site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्यमन्त्रीको अभिव्यक्तिप्रति चिकित्सक संघको आपत्ति

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । मन्त्री पौडेलले ‘डाक्टर लिने देशसँग रोयल्टी लिने’ अभिव्यक्ति दिएको भन्दै संघले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

“हाल देशका दुर्गम क्षेत्रमा दक्ष चिकित्सकहरूको अभावका कारण कैयौँ नेपाली नागरिकहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको अवस्थामा आवश्यक दरबन्दी सिर्जना गरी चिकित्सकहरूलाई स्वदेशमै रही गुणस्तरीय सेवा पुर्‍याउन मार्गप्रशस्त गर्नु नेपाल सरकारको दायित्व हो,” संघका महासचिव सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

योग्य चिकित्सकलाई स्वदेशमा रही सेवा पुर्‍याउन प्रोत्साहन गर्दै आवश्यक रोजगारीको सिर्जना गर्नुको सट्टा चिकित्सकहरूलाई निर्यातको वस्तुको रूपमा परिभाषित गरिएको संघको ठहर छ । 

“मन्त्रीज्यूको उक्त अभिव्यक्तिले स्वदेशमा रही राष्ट्रको सेवामा समर्पित रहेका समस्त चिकित्सकहरूको अपमान भएको यस संघको ठहर छ,” विज्ञप्तिमा उल्लेख छ । 

चिकित्सक संघले देशभित्र रहेका दक्ष चिकित्सकलाई स्वदेशमै रही गुणस्तरीय सेवा प्रवाह गर्न तथा सम्पूर्ण नेपाली नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने सुझाव दिएको छ ।  

यसका लागि आवश्यक दीर्घकालीन नीति निर्माण गर्न संघले सरकारसँग जोडदार माग गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्