site stats
बाह्रखरी :: Baahrakhari
देश
आयल निगमको प्रादेशिक कार्यालयमा भ्रष्टाचार, ट्यांकर चालकदेखि कार्यालय प्रमुखविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय गगनगौँडाका प्रादेशिक प्रमुख चितरंजन दाससहित पाँचजना र एक संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले चार लाख ४८ हजार ५२५ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अन्यमा कास्कीको तालचोकस्थित पश्चिमाञ्चल ट्रेडर्स तथा उक्त कम्पनीका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरी पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाट र ग२ख ८३६ नम्बरका ट्यांकर चालक निर्मल थापा छन् । 

आइतबार दायर गरिएको मुद्दामा प्रत्येकसँग चार लाख ४८ हजार ५२५ रुपैयाँ बिगो मागदाबी गरिएको छ । 

नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौँडाका डिपो प्रमुख समेतको मिलेमतोमा बिलमा उल्लेख भएको भन्दा बढी परिमाणमा पेट्रोलियम पदार्थ सप्लाइ गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरूले चार लाख ४८ हजार ५२५ रुपैयाँ भ्रष्टाचार गरेको खुलेको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्