site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बलात्कृत पुरुष

पृथ्वी दिवस चलिरहेको छ 
मान्छेहरू आफ्नै धुनमा मगन छन् 
कोही मधु चन्द्रिकामा मगन, कोही प्रकृतिमा मगन
मध्याह्न पार गरेको छ घामले 
हावा सुगन्धित छ 
अकस्मात् 
एक अपरिचित व्यक्ति उसको कठालो समाउन पुग्छ 
घुँडा टेकाउँदै नानाभाँती प्रश्न गर्छ 
को होस् तँ ? किन आइस् यहाँ ?
उसकी अर्धांगिनी पनि भयले घुँडा टेक्छे
उसले उत्तर दिन थाल्छ 
सविस्तार एकएक गरी हरेक सवालको 

म हिमालमा बादलको टुक्रा समात्न निस्केको 
पहिलोचोटि 
तोते बोली बोल्ने छोरोको आग्रहमा 
उसलाई बादलको टुक्रा अति नै मन पर्छ
ऊ बादलबाट लाख खेलौना बनाउन सक्छ 
हात्ती, घोडादेखि चराचुरुंगीसम्म 
हो, म यतै उडिरहेको बादलको सानो टुक्रा समात्न आएको 
पहिलोचोटि  
छोरी पनि त सानै छे 
नांगो पाउ दौडिरहन्छे 
तर धूप सहन सक्दिन 
उसलाई धूप आगो पिएझैँ लाग्छ 
निस्कने बेला मैले ऊसँग बाचा गरेको थिएँ 
हिमाली झरनाको हिउँको पानी ल्याइदिने 
हो, म त्यही चिसो पानी लिन आएको 
पहिलोचोटि, धरोधर्म पहिलोचोटि ! 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घर छाड्दा घरले हेरिरह्यो 
आमा–बासँगै एकसाथ एकटक 
थाहा छ आमा–बा केही माग्नु हुन्न 
तर, म वहाँहरूको मुहार पढ्न सक्छु 
आँखाको माग बुझ्न सक्छु 
आमा–बाको आँखामा केशरको फूल देखेर 
म केशर लिन आएको पहिलोचोटि 
जीवनसंगीसँग बाँधेको एउटा बाचा निभाउन 
वर्षौं लगाएर एकएक सिक्का गर्दै जोडेको 
खुत्रुक्के पनि फोरेकै हो पहिलोचोटि 
पृथ्वीको काखमा मधु चन्द्रिका मनाउन 
सौभाग्य पहिरनसहित उनलाई सजाएर 
घर छाडेको पनि पहिलोचोटि, धरोधर्म पहिलोचोटि !

समयले एकै पलमा कोल्टे फेर्छ 
अपरिचित अनायास रिसको विषवमन गर्दै 
उसको कमरपेटीको खिप चुडाल्दै
अर्धनग्न तुल्याउँछ 
निर्णय गर्छ जे गर्नु थियो 
गोली हानी सफाया 
आवाज आउँछ
परेवाहरू डरले गर्दा भुरुरु उड्छन् 
मानवता घुँडा टेक्छ  
आज इतिहासमा नौलो ज्यान करणी भएको छ 
पुरुष अस्मिताको नौलो करणी 
ऊ छटपटाइरहेको छ, बर्बराइरहेको छ 
बादलको टुक्राले आँखा ढाक्दै धमिलो बनाउँदै छ 
झरनाको चिसो पानी रगतमा उम्लँदै छ 
केशरका पत्ताहरू रगत बनेर बग्दै छन् 
पियारीको शृंगार फिक्का हुँदै छ 
सिन्दूर सेतो हुँदै छ 
ऊ मान्न बिल्कुल तयार छैन 
उसको अन्तिम श्वासले भन्दै छ 
सेतो रङको प्रकाशमै इन्द्रधनुष हुन्छ 
तीर अवश्य चल्छ 
असत्यका विरुद्ध 
सत्य र मानवताको पक्षमा ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०५:३७
प्रतिक्रिया दिनुहोस्