site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसीको प्रावधानबाट किन पछि हट्यो सरकार ?
फाइल तस्बिर ।

काठमाडौं । घरजग्गा कारोबारमा ल्याएको निर्देशनबाट सरकार आफैँ पछि हटेको छ । यसअघि, सरकारले घरजग्गा किनबेचमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने 'नो योर कन्टुमर' (केवाईसी) भर्नुपर्नेलगायत प्रावधान ल्याएको थियो । तर, व्यवसायीको चर्को दबाबपछि सरकारले ल्याएको कार्यविधि एक साता पनि टिक्न सकेन ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले यही जेठ १४ गते नयाँ निर्देशन जारी गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ निर्देशन, २०८२ जारी गरी घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी आवश्यक पर्ने व्यवस्था गरेको थियो । नयाँ निर्देशनको विरोध भएपछि सरकारले आइतबार निर्देशनलाई संशोधन गरेको छ ।

बैंक स्टेटमेन्ट र केवाईसी भर्नुपर्ने प्रावधानलाई हटाएर निर्देशिका संशोधन गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवत्ता तथा सहसचिव गणेशप्रसाद भट्टले बताए । घरजग्गा कारोबार गर्दा बैंक स्टेटमेन्ट देखाउने र केवाईसी भर्ने प्रक्रिया झन्झटिलो हुने देखिएपछि विज्ञहरूको सुझावमा हटाइएको उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बाह्रखरीसँगको कुराकानीका क्रममा प्रवत्ता भट्टले भने, “घरजग्गा व्यवसायीको दबाबले नभई कारोबार गर्दा झन्झट हुने देखेर हटाइएको हो ।”

कार्यविधि परिवर्तन भएर आइसकेको उनले जानकारी दिए । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी भएको निर्देशन, २०८२ संशोधन गरेर घरजग्गा कारोबारमा कडाइ गरेको थियो । मुलुकको अर्थतन्त्र शिथिल भएका बेला चाँडो गति दिने घरजग्गा व्यवसायलाई कडाइ गर्दा झनै समस्या आउने व्यवसायीको भनाइपछि सरकार निर्देशनबाट पछि हटेको हो ।

नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नकारात्मक सूची (ग्रे लिस्ट)मा राखेको छ । एफएटीएफले ग्रे लिस्टबाट हट्न नेपाललाई दुई वर्षको समय पनि दिएको छ । यता सरकारले दुई वर्षभित्र ग्रे लिस्टबाट बाहिर आउने योजना सार्वजनिक गरेको छ । सोही योजनाअनुसार सरकारले घरजग्गा कारोबारमा काडाइ गर्ने नीति लिएको हो ।

बैनाबट्टाको कारोबारको बैंक स्टेटमेन्ट पनि अनिवार्यरूपमा पेस गर्नुपर्ने व्यवस्था पनि हटाइएको छ । दश लाखभन्दा माथि ५० लाख रुपैयाँसम्मको कारोबार अनिवार्यरूपमा बैंकिङ प्रणाली वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरिएको थियो । यसैगरी, ५० लाख रुपैयाँभन्दा बढीको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै वा चेकमार्फत र गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्ने व्यवस्था थियो ।

घरजग्गामा अधिक मौद्रीकरण
नेपालमा खर्बौं रुपैयाँ घरजग्गामा लगानी भएको छ । तर, यसले रोजगारी र उत्पादन सिर्जना गर्न सकेन । एउटा हदसम्म अर्थतन्त्र चलायमान भयो । किनभने घरजग्गा बिक्री भइराखे, मान्छेहरूले नाफा लिइरहे । जमिनको मूल्य बढ्दै जाँदा मान्छेलाई धनी बनेको अनुभव गरायो ।

कोभिडपछि सबै व्यवसाय, घर परिवार नै पनि समस्यामा परेपछि विभिन्न किसिमबाट सहजीकरण गरियो । चार खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण विभिन्न शीर्षकमा लगानी गरियो । अर्थतन्त्रलाई चलायमान गराउन त्यो गरेकोसम्म ठिक थियो । तर, दृष्टि कहाँ पुगेन भने आफूले जुन आर्थिक गतिविधिका लागि त्यो गरेको त्यहाँ गयो कि गएन भनेर समयमै हेरिएन ।

गत वर्षसम्म नै पनि केन्द्रीय बैंकका उच्च पदाधिकारीहरूले नै 'घरजग्गामा त पैसा गएकै छैन, यति मात्र हो' भनेर तथ्यांक देखाएका थिए । उद्योग, सेवा, कृषि र होटलका लागि भनेर गएको पैसा पनि घुमाइफिराइ घरजग्गामै गएको अहिले पत्ता लागेको छ । सहकारीले पनि आफ्नो भएको रकम सबै घरजग्गामा लगानी जाँदा सहकारी नै संकटमा परेका छन् ।

तर, तथ्यांकमा हेर्दा घरजग्गामा पैसा गएको छैन । यतिमात्रै हो, केन्द्रीय बैंकका अधिकारीहरूले भ्रम सिर्जना गरेका थिए ।

विज्ञहरूका भनाइमा, जबसम्म घरजग्गा व्यवसाय चलायमान भयो, त्यतिबेलासम्म समस्या थिएन । किनभने मान्छेले ऋण लिएको तिरिराखेका थिए । जब त्यो ठप्प भयो, अब उद्योगी व्यवसायी सबैले एउटा सिमेन्ट उद्योग चलाएको छ भने पनि अन्य रकम घरजग्गामा लगेको छ । ऊसँग सम्पत्ति छ, तर बिक्री हुँदैन । अहिलेको अर्थतन्त्र नाजुक अवस्थासम्म ल्याउनमा सहकारी बढी जिम्मेवार देखिन्छ ।

झन्डै दुईतिहाई ऋण घरजग्गाकै धितोमा गएकाले अधिक मौद्रिकीकरण भएको अर्थशास्त्रीहरूको तर्क छ । उनीहरूका भनाइमा, विकसित देशका सहरबजारको मूल्य बराबर नै नेपालजस्तो अल्पविकसित देशमा घरजग्गाको मूल्य हुनु प्रतिव्यक्ति आय र आम्दानीसँग नमिलेको देखिन्छ ।

घरजग्गाको कारोबारले कसैलाई छोटो समयमा धनी बनाएकाले यसले अर्थतन्त्रमा विकृति ल्याएको छ । मान्छेहरू घरजग्गा बेचेरै धनी हुँदा उत्पादनशील काममा संलग्न कम हुने गर्छन् ।

सिर्जनात्मक उद्यमभन्दा पनि सबैजना कुनै न कुनै रूपमा घरजग्गासँग जोडिने, घरजग्गाकै खरिद बिक्री गर्दा फाइदा हुन्छ भन्ने मनसाय राख्ने र त्यो किसिमको अपेक्षा राख्ने प्रवृत्ति बढेको पाइएको छ । जसले गर्दा उत्पादनतर्फ अलि ध्यान कम गएको, त्यहाँबाट केही हुँदैन भन्ने मान्यता रहेको र नहुने गरेको पनि देखिएको छ ।

अहिले घरजग्गा कारोबार शिथिल रहेको, कारोबार कम भएको, जुन ढंगले हिजो घरजग्गाको मूल्य बढिरहेको भन्ने थियो, त्यो अहिले हुन नसकिरहेको र गैरबैंकिङ सम्पत्ति बढिरहेको र उनीहरूको पनि घरजग्गा बिक्री हुन नसकिरहेको भन्ने देखिन्छ । जसले गर्दा घरजग्गा बजार शिथिल छ रहेको अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्