्लबले २०औँ प्रिमियर लिग उपाधि जितेको उपलक्ष्यमा लिभरपुल सहरमा खुला स्थानमा अयोजना गरिएको बस परेडमा सहभागी हुन आएका प्रशंसकहरूले भरिएको अवस्थामा भएको हो ।
सामाजिक संजालमा राखिएका भिडियोहरूमा सडकमा मानिसले उत्सव मनाइरहेका पैदल यात्रुहरूको भीडमाथि कार घुसेको देखिन्छ । सीएनएन