site stats
बाह्रखरी :: Baahrakhari
देश
मधेस प्रदेशका सांसदका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका सांसद सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई नियन्त्रणमा लिएको छ ।

टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार धनुषाको जनकपुरधाम उपमहानगरपालिकाबाट पक्राउ गरी नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“निज मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहको साथमा रहेको निजले प्रयोग गरी आएको विद्युतीय उपकरण समेत कब्जामा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ,” अख्तियारले विज्ञप्तिमा भनेको छ ।

मधेस प्रदेशका सांसद सिंह समेतले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको, समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव कायस्थमार्फत झिक्न लगाई आफ्नो र श्रीमतीको खातामा राखेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

अनुसन्धान गर्ने क्रममा अख्तियारको टोलीले कायस्थलाई नियन्त्रणमा लिएको हो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्