site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले ३० जेट विमान ओसारपसार गर्दा इरानमा अमेरिकी आक्रमणको आशंका बढ्दै

काठमाडौं ।  एक उडान ट्रयाकिंग डाटा अनुसार पछिल्लो तीन दिनमा अमेरिकाले युरोपबाट आफ्ना कम्तिमा ३० सैन्य विमानहरू ओसापसार गरेको छ । यी विमानहरू अमेरिकी सैन्य ट्यांकर विमान हुन् । ती विमान लडाकू जेट र बमवर्षक विमानहरूलाई इन्धन आपूर्ति गर्न प्रयोग गरिन्छ ।

फ्लाइटरेडार २४ का अनुसार यी मध्ये कम्तिमा सातवटा केसी–१३५ प्रकारका जेट बिमान छन् । स्पेन, स्कटल्यान्ड र इङ्ल्यान्डमा रहेका अमेरिकी वायुसेना अड्डाहरूमा रोकिएका छन् ।

यी सैन्य विमानहरू सार्ने कार्य इजरायल र इरानबीच हालै भएको आक्रमण–प्रत्याक्रमणको बीचमा भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इजरायले शुक्रबारमा तेहरानको परमाणु कार्यक्रम ध्वस्त पार्ने उद्देश्यले आक्रमण गरेको दाबी गरेको थियो । अमेरिकाको यो सैन्य विमानहरू सार्ने कार्य सीधै इरान इजरायलसँग जोडिएको छ अथवा छैन भन्ने स्पष्ट छैन । तर, एक विज्ञले बीबीसीलाई बताएअनुसार यी ट्यांकर विमानहरूको उडान अत्यन्त असामान्य थियो ।

रुसी थिंक ट्यांक रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका वरिष्ठ विश्लेषक जस्टिन ब्रोन्कले यी तैनाथीहरूले अमेरिकाले आगामी हप्ताहरूमा यस क्षेत्रमा गहिरो युद्ध अभियानहरूलाई समर्थन गर्न आकस्मिक योजनाहरू बनाइरहेको संकेत दिने बताएका छन् ।

बीबीसीले ट्रयाक गरेका सातवटा जेट विमानहरू अगाडि बढेका छन् । उडान ट्रयाककिंग डाटा अनुसार मंगलवार दिउँसो सम्ममा यी सिसिलीको पूर्वमा उडान भर्दै देखिएका थिए । ६ वटाको उडान गन्तव्य खुलाइएको थिएन भने एउटा ग्रीसको क्रेट टापुमा रोकिएको थियो । 

तर, आइरिस रक्षा बलका पूर्व प्रमुख भाइस एडमिरल मार्क मेलेटले यी गतिविधिहरू रणनीतिक अस्पष्टताको व्यापक नीतिको हिस्सा हुनसक्ने बताएका छन् । जसले इरानलाई आफ्नो परमाणु कार्यक्रम सम्बन्धी वार्तामा बाध्य बनाउन दबाब दिनसक्ने उनले बताएका छन् ।

इजरायलले शुक्रबार इरानी परमाणु केन्द्रमा आक्रमण गरेको थियो, जुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रम रोक्ने सम्झौता गर्न दिएको अन्तिम म्यादको एक दिनपछि थियो ।

 यी जेट विमानहरूको सार्ने कार्य अमेरिकाले एउटा विमानवाहक जहाज यूएसएस निमित्ज्, दक्षिण चीन सागरबाट मध्यपूर्वतर्फ सारेको भन्ने समाचार आएलगत्तै भएको हो । 

समाचार संस्था रोयटर्सले भियतनामको हनोइस्थित अमेरिकी दूतावासले आकस्मिक आवश्यकता भन्दै भियतनाममा सो जहाज प्रयोग गरिने पूर्वनिर्धारित कार्यक्रम रद्द भएको भनेको थियो ।

जहाज ट्रयाकिंग वेबसाइट म्यारिन ट्राफिकका अनुसार यूएसएस निमित्ज्को अन्तिम स्थान मंगलबार बिहान मलाक्का स्ट्रेटमा सिंगापुरतर्फ जाँदै देखिएको थियो । निमित्ज्सँग लडाकू जेटहरूको एक दल र धेरै गाइडेड मिसाइल विध्वंसक जहाजहरू छन् ।

रोयटर्सलाई मंगलबार तीन रक्षा अधिकारीहरूले बताए अनुसार अमेरिकाले एफ– १६, एफ– २२ र एफ– ३५ लडाकू जेटहरू मध्यपूर्वमा रहेका आफ्ना अड्डाहरूमा सारेको छ । केही दिनदेखि युरोपमा सारिएका यी ट्यांकर विमानहरूले यी जेटहरूलाई इन्धन आपूर्ति गर्न मद्दत गर्न सक्छन् । 

मंगलबार, उपराष्ट्रपति जेडी भेन्सले अमेरिकाले इजरायलको अभियानलाई समर्थन गर्न हस्तक्षेप गर्नसक्ने संकेत गरेका थिए । उनले सोसल मिडियामा ट्रम्पले इरानको परमाणु कार्यक्रम समाप्त गर्न थप कारबाही गर्न आवश्यक देख्नसक्ने लेखेका थिए । बीबीसी
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०७:४५
प्रतिक्रिया दिनुहोस्