
काठमाडौं । रूस र युक्रेनबीच टर्कीको इस्तानबुलमा भएको दोस्रो वार्तामा युद्धविराम सम्बन्धी कुनै सहमति हुन सकेन । यसअघि मे १६ मा इस्तानबुलमै भएको वार्ताले युद्धविराम सम्झौता नगरी युद्धबन्दी आदानप्रदान गर्ने सहमति गरेर टुंगिएको थियो ।
दुई देशबीच सन् २०२२ देखि सुरु भएको युद्ध समाप्त गर्ने सम्बन्धी कुनै प्रगति नभए पनि युद्धबन्दीहरूको आदानप्रदान र युद्धमा मारिएका हजारौँ सैनिकहरूको शव आदानप्रदान गर्ने सम्बन्धी सहमति भएको अलजजिराले जनाएको छ ।
दुवै पक्षका प्रतिनिधिमण्डलबीच सोमबार इस्तानबुल सहरमा रहेको ओटोमनकालीन सिरागान दरबारमा वार्ता भएको थियो ।
वार्तामा दुवै पक्षले युद्धबन्दी तथा युद्धमा मारिएका ६ हजार सैनिकहरूको शव आदानप्रदान गर्ने र गम्भीर घाइते सैनिकहरू र २५ वर्ष मुनिका सम्पूर्ण युद्धबन्दीहरू आदानप्रदान गर्न सहमति भएको समाचारमा बताइएको छ ।
रूसी प्रमुख वार्ताकार भ्लादिमिर मेदिन्स्कीले यो सहमतिअनुसार प्रत्येक पक्षबाट कम्तिमा एक हजार युद्धबन्दी आदानप्रदान हुनेछ ।
यो संख्या गत महिनाको वार्तामा सहमत भएको युद्धबन्दी आदानप्रदानभन्दा बढी हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुवै पक्षले टर्कीमार्फत सहमतिको डकुमेन्ट आदानप्रदान गरेको र युक्रेनले युद्धबन्दीहरूको अर्को समूह मुक्त गर्ने तयारी गरिरहेको बताएका छन् । अलजजिरा