
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल–भारतबीचमा विभिन्न क्षेत्रमा हुन सक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकी छन् । नेपाल–भारत रणनीतिक संवादसम्बन्धी बिहीबार (जेठ २९) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले दुई देशबीच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीव्रता दिई कनेक्टिभीटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्ममार्फत समृद्धिमा रूपान्तरण गर्ने समय आएको उनले उल्लेख गरिन् । “म एउटा यस्तो भविष्यको प्रतीक्षामा छु कि जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बईको बजारमा पुग्छ र एक भारतीय पर्यटक दिल्लीमा बिहानको बैठक सकेर साँझको उडानमा पोखरा पुग्छ,” उनले भनिन्, “यो त्यस्तो निकटता होस् कि दुई देशका नागरिकको आर्थिक समृद्धिको आधार बनोस् ।”
नेपाल–भारत सम्बन्ध सभ्यताको सुरुआतमा राखिएका जगमा निर्मित रहेको उनले बताइन् । दुवै देशका नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति र भावनामा आधारित रहेकाले जनसम्पर्क, सहकार्य र कनेक्टिभीटीले नै समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
नेपाल र भारतले सडक, रेलवे, जलमार्ग, हवाईमार्ग, डिजिटल पूर्वाधारलगायत क्षेत्रमा लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाल बढाउनुपर्नेमा उनले जोड दिइन् । “हाम्रा दुई देशबीचको निर्बाध सम्पर्क सञ्जालले क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृंखलाहरूमा मात्र सहयोग गर्दैनन्, पारवहन व्यापार र सीमा अर्थतन्त्रलाई पनि स्तरोन्नति गर्न सक्नेछन् । यसबाट दुवै देशका नागरिक लाभान्वित हुन सक्नेछन्,” उनले भनिन् ।
मन्त्री डा. राणाले अबका दिनमा दुई देशले डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासलाई साझा रूपमा केन्द्रित गर्नुपर्नेमा जोड दिइन् ।
पछिल्लो समयमा ऊर्जा क्षेत्र दुई देशबीचको सहयोगको प्रमुख उदाहरणका रूपमा रहेको उनले बताइन् । नेपालको विशाल जलविद्युत् सम्भावनाले स्वच्छ, नवीकरणीय ऊर्जा स्रोत प्रदान गर्ने र यो आउने पुस्ताका निम्ति उपयोगी हुने उनले विश्वास व्यक्त गरिन् ।
उनले अगाडि भनिन्, “हामीले पारस्परिक सहकार्यमा टेक हबहरू, स्टार्टअपहरू र डिजिटल नवप्रवर्तन प्लेटफर्महरूलाई प्रवर्धन गर्नुपर्छ र हाम्रा युवाहरूलाई सँगै काम गर्न, प्रविधिको प्रयोग गर्दै समृद्धिको बाटोमा अघि बढ्न दिनुपर्छ ।”