
काठमाडौं । प्रहरीको केन्द्र्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्णाली डेभलपमेन्ट बैंकको रकम अपचलनबारे अुसन्धान गरिरहेको छ । जेठ १७ गते सीआईबीले बैंकका तत्कालीन प्रमुख सल्यानका ६५ वर्षीय राजेन्द्रवीर रायलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार राय बैंकको संस्थापक अध्यक्ष तथा पटक–पटक सञ्चालक समितिको अध्यक्ष भएर बैंकमा बचत गर्ने बचतकर्ताको दुई अर्ब ५० करोड रकम अपचलन गरेको खुलेको छ ।
उनीविरुद्ध सीआईबीले बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको हो ।
रायविरुद्ध अनुसन्धान गर्न नेपाल राष्ट्र बैंंकले नै पत्राचार गरेपछि सीआईबीको टोलीले अनुसन्धान थालेको हो । उनी भारतको लखनउमा लुकेर बसेका थिए । सीआईबीको टोलीले उनलाई भारतबाट नै पक्राउ गरेर नेपाल ल्याएको हो ।
तर, सीआईबीले औपचारिक रुपमा भने रुपन्देहीको सिद्धार्थनगर–१ बेलहियाबाट पक्राउ गरेको भन्दै सार्वजनिक गरेको थियो । उनी माघदेखि नै फरार थिए । सीआईबीको अनुसन्धानका क्रममा बैंकमा कुल चार अर्ब ९० करोड रुपैयाँ बचतकर्ताको रहेको खुलेको छ ।
त्यसमध्ये दुई अर्ब ५० करोड रुपैयाँ रायसहितका तत्कालीन सञ्चालक सदस्यहरुले अपचलन गरेको खुलेको हो । राय अध्यक्ष हुँदाका अन्य सञ्चालक समितिका पदाधिकारीविरुद्ध समेत सीआईबीले पक्राउ अनुमति लिइसकेको छ ।
उनीहरु अधिकांश फरार छन् । पक्राउ पुर्जी जारी भएका आरोपीहरुको खोजीका लागि सीआईबीको टोली देशभर परिचालन भएको छ । केही आरोपी भने भारत भागेको आंशका प्रहरीको छ ।
प्रहरीका अनुसार राय भारतमा छद्म भेषमा लुकेका थिए । उनीसित अभय चन्द्र गुप्ताको नाममा जारी भएको भारतीय आधार कार्डसमेत बरामद भएको छ । सीआईबीको अनुसन्धानका क्रममा कर्णाली डेभलपमेन्ट बैंकमा एक लाख एक हजार ६३१ जनाले रकम जम्मा गरेको खुलेको छ ।
हाल कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै आफैँले हेर्दै आएको छ । सीआईबीको अनुसन्धानका क्रममा कर्णाली डेभलपमेन्टको रकम २०७० सालदेखि नै अपचलन हुँदै आएको देखिएको छ ।
सीआईबीका एसएसपी बोगटीले भने,‘‘बैंकको रकम एक दशक अघिदेखि नै अपचलन हुँदै आएको देखिन्छ । हामी थप अनुसन्धानमै छौं ।’’ बैंकको रमक अपचलनको अवधिको सञ्चालक समितिमा पशुपति दयाल मिश्र, डा. उशा शाह, ओपप्रताप राणा, युवराज अधिकारी, उशाकुमारी अधिकारी थिए ।
उनीहरुमाथि समेत सीआईबीको टोलीले अनुसन्धान थालेको छ । त्यतिबेलाका सञ्चालक समितिका अधिकांश सदस्यहरु फरार छन् ।
राष्ट्र बैंकका कर्मचारी पनि शंकाको घेरामा
कर्णाली डेभलपमेन्ट बैंकलाई सञ्चालनको अधिकार राष्ट्र बैंकले लिएपछि मात्रै सीआईबीले अनुसन्धान थालेको हो । राष्ट्र बैंकले नै कर्णाली डेभलपमेन्ट बैंकबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेपछि अनुसन्धान अघि बढाएको हो ।
तर, सीआईबीको अनुसन्धानको क्रममा राष्ट्र बैंककै कर्मचारीको भूमिकासमेत शंकास्पद देखिएको हो ।
अनुसन्धानमा खटिएका सीआईबीका एक अधिकारीले भने, ‘‘हामीले अनुसन्धान गर्दै जाँदा राष्ट्र बैंकको कर्मचारीको भूमिकासमेत शंकास्पद देखिन्छ । २०७० सालदेखि नै अपचलन हुँदै आएको बैंकको अडिटबारे बैंकले सामान्य कमजोरीसमेत औल्याएको देखिँदैन । अहिलेसम्म राष्ट्र बैंकले यति ठूलो कमजोरी हुँदा पनि कसरी छुट दिँदै आयो ? बैंकको अवस्थाबारे हरेक आर्थिक वर्षमा अडिट हुनेगर्छ । त्यसबारे कसरी अघि बढ्ने भन्नेबारे छलफल हुँदैछ ।’’
बैंकको आर्थिक अवस्थाबारे अडिट गर्ने राष्ट्र बैंकका कर्मचारीमाथि समेत बयान लिने तयारी गरेको छ ।
ती अधिकारी भन्छन्, ‘‘कर्णाली बैंकको अडिट गर्ने कर्मचारीहरुलाई हामी सीआईबीमै बोलाएर कागजी बयान गर्छाैं । उनीहरुले अडिटमा कमजोरी औल्याएको भए बचतकर्ताको यति ठुलो निक्षेप डुब्ने अवस्थामा पुग्ने थिएन ।’’
प्रहरीको अनुसन्धानका क्रममा २०७५ सालदेखि भने दिनभर बैंकमा जम्मा भएको रकम सञ्चालक समितिका पदाधिकारीहरुले राति नगद रुपैैयाँ नै घरमा लैजाने गरेको देखिएको छ ।
अनुसन्धानका क्रममा यसलाई गम्भीर रुपमा लिइएको छ ।
कर्णाली बैंकलाई गएको पुसमा मात्रै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै नियन्त्रणमा लिएको थियो । त्यसको एक महिनादेखि नै राजेन्द्रवीर राय फरार भएका थिए । नेपालगञ्जमा रहेको बैंकको कार्यालयमा पछिल्लो समय राष्ट्र बैंकबाट नै कर्मचारी खटाइएको छ ।
माघदेखिनै फरार रहेका राजेन्द्रवीर रायलाई पक्राउ गर्न सीआईबीले प्राविधि विश्लेषण गरेर भारत पुगेको हो ।