
काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ठेक्कामा अनियमितता भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरूविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
मुद्दामा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल तथा इन्जिनियर जनार्दन गिरी र खरिद एकाइका सहायक निर्देशक उत्तम दाहाललाई प्रतिवादी बनाइएको छ ।
परियार अहिले सूचना तथा प्रसारण विभागको महानिर्देशक छन् ।
उनीहरूविरुद्ध पेन्डिङ लिटिगेसन (विचाराधीन मुद्दाको असर) हुने भन्दै गलत व्याख्या गरेर १८ करोड नौ लाख २२ हजारमा काम गर्न तयार भएको समानान्तर सेवा प्रालिलाई रोकेर कल्पवृक्ष–कोहिनुरलाई २२ करोड ४० लाख ९४ हजार रुपैयाँमा ठेक्का लगाउँदा ४ करोड ३१ लाख ७२ हजार राज्यको सम्पत्ति क्षति भएको अख्तियारको दाबी छ ।