
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिका–१०, रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले सरकारी कागजात सच्याई तथा गलत लिखत तयार गरी ६ लाख ३६ हजार ४७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
दायर गरिएको मुद्दामा उनीसँग अख्तियारले ६ लाख ३६ हजार ४७ रुपैयाँ बिगो दाबी गरेको छ । भेरी नगरपालिका–१० स्थित रानीचौर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षले वनको राजस्व रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीले वन उपभोक्ता समूहको नेपाल बैंक लिमिटेड जाजरकोट शाखामा रहेको खाताबाट २०७८ चैत २० गते चेकमार्फत सात लाख रुपैयाँ झिकेको पाइएको अख्तियारले जनाएको छ ।
सो रकममध्ये ६३ हजार ९५३ रुपैयाँ राजस्व दाखिला र लेखापरीक्षणबापत कानुनसम्मत खर्च गरेको र अन्य रकम हिनामिना गरेको पाइएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।