
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अकला देवी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस लिएको भन्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा नारायणप्रसाद बराल, दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी र लक्की खान भन्ने खुस नसिब अन्सारी छन् ।
अख्तियारले दायर गरेको मुद्दामा प्रतिवादीहरूसँग जनही ५० लाख रुपैयाँ बिगो दाबी गरेको छ ।
नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले तनहुँ आबुँखेरेनी–१ मा रहेको अकला देवी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनी ५० लाख रुपैयाँ घुस लिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा ५० लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।