
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा ठूला तीन दलका प्रमुख सचेतकसित छलफल गरेका छन् । आइतबार (जेठ २५) बिहान सिंहदरबारमा उनले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।
सभामुख घिमिरेले राजनीतिक दलबीच सहमतिका निम्ति पटक–पटक संसद् बैठक स्थगन गरिए पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाए । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उनले उल्लेख गरे ।
छलफलमा सभामुखले संवैधानिक सीमा र व्यावहारिक पक्षको ख्याल गर्न आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।
माओवादीका प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने छलफलमा जानकारी गराए ।
बर्तौला र घिमिरेले विपक्षी दलको मागानुसार गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्ने विषयमा सहमत हुन नसकिने अडान दोहोर्याएका सभामुखको सचिवालयले जनाएको छ ।