site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले हस्तक्षेप गरे खाडीका अमेरिकी सैन्य अड्डामा आक्रमण गर्ने इरानको तयारी

काठमाडौं । अमेरिकाले इजरायलको युद्धमा सहभागिता जनाए इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अड्डाहरूमा आक्रमण गर्ने तयारी गरेको छ । 

अमेरिकाले हस्तक्षेप गरे उसका सैन्य अड्डाहरूमा इरानले आक्रमण गर्न मिसाइल र अन्य सैन्य उपकरणहरू तयार गरेको अमेरिकी अधिकारीहरूले हालैको गुप्तचर प्रतिवेदनहरूको विश्लेषण पछि बताएका छन् । 

अमेरिकाले युरोपमा तीन दर्जनभन्दा बढी इन्धन आपूर्ति विमानहरू पठाएको छ । अमेरिकी अड्डाहरूको सुरक्षामा तैनाथ लडाकू जेटहरूलाई सहयोग र इरानी परमाणु सुविधाहरूमा सम्भावित बमवर्षक विमानहरूको उडान सीमा बढाउन प्रयोग हुनसक्ने न्यूयोर्क टाइम्सले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इजरायलले ह्वाइट हाउसलाई इरानसँगको द्वन्द्वमा हस्तक्षेप गर्न दबाब दिँदै गरेको अवस्थामा अमेरिकी अधिकारीहरूमा विस्तृत युद्धको आशंका बढ्दै गएको छ । 

अमेरिकाले इजरायली अभियानमा सहभागी भएर इरानको प्रमुख परमाणु सुविधा फोर्डोमा आक्रमण गरे हुथी मिलिसियाले रेड शी (सागर)मा जहाजहरूमा आक्रमण पुनः सुरु गर्ने सम्भावना बढ्ने अधिकारीहरूले बताएका छन् । उनीहरूले इराक र सिरियामा रहेका इरानसमर्थित मिलिसियाहरूले त्यहाँका अमेरिकी अड्डाहरूमा आक्रमण गर्ने प्रयास गर्नसक्ने पनि बताएका छन् ।

अन्य अधिकारीहरूले आक्रमण भएमा इरानले होर्मुज स्ट्रेटमा खनिज राख्ने (माइनिङ) कार्य सुरु गर्न सक्छ, जसले अमेरिकी युद्धपोतहरू फारसी खाडीमै विलाउने रणनीतिक उद्देश्य रहेको हुनसक्ने बताएका छन् ।

हाल अमेरिका साउदी अरेबिया, कतार, बहराइन, इराकलगायत देशमा हजारौँ सैनिक तैनाथ गरिरहेको छ । तीमध्ये थुप्रै अड्डाहरू इरानको क्षेप्यास्त्र दायराभित्र पर्छन् । इरानसँग बलियो क्षेप्यास्त्र प्रणाली छ । उसले विगतमा पनि अमेरिकी सैन्य अड्डाहरूमा प्रहार गर्ने चेतावनी दिँदै आएको छ ।

युद्धको अवस्था झन् जटिल बन्दै गएको छ भने इजरायलले इरानी आणविक केन्द्रहरूमा आक्रमण गरिरहेका बेला संयुक्त राज्य अमेरिका संलग्न हुने सम्भावना बढ्दै गएको छ । 

यस्तो अवस्थामा इरानले अमेरिकालाई पनि प्रतिक्रिया दिने रणनीति बनाउन थालेको छ । 

यसैबीच, मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाका लागि सुरक्षा जोखिम नाटकीय रूपमा वृद्धि भएको छ । अमेरिकी रक्षा विभागले उच्च सतर्कता अपनाएको जनाइएको छ । न्यूयोर्क टाइम्स

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्