
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका नेताहरूसँग व्यापार सम्झौताका निम्ति ब्रिटेनको राजधानी लन्डनमा बैठक हुने बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत यो जानकारी गराएको रोयटर्सले जनाएको छ ।
शनिबार आफ्नो ट्रुथ सोसलमा उनले लेखेका छन्, “अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सोमबार, ९ जुन २०२५ मा लन्डनमा चीनका प्रतिनिधिसँग भेटघाट गर्न लागेको घोषणा गर्दा मलाई खुसी लागिरहेको छ । र, यो भेट व्यापार सम्झौताका निम्ति हुनेछ ।”
यो घोषणा गर्नुअघि शुक्रबार ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच व्यापारका विषयमा फोनमा कुराकानी भएको थियो । फोन संवादपछि ट्रम्पले आफूले चीन भ्रमणको योजना बनाइरहेको बताएका थिए । उनले सीलाई अमेरिका आउन निमन्त्रणा दिएको पनि बताएका थिए ।
यी दुवै देशले एकार्कामाथि व्यापार सम्झौता उल्लंघनको आरोप लगाइरहेका छन् । यो सम्झौताको उद्देश्य दुवै देशबीच लाग्ने ‘ट्यारिफ’ घटाउनु हो ।
गएको फेब्रुअरीमा ट्रम्पले धेरै देशमाथि ट्यारिफ लगाएका थिए । सबैभन्दा बढी ट्यारिफ चीनबाट आयातित सामानमा लगाइएको थियो । त्यसको प्रतिक्रियामा चीनले पनि अमेरिकी सामानमाथि अत्यधिक ट्यारिफ लगाएको थियो । त्यसपछि दुई देशबीच व्यापार युद्ध अझ गहिरियो ।
मेमा दुवै देशले जेनेभामा व्यापार सम्झौताका निम्ति बैठक गरेका थिए । उक्त वार्तामा अमेरिकाले चीनबाट आयातित वस्तुमा लाग्ने शुल्क १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झारेको थियो । चीनले अमेरिकी वस्तुमा लाग्ने शुल्क १२५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो ।