site stats
बाह्रखरी :: Baahrakhari
देश
राजावादी हिंसात्मक आन्दोलनले छियाछिया पारेको रेबिकाको बैंकर्स बन्ने सपना

काठमाडौं । “म जसरी भए पनि एक्जाम दिन्छु, ब्याच्लर्स सकिनेबित्तिकै बैंकमा जबको प्रोेसेस गर्नुपर्छ,” नौपटक शल्यक्रिया गरेका खुट्टा चलमलाउँदै रेबिका खत्री बुबासँग घरीघरी आग्रह गरिरहन्छिन् । 

बुबा तुलसीरामको मोबाइलमा उताबाट एक अधिकारीले संवाद गर्छन् “बिरामीको अवस्था हेरेपछि मात्रै एक्जाम दिन मिल्ने नमिल्ने भन्न सकिन्छ ।” 

त्रिवि शिक्षण अस्पतालको प्लाष्टिक सर्जरी विभाग, क्याबिन नम्बर ४०१ मा सुस्ताउँदै तुलसीराम खत्री सुनाउँछन् “छोरीलाई त यस्तै अवस्थामा पनि पढाइ र बैँकमा जागिर चिन्ता मात्रै छ ...।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्मरभन्दा तलको असह्य पीडा बोकेर २२ वर्षीया रेबिका खत्री अस्पतालको शैय्यामा त्यसैगरी पल्टिइरहेकी छन् ८० दिनदेखि । 

२०८१ चैत १५ को राजावादी प्रदर्शनमा उनको दायाँ खुट्टामा गोली लागेकी उनको दुवै खुट्टामा हेर्नै नसकिने घाउहरु छन् ।  नशा छुटाइएका, नशा जोडिएका, छाला झिकिएका, छाला भरिएका, टाँका, लगाइएका, टाँका निकालिएका यस्तै यस्तै...।

पढ्ने र करिअर बनाउने उमेरकी छोरीको अकल्पनीय अवस्था, चलिरहेको व्यवसाय बन्द गरेर अस्पतालको बास, काँधमा ऋणको भारी । कति बलियो हिम्मत जुटाएर भोगिरहेका होलान् यी सबै विपत्तिहरु ?

उनको भनाइबाटै प्रष्ट हुन्छ “मलाई कुनै एउटा पक्षलाई दोष दिनु छैन, मेरी छोरी ठिक भएर गरीखान सक्ने बनुन् राज्यले उनको भविष्यको जिम्मा लेओस् बाँकी जिन्दगी त म आफ्नै तरिकाले गुजार्न सक्छु ।”

दायाँ खुट्टाको ‘थाइ’मा लागेको गोलीले रेबिकाको झन्डै घुँडासम्मको भाग छियाछिया पारेको छ । घटना भएकै दिन सिभिल सर्भिस अस्पतालमा उनको पहिलो शल्यक्रिया भयो, जसमा घाउको पहिलो चरणको उपचार गरियो । 
गोली लागेका खुट्टाका नसाहरु क्षतविक्षत भएका थिए, सिभिलका चिकित्सकले बायाँ खुट्टाको नशा जोडेर रक्तसञ्चार गराउन पटक–पटक प्रयास गरे । 

कृत्रिम नशा राख्ने प्रक्रिया पनि गरियो तर ति सबै प्रयासहरु विफल भए । यो क्रममा रेबिकाको दायाँ र बायाँ खुट्टाको गरी सातपटक शल्यक्रिया गरियो तर दुई खुट्टाका नसाहरुको कनेक्सन सफल भएन । यसरी पटक–पटक नशाको शल्यक्रिया गरेको घाउले रेबिकाको बायाँ खुट्टा पनि थिलथिलो बनेको छ । 

सिभिलमा राम्रै उपचार भइरहेको थियो तर मुख्य सर्जन देशबाहिर जानुपर्ने भएपछि २०८२ जेठ २ गते रेबिकालाई त्रिवि शिक्षण अस्पताल सारियो ।  उही नशा जोड्ने प्रक्रिया त्यहाँका चिकित्सकले पनि अपनाए तर सफल नहुने देखेपछि खुट्टा नै काट्नुपर्ने अवस्था आएको तुलसीरामलाई सुनाइयो । 

“मैले खुट्टा काटेर हटाउने कुरामा सहमति दिइनँ बरु विदेश लगेर उपचार गर्छु भनेँ, त्यसपछि यहाँको टिमले पुनर्विचार गर्‍यो, अहिले उनको दायाँ खुट्टाको नशा तल र माथि दुवैतिरबाट ब्लक गरिएको छ । तर खुट्टा ड्यामेज हुन दिइएको छैन । डाक्टरहरुले अरु हाँगा नशाहरुले थेगिरहेको छ भन्नुभएको छ”, तुलसीले बताए । 

रेबिकालाई राखिएको क्याबिनका र्‍याकहरु उनकै औषधिले भरिएका छन्, औषधिको असर कम गर्न र छिटै निको हुन पनि खाना राम्रैसँग खानुपर्ने डाक्टरको सल्लाह  छ । रेबिकालाई कुनै खानेकुरा बारिएको छैन । तर पेन किलरको असरले घरीघरी बेस्सरी टाउको दुख्छ उनको । 

अधिकांश समय आँखा बन्द गरेरै पल्टिरहन्छिन्,थोरै बोल्छिन् दिसा पिसाबका लागि ‘डाइपर’को सहायता । घटनाको भोलिपल्टै उदयपुर चौदण्डिगढीस्थित घरबाट काठमाडौं आइपुगेका तुलसीले छोरीको साथ एकैछिन् छोडेका छैनन् । 

“छोरीलाई गोली लागेको थाहा पाएपछि थपक्कै घरमा ताला लगाएर आएँ त्यसपछि फर्किएको छैन, उनकी आमालाई अस्ति भर्खरै मात्र पठाएँ,” घटनाको फेहरिस्त खोल्दै उनले भने । 

rebika-and-dinesh-1750128609.jpg
 

तुलसीले चलाउने गरेको डेरी पनि भोलिपल्टैबाट बन्द भयो, सिभिलमा उपचार गराउँदाको खर्चको भरपाई कहिले पाउने हो ठेगान छैन । 

अस्पतालमा उपलब्ध सेवा त निःशुल्क भयो । तर अस्पतालमा नभएका औषधि, शल्यक्रियाका सामान, बिरामी कुरुवा र परिवार अस्पताल बस्दाको अन्य खर्च झन्डै छ लाख रुपैयाँ पुगेको थियो सिभिलमा । त्यसको बिल अस्पतालले स्वास्थ्य मन्त्रालयमा पेश गरिसकेको छ तर कहिले फिर्ता पाउने निधो छैन । 

रेबिकालाई त्रिवि शिक्षण अस्पताल सारेपछि खत्री परिवारको खर्च झनै बढेको छ ।  कतिपय औषधि र बिरामीलाई चाहिने सामान अस्पतालको फार्मेसीमा पाइँदैन, बाहिरबाट ल्याउनुपर्ने हुन्छ । 

“कुरूवाको खानेबस्ने खर्च पनि महंगो रहेछ, यता टिचिङमा सारेपछि झन्डै चार लाख खर्च भइसक्यो, अस्पतालमा भएका उपचारको त शुल्क लिएको छैन, तर अरु खर्चबारे भने अस्पतालसँग अहिलेसम्म छलफल भएको छैन,” तुलसीले भने ।

अस्पतालले भने सरकारको निर्णय बमोजिम बिल पेश गरिएको सबै रकम भुक्तानी गर्ने जनाएको छ । 

“अस्पतालबाहिर किनिएका औषधि र सामानको बिल पेश गरेपछि सबै भुक्तानी गर्ने हो, उहाँहरुको अन्य खर्चको पनि गृह मन्त्रालयको निर्णयअनुसार नै भरपाइ हुन्छ,” अस्पताल प्रवक्ता डा. गोपाल सेढाइँले बताए ।  

सामान्य आर्थिक अवस्था भएका खत्री परिवारका निम्ति कान्छी छोरीको दूर्घटना ठुलो बज्रपात बन्यो । जेठी छोरीलाई जापान पठाउने तयारी गरेका तुलसीले केही रकम जोहो गरेका थिए, रेबिकाको उपचारमा सुरुमा त्यही पैसा खर्च गरे । 

ठूली छोरी वैशाख तेस्रो साता जापान उडिन्, छोराछोरी दुवै जापान पुगेपछि भने तुलसीले केही राहतको श्वास फेरेका छन् । 

बहिनी र मलाई एउटै गोली लागेको भनियो 

चैत १५ गते राजा समर्थकहरुको प्रदर्शनका लागि प्रशासनले काठमाडौंको  तीनकुने क्षेत्र छुट्याइदिएको थियो । तर प्रदर्शनकारी र प्रहरीबीचको भीडन्त अनियन्त्रित हुँदै कोटेश्वर बालकुमारीसम्म पुग्यो । ग्वार्को डेरा भएकी रेबिका नरेफाँटस्थित एक खाद्यान्न गोदामको काउन्टरमा काम गर्थिन् । 

त्यसदिन कामबाट फर्किँदा बटोमा अवस्था असामान्य देखेपछि उनले ठुलोबुवाका छोरा दिनेशलाई लिन आउन भनिन् । 

त्यसपछिको घटना यसरी सम्झिन्छन् दिनेश–
बहिनी र म कोटेश्वरको आकासे पुलमा भेट भएर एसओएस मार्ग हुँदै हाम्रो कोठातिर जाँदै थियौँ । वरिपरी मानिसहरुको सामान्य आवतजावत थियो । मेरो मामाकी छोरी पनि हामीभन्दा एक दुई स्टेप अगाडि थिइन् हामी कोठा नजिकै आइपुगेका थियौँ । 
एक्कासी ट्यांग आवाज आयो, हात समाइरहेकी बहिनी भुइँमा ढलिन्, माथिबाट कसैले कपडा फालिदिए त्यसैमा उनलाई राखेँ  र नजिकैको क्लिनिकमा लगेँ । 
मलाई दुखाइ कम हुने औषधि दिनु नभए बेहोस् पार्दिनु भन्दै बहिनी छट्पटिँदै थिइन् । 
तर क्लिनिकमा बेहोस् हुन नदिनु भन्नुभएको थियो निधारमा पानी छम्किँदै बसेँ । त्यही बीचमा म बसेको ठाउँबाट पनि रगत बगेको देखेपछि बल्ल थाहा भयो मेरो देब्रे थाइमा छेडेर गोली पास भएको रहेछ । 
यसबीचमा एम्बुलेन्स आउन झन्डै डेढ घण्टा लाग्यो, बहिनीको घाउबाट धेरै रगत बग्यो । हामी दुवैजनालाई सिभिल हस्पिटल लगियो, म त सात दिनमै अस्पतालबाट डिस्चार्ज भएँ तर बहिनीलाई अलि चाँडै ल्याउन पाएको भए यति सिरियस हुँदैनथ्यो कि ...! 
गोली कसले हानेको मलाई थाहा छैन देखिँन पनि । तीनकुने प्रहरीले एउटा गोलीले तिमीलाई लागेर सटरमा ठोक्किएर फर्किँदा बहिनीलाई लागेको भनेको छ । 

कोटेश्वर बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत रेबिका पढाइमा अत्यन्तै मेहनति थिइन् । 

“कुनैदिन पनि एब्सेन्ट नहुने, कलेज सकेर काममा जान्थिन् अहिले काम सिकेर ब्याच्लर्स क्लियर गर्ने बित्तिकै बैँकमा प्रोसेस गर्ने उनको प्लान थियो”, तुलसीले भने । 

कलेजले अब अगाडिको पढाई पूर्ण रुपमा निःशुल्क गरिदिने र जागिरका लागि पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको उनी सुनाउँछन् । 

“गोली हान्ने प्रहरी र प्रदर्शनकारी दुवैले घटनाको जिम्मेवारी लिनुपर्छ तर उसको सम्पूर्ण उपचार र रोजगारीको सुनिश्चितता गर्नुपर्छ,” तुलसी भन्छन् । 

रेबिकाको स्वास्थ्य अवस्थाबारे के भन्छ अस्पताल ? 

गम्भीर प्रकृतिको घाइते भए पनि रेबिकाको स्वास्थ्य यस्तै अन्य बिरामीभन्दा छिटो सुधार भइरहेको अस्पतालको ठहर छ । 

“उनी त धेरै लक्की यति धेरै शल्यक्रिया पछि पनि खुट्टामा रक्तसञ्चार रोकिएन, अबको आठ–दस दिनमा डिस्चार्ज गर्ने प्लान छ,” प्रवक्ता डा. सेढाइँले भने । बिना कुनै अपागंता रेबिकालाई निको पार्ने अस्पतालको प्रयास छ,” उनले थपे । 

त्यसो त आगामी असार ६ गतेदेखि हुने तेस्रो वर्षको परीक्षा सहयोगी राखेर भए पनि दिने हिम्मतमा छिन् रेबिका ।  कम्मरभन्दा तलको भाग मुस्किलले चलमलाउने अवस्थामा पनि रेबिकाको आत्मविश्वास कति पनि ढलेको छैन । 
बैंकमा जागिर खाने आत्मनिर्भर बन्ने सपना टुटेको छैन उनको । बरु राज्यले नै एउटा ऊर्जाशील युवाको सपनामाथि प्रहार गरेर छियाछिया बनाइदिएको छ ...।   

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्