
सहकारीमा पैसा राखेर ठगिएका बचतकर्ताको कथा हो, चलचित्र ‘महाभोज’ । जिन्दगीभरको कमाइको पैसा राखेका तथा गाउँमा दुःखजिलो गरेर बचत गरेकाहरूको पक्षपोषण गर्दै बनाइएको सिनेमा हो, ‘महाभोज’ ।
विदेश गएर फर्किएका सूर्यप्रसाद (आर्यन सिक्देल)ले गाउँमा सहकारी खोलेका छन् । सूर्यप्रसाद सहकारीको संस्थापक अध्यक्ष हुन् । सोही सहकारीमा चन्द्रकाजी (दयाहाङ राई) पनि छन् ।
सूर्यप्रसादको महत्त्वाकांक्षा बढ्दै जान्छ । उनी गाउँपालिकाको अध्यक्ष बन्न कसिन्छन् । गाउँलेको पूर्ण भरोसा छ । पार्टीलाई रिजाउँछन् । टिकट किन्छन् । गाउँपालिकाको अध्यक्षमा उठ्छन् । जित्छन् पनि ।
उनी निर्वाचनमा उठ्ने भएपछि अध्यक्ष पद चन्द्रकाजीलाई दिन्छन् । चन्द्रकाजी सूर्यप्रसादकै छत्रछायामा सहकारीको अध्यक्ष भएका हुन्छन् । आफ्नी श्रीमती (गौमाया गुरुङ)लाई पालिकामा जागिर लगाइदिएका कारण चन्द्रकाजीले सूर्यप्रसादलाई पूर्ण भरोसा गर्छन् ।
सूर्यप्रसादलाई टिकट किन्नदेखि चुनाव लड्नसम्म पैसा आवश्यक पर्छ । त्यसपछि उनले चन्द्रकाजीदेखि कलेक्टर ममता (मलिका महत) र सहकारीका अरू सदस्यसम्मका नामबाट लोन निकालेर पैसा चलाउँछन् । चन्द्रकाजीलाई सूर्यप्रसादले पालिकाको बजेट आएपछि मिलाउँछु भनेका हुन्छन् ।
तर, त्यतिखेर सूर्यप्रसादको असली चरित्र उदांगो हुन्छ, जब विश्व (खगेन्द्र लामिछाने) काठमाडौंबाट बुवाले सहकारीमा जम्मा गरेको पैसा लिन गाउँ पुग्छन् । विश्वको बुवा सहकारीको सबैभन्दा ठूलो बचतकर्ता हुन्छन् । सानातिना बचतकर्तालाई जसोतसो चन्द्रकाजीले मिलाइरहेका हुन्छन् । जब विश्वका बुवाले नै बचत फिर्ता माग्छन्, अनि कथाले गति लिन्छ ।
सहरमा बसेर वित्तीय संस्थाबारे पूर्ण जानकार रहेका विश्व र सहकारीका अध्यक्ष चन्द्रकाजीबीच जसै नोकझोक सुरु हुन्छ, रहस्यहरूको पर्दाफास हुँदै जान्छ । यही नै सिनेमाको मुख्य कथा हो ।
सिनेमा समाजको ऐना हो । समाजको प्रतिविम्ब हो । सिनेमामा समाज छर्लंग देखिन्छ/देखिनुपर्छ । ‘महाभोज’मा देखिएको छ । सोसल ड्रामाको विशेषता भनेकै यही हो ।
पछिल्लो समय दिनेश राउतको विशेषता पनि यही नै हो । उनी समाजका विषय आफ्ना सिनेमामा उठाउँछन् । समाजमा जे छ, त्यो देखाउँछन् । उनको यही शृंखलाको अर्को एकथान सिनेमा हो, ‘महाभोज’ ।
हाल कतिपय सहकारीले बचतकर्ताको रकम ठगी गरेको विषय सार्वजनिक भइरहेको छ । बहालवाला मन्त्रीहरू नै त्यसमा तानिएका घटना सेलाएको छैन । यही कथामा दिनेशले सिनेमा बनाएका छन् ।
सिनेमा सधैँ रुमानी कल्पनामा मात्र होइन, समाजका जल्दाबल्दा विषयमा पनि बनाउनुपर्छ, प्रश्न उठाउनुपर्छ भन्ने चेत दिनेशमा देखिन्छ । यो ‘महाभोज’मा पनि छ । यो सिनेमाको सकारात्मक पाटो हो ।
सिनेमाको कथामा केही कमजोरी पनि छ । विश्व जो आफैँ बैंकमा काम गर्छन्, आफैँ लोन शाखामा छन्, लोन पास गराउन अनेकथरी ग्राहक उसको क्याबिनमा ठोक्किन आइपुग्छन् ।
तर, उनले चन्द्रकाजीको इमान र नैतिकता तथा सूर्यप्रसादको नियतमा अन्तिमसम्म किन शंका गर्दैनन् ? जबकि, शंका गर्ने पर्याप्त ठाउँ छन् । चन्द्रकाजीको लाइफस्टाइल नै काफी छ यसका लागि । विश्वले सामान्य शंका समेत गर्दैनन् ।
क्लाइमेक्समा चन्द्रकाजीलाई जसरी प्रस्तुत गरिएको छ, त्यो सम्भव छ ? नेपालको कानुनले के भन्छ ? कानुनले के भन्छ भनेर यहाँ कानुनका दफा र उपदफा केलाउनै पर्दैन ।
सूर्यप्रसादकै मुखबाट निर्देशक पटक–पटक भन्न लगाउँछन्– अदालतले प्रमाण खोज्छ, अदालतले प्रमाण खोज्छ, यो सूर्यप्रसादलाई थाहा छ भने उनी किन त्यति निरीह हुन्छन् ?
भीडका अगाडि लत्रिए पनि कानुनी रूपमा आफू माथि पर्ने अवस्थामा साम, दाम, दण्ड, भेद अपनाउने राजनीतिज्ञ त्यतिकै चुप बस्छन् ? प्रश्न गर्न सकिन्छ ।
गाउँलेको पैसा अरूका नाममा लोन निकालेर खर्च गरेर चुनाव जित्ने सूर्यप्रसाद (नवसामन्त) त्यति कमजोर हुन्छन् ? प्रश्न गर्न सकिन्छ ।
यसमा निर्देशकलाई दयाहाङ राईलाई हिरो बनाउनु थियो, त्यसैले उनले तथ्यभन्दा बाहिर गएर हिरो बनाए । उनको बजारी इमेज जस्तो छ, त्यस्तै कायम राख्न एन्टागोनिस्ट बनाउन उनले चाहेको देखिँदैन । दयाहाङलाई ग्रे जोनमा राख्न पनि उनी सहमत नभएको देखिन्छ ।
कानुनले चन्द्रकाजीलाई दोषी मान्छ, चाहे उनले एक पैसा पनि किन नचलाएका हुन् । सूर्यप्रसादले नैतिकता प्रदर्शन गरेर आफूलाई दोषी करार गरे पनि चन्द्रकाजी बच्दैनन् । तर, निर्देशक जबरजस्त दयाहाङलाई हिरो बनाउँछन् ।
सिनेमा हो, सिनेम्याटिक लिबर्टी लिन पाइन्छ । तर, यसका लागि सुरुदेखि नै फेन्टासी बनाउँदै लैजानुपर्छ । सिनेमाको डिजाइन नै त्यही खालको हुनुपर्छ ।
चलचित्रमा खगेन्द्र र दयाहाङको अभिनय उम्दा छ । उनीहरूको अभिनयले मन जित्छ । अरू कलाकारले पनि आफूलाई दिएको पात्रलाई कुशलतापूर्वक निभाएका छन् । खगेन्द्र र अञ्जनाको नोकझोकमा रहेको सिचुएसनल कमेडीले दर्शकलाई ठाउँठाउँमा हँसाउँछ । बिझाउने संवाद छैन । यो सिनेमाको सकारात्मक पक्ष हो ।
चलचित्रले संस्कार, संस्कृति र भाषा बोल्नुपर्छ । सोसल ड्रामाका लागि त यो अनिवार्य सर्त पनि हो । जुन ठाउँको कथा हो, त्यहाँको लबज उसको पहिरनमा, बोलीमा आउनुपर्छ । कास्कीमा खिचिएको चलचित्रमा गण्डक क्षेत्रको लबज आउनुपर्ने हो, छैन । यो ‘महाभोज’को कमजोरी हो । जबकि, दिनेश यसअघिका सिनेमा ‘पुजार सार्की’ र ‘प्रकाश’मा सजग देखिएका थिए । लबजमा काम गरेका थिए । भाषामा ध्यान दिएका थिए ।
सिनेमेटोग्राफीमा पनि त्यति धेरै काम भएको छैन । औसत क्यामेरावर्क छ । विषयका हिसाबले सिनेमेटोग्राफीमा धेरै काम गर्न सकिने ठाउँ छ । तर, यसमा समय र मिहिनेत खर्चिएको छैन । दिनेशको ‘प्रकाश’मा केही सिन थिए, जसमा गजबको विम्ब प्रयोग गरिएको थियो ।
कलर ग्रेडिङमा राम्रो काम नभएको प्रस्ट देखिन्छ । कलरमा औसतभन्दा तल छ सिनेमा ।
चलचित्रको ब्याकग्राउन्ड स्कोरमा खासै धेरै मिहिनेत गरेको देखिँदैन । औसतभन्दा ब्याकग्राउन्ड स्कोर माथि उठ्न सकेको छैन ।
० ० ०
निर्देशक : दिनेश राउत
लेखक : विकास सुवेदी
कलाकार : दयाहाङ राई, आर्यन सिक्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, मोहन निरौला, गौमाया गुरुङ आदि
निर्माता : हिमाल कडरिया
ब्यानर : क्लर्क वर्क क्रिएसन र अ पिक्चर्स फ्रेम प्रोडक्सन
जनरा : सोसल ड्रामा
लेन्थ : १३३ मिनेट ।