site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हुवावे वाच फिट ४, फिट ४ प्रो र ब्यान्ड १० नेपाली बजारमा सार्वजनिक

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावेले नेपाली बजारमा आफ्ना नयाँ डिजिटल वाच सार्वजनिक गरेको छ । कम्पनीले नेपाली उपभोक्तालाई लक्षित गर्दै वाच फिट ४, वाच फिट ४ प्रो, र हुवावे ब्यान्ड १० सार्वजनिक गरेको हो । यी सबै उपकरणहरू शुक्रबार (जुन ६) गतेदेखि दराज नेपालमार्फत खरिद गर्न सकिनेछ ।

हुवावे वाच फिट ४ मा १.८२ इन्चको एक्टिभ म्याट्रिक्स अर्गानिक लाइट–इमिटिङ डायोड (एएमओएलइडी) डिस्प्ले रहेको छ । यस वाचको उज्यालो तीन हजार निट्ससम्म पुग्ने क्षमता राख्दछ । केवल २७ ग्राम तौल भएको यो डिजिटल वाच अत्यन्तै पातलो एलुमिनियम मिश्रित धातुले बनाइएको छ । ४०० मिलिअ्याम्पेयर घण्टाको ब्याट्रीले एकपटक चार्ज गर्दा १० दिनसम्म टिक्ने कम्पनीको दाबी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसमा निरन्तर मुटुको चाल मापन, रगतमा अक्सिजनको मात्रा थाहा पाउने सुविधा, निद्रा जाँच, मानसिक तनाव मापन तथा महिनावारी चक्र जाँचजस्ता स्वास्थ्यसम्बन्धी विशेषताहरू छन् । दौड, पौडी, साइकल चलाउनेलगायत एकसयभन्दा बढी व्यायाम शैलीहरूका लागि प्रयोग गर्न मिल्नेछ । पाँच वायुमण्डलीय दबाब बराबरको पानी प्रतिरोध क्षमता भएकाले पौडी खेल तथा पानीसँग सम्बन्धित क्रियाकलापमा प्रयोग गर्न उपयुक्त छ । यसको नेपाली बजार मूल्य १९ हजार ९९० निर्धारण गरिएको छ ।

यसको उन्नत संस्करण हुवावे वाच फिट ४ प्रोमा पनि उही आकारको डिस्प्ले राखिएको छ, तर यसको संरचना टाइटानियम र एलुमिनियम मिश्रित धातुले बनाइएको छ । यस स्मार्ट वाचमा मुटुको विद्युतीय तरंग (ईसीजी) मापन, रक्तचाप जाँच तथा थप विस्तृत निद्रा निगरानीजस्ता स्वास्थ्यसम्बन्धी उन्नत सुविधाहरू छन् ।

यसमा दुई–तरंग संकेतमार्फत भू–स्थिति पत्ता लगाउने प्रणाली, उचाइ मापनका लागि वायुमापक यन्त्र, नजिक राखेर तिर्न मिल्ने सुविधा, मोबाइलमा आउने सन्देश तथा सूचनाहरू हेर्न सकिने, टाढाबाट क्यामेरा नियन्त्रण गर्न सकिने सुविधा पनि छन् । पानी प्रतिरोध क्षमता यसमा पनि पाँच वायुमण्डलीय दबाब बराबर रहेको छ । यसको मूल्य  ३८ हजार ९९० निर्धारण गरिएको छ । प्रारम्भिक किन्ने उपभोक्ताहरूलाई हुवावे फ्रीबड्स एसई २ निःशुल्क दिइने जानकारी छ ।
 
हुवावे ब्यान्ड १० भने सस्तो, हल्का र भरपर्दो स्वास्थ्य निगरानी उपकरण हो । करिब १५ ग्राम तौल भएको यो उपकरणमा १.४७ इन्चको सक्रिय म्याट्रिक्स अर्गानिक लाइट–इमिटिङ डायोड छुँदा चल्ने डिस्प्ले राखिएको छ । एकपटक चार्ज गरेपछि यसको ब्याट्री १४ दिनसम्म टिक्न सक्छ, र ४५ मिनेटमै पूर्ण रूपमा चार्ज हुन्छ ।

स्वास्थ्यका लागि यसमा मुटुको चाल मापन, रगतको अक्सिजन मापन, निद्रा ट्रयाकिङ, मानसिक तनाव निगरानी र महिनावारी चक्र ट्रयाकिङ सुविधा छन् । यो उपकरण पनि पाँच वायुमण्डलीय दबाब बराबरको पानी प्रतिरोध क्षमतासहित आएको छ ।

यसलाई एन्ड्रोइड ९.० वा सोभन्दा नयाँ संस्करण र आइओएस १३.० वा सोभन्दा नयाँ संस्करण भएको मोबाइल फोनमा जडान गरी प्रयोग गर्न सकिन्छ । यसको मूल्य ६ हजार ९९० निर्धारण गरिएको छ ।

हुवावेले यी सबै उपकरण नेपाली उपभोक्ताको स्वास्थ्य, व्यायाम, र प्रविधिसँग जोडिएको जीवनशैलीलाई सहज बनाउन ल्याएको बताएको छ । कम्पनीका अनुसार, आधुनिक सुविधा, बलियो निर्माण र उचित मूल्यले यी उपकरणहरूले नेपाली बजारमा नयाँ विकल्प थप्नेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्