site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विजय माल्या : व्यावसायिक आरोहण, पतन र विवादको गाथा

काठमाडौं । सन् २००५ को सुरुवातमा, भारतको आकाशमा एउटा यस्तो सपना उडिरहेको थियो, जसले केवल यात्रुहरूलाई गन्तव्यमा मात्र होइन, विलासिताको कल्पनाभित्र उडाउँथ्यो । 

त्यो थियो ‘किङ्गफिसर एयरलाइन्स’ । क्रू सदस्यहरूको मुस्कान, रेड र ग्रीनको ब्रान्ड रंग, र फ्लाइटमा दिइने वाइन र फाइभ–स्टार सेवाले एक जनाको दृष्टिकोण देखाइरहेको थियो । त्यसको पछाडि थिए विजय माल्या, जो आफैँलाई ‘ब्रान्ड’ ठान्थे । 

भारतीय उद्योगका राजा, ‘किङ अफ गुड टाइम्स’ को उपनामले परिचित विजय माल्याको जीवन कथा सफलता, वैभव र अन्ततः असफलतासहित गहिरो विवादले भरिएको छ ।  सेलिब्रेटी व्यापारी हुँदै सांसदसमेत बनेका किङफिशर एयरलाइन्सबाट नराम्रोसँग पछारिए यी व्यक्ति नौ वर्षपछि सार्वजनिक रुपमा आफ्नो भनाइ राख्न आइपुगे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् २००० को दशकका भारतीय धनाढ्य विजय माल्या अहिले विश्वभर छाइरहेका छन् ।  सन् २०१६ पछि कुनै पनि मिडियामा नदेखिएका उनी भारतीय युट्युबर ‘राज शमानी’ को पडकास्टमा देखिए ।  आफ्नो जिन्दगीको उतारचढावका विषय बोलेका माल्याले आफू चोर नभएको भन्ने ‘स्टेन्टमेन्ट’ दिने हरप्रसाय कोसिस गरे ।

पडकास्ट ‘फिगिरिङ आउट’ मा नौ वर्षको मिडिया मौनतापछि माल्याले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो कथा सुनाएका छन्, जसले मिडियामा चित्रित उनको छविभन्दा फरक पक्षलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । 

भारतीय मिडियामा ‘चोर’, भगौडा भनिएका माल्याले पडकास्टमा मिडिया ट्रायल भएको भन्दै आफ्नो बचाउमा समय निकै खर्चिए ।  भारतीय टेलिभिजन र अखबारका हेडलाइन बन्ने गरेका माल्या आफ्ना समयमा जति चर्चित थिए त्यो भन्दाबढी चर्चित भारत छाडेपछि बने ।

उनै माल्याले चार घण्टा १८ मिनेट लामो पडकास्टमा भनेका कुराहरु समेटेर यहाँ प्रस्तुत गरिएको छ ।  माल्याले पडकास्टमा बोलेका मुख्य–मुख्य कुराहरु समेटेर यहाँ प्रस्तुत गरिएको छ । 

बाल्यकाल र युवाअवस्था : कडा अनुशासन

विजय माल्याको प्रारम्भिक जीवन कोलकातामा सुरु भएको थियो । उनको जन्म कोलकातामा भयो, त्यसपछि उनी आफ्नो गृहनगर बेंगलुरु सरे ।  त्यसको केही  समयपछि फेरि कोलकाता फर्किएर त्यहीँबाट आफ्नो विद्यालय र कलेजको शिक्षा पूरा गरे । 

माल्याका अनुसार, उनका बुबाको कडा नियन्त्रणमा उनको पालनपोषण भएको थियो । अत्यन्तै अनुशासित र सामान्य थियो उनको बाल्यकाल । माल्याका बुबा पनि पढाइमा अत्यन्तै राम्रो भएको र छोरोबाट पनि उनले सोही कुराको अपेक्षा गरे । 

माल्याले आफ्नो बाल्यकालका दुईवटा महत्वपूर्ण घटनाहरू स्मरण गर्छन्, जसले उनको जीवनमा गहिरो प्रभाव पारेको थियो । कक्षा नौ मा हुँदा ला मार्टिनियर विद्यालय, कोलकातामा पढ्दा उनको पढाइमा खासै रुचि थिएन र अंक राम्रो आउँदैनथ्यो । 

उनी खेलकुद र अतिरिक्त क्रियाकलापमा बढी ध्यान दिन्थे ।  उनका बुबाले उनलाई भनेका थिए, “यदि तिमी पर्याप्त राम्रो भएनौ भने, तिमी मेरो पाइला पच्छाउन सक्ने छैनौँ ।” साथै, ‘सरकारको समाजवादी नीतिले हामीबाट सबै सम्पत्ति खोसेर लैजान सक्नेछन् र मैले तिमीलाई छोड्न सक्ने एकमात्र कुरा तिम्रो शिक्षा हो, त्यसैले यसलाई गम्भीरतापूर्वक लेऊ ।’ 

यी शब्दहरूले उनलाई प्रेरित गर्‍यो र उनले विद्यालयको अन्तिम तीन वर्षमा (कक्षा ९, १०, ११) कक्षामा शीर्ष तीन भित्र आएर आफ्नो बुबाको विश्वास जिते । कलेज जाँदा पनि, उनी बिहान ६ बजे कलेज जान्थे र साढे १० बजे कलेज सकेपछि दिनभरि कार्यालयमा ‘म्यानेजमेन्ट ट्रेनी’को रूपमा काम गर्थे । 

उनलाई मासिक चारसय रुपैयाँको (स्टाइपेन्ड) मात्र दिइन्थ्यो । त्यो रकम कलेज जीवनभर कहिल्यै बढेको थिएन ।  माल्याका बुबाले उनलाई कार्यस्थलमा कडा सुपरभाइजरहरूको निगरानीमा राखेका थिए ।  उनले बजारमा पसल र वितरकहरूको भ्रमण गर्ने, लेखा र मार्केटिङ विभागहरूसँग काम गर्ने जस्ता विभिन्न कार्यहरू गर्नुपर्थ्यो । यो प्रशिक्षण कार्यक्रम जसरी पनि पूरा गर्नुपर्ने र त्यसमा कुनै छुट थिएन । 

उनले अमेरिकाको अमेरिकन हेर्क्स र इङ्गल्यान्डको जेन्सन एन्ड निकोल्सनमा पेन्ट कारखानाको फोरम्यानको रूपमा समेत काम गरे । त्यहाँ उनलाई व्यवसाय चलाउने तरिका बुझ्न मद्दत गर्‍यो ।  माल्यालाई महँगा गाडी वा खेलौनाको शौखिन थिए भन्ने मिडियाका कथाहरूलाई उनले ‘पूर्णतया झूटो’ भनेका छन् ।

सन् १९८३ मा उनका बुबाको अप्रत्याशित निधनपछि, २७ वर्षको उमेरमै विजय माल्याले युनाइटेड ब्रुअरीज (युबी) समूहको नेतृत्व सम्हाले ।  बुबाको मृत्युपश्चात्, समूहभित्र नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भयो, तर सेयरधारकहरूको समर्थनबाट माल्या युबी समूहको अध्यक्ष बने । 

उनको नेतृत्व शैली उनका बुबाको भन्दा फरक थियो ।  बुबाले माइक्रो–म्यानेजमेन्ट र व्यक्तिगत संलग्नतामा आधारित व्यवस्थापन शैली अपनाएका थिए ।  जबकि माल्याले विकेन्द्रीकृत जवाफदेहितामा विश्वास गर्थे । उनले सोहीअनुसार कम्पनीको पुनर्संरचना गरे ।

उनले प्रत्येक व्यवसायका लागि मासिक सञ्चालन समीक्षा बैठकहरू आयोजना गर्थे ।  यसले कर्मचारीहरूलाई सशक्त बनायो र उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न उत्प्रेरित गर्‍यो । माल्याको विकेन्द्रीकृत व्यवस्थापन संरचनाका कारण उनले सन् १९८६–८७ मा बर्जर पेन्ट्सको विश्वव्यापी व्यवसाय अधिग्रहण गर्न र गैर–आवासीय भारतीय बन्न पर्याप्त समय पाए ।

माल्याको नेतृत्वमा युबी समूहले मदिरा र अन्य क्षेत्रमा अभूतपूर्व सफलता प्राप्त गर्‍यो । अर्थात् उनले मदिरा व्यवसायबाट पर्याप्त पैसा कमाए ।

किङ्गफिशर बियर रि–ब्रान्डिङ

माल्याको पहिलो महत्वपूर्ण व्यावसायिक कदम किङ्गफिशर बियरको मार्केटिङ थियो ।  उनले बुबाको अभिलेखालयबाट सन् १८५७ मा सुरु भएको पुरानो किङफिशर बियरको लेबल भेटे । उनले यस ब्रान्डमा ‘फन ब्रान्ड’ बन्ने सम्भावना देखे । भारतमा रक्सीको विज्ञापनमा प्रतिबन्ध भएकाले, उनले सरोगेट विज्ञापनको रणनीति अपनाए । 

उनले किङ्गफिशरको नाममा पानीको व्यवसाय गरे र त्यसलाई विज्ञापन गरे, जसले मुख्य बियर ब्रान्डको प्रचार गर्‍यो ।  उनले किङ्गफिशरलाई एक रङ्गीन ब्रान्ड बनाए ।  यसलाई खेलकुद, फेसन र संगीतसँग समेत जोडे ।  माल्या आफैँ पनि धेरै हदसम्म आफ्ना ब्रान्डहरूका ब्रान्ड एम्बेसडर बने । 

सन् १९७७ मा, प्रधानमन्त्री मोरारजी देसाइले देशव्यापी रक्सीमा प्रतिबन्धको घोषणा गरे ।  मदिरा प्रतिबन्धका कारण कम्पनीहरूको सेयर मूल्य ह्वात्तै घट्यो ।  माल्याका बुबालाई के विश्वास थियो भने सरकारले रक्सी पूर्णरुपमा बन्देज गर्न सक्दैन । सोही आत्मविश्वासले सस्तोमा अन्य कम्पनीको सेयर किने । 

जसले युनाइटेड ब्रुअरीजलाई भारतमा नम्बर एक रक्सी उत्पादक बनायो ।  युनाइटेड ब्रुअरीज लिमिटेडले भारतको बियर बजारको लगभग ५२ प्रतिशत हिस्सा ओगेटेको माल्या बताउँछन् । माल्याले किङ्गफिसर बियर अल्कोहलको मात्रा बढाए जसले गर्दा यसको बजार बढ्यो ।

सुरुमा किङ्गफिशर एक हल्का बियर थियो, जसमा चार प्रतिशत मात्रै अल्कोहलको मात्रा हुन्थ्यो ।  तर बजारमा समान मूल्यमा आठ प्रतिशत अल्कोहल भएको ह्विस्की लोकप्रिय थियो । त्यसैले विजयले आठ प्रतिशत स्ट्रोङ बियर लन्च गरे । 

सन् १९८६ सम्ममा, किङ्गफिशरले मोहन मिकिन गोल्डन ब्रान्डलाई पछि पारेर भारतको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड बन्न सफल भयो ।  यी सबै कामहरू यस्तो तरिकाले गरिएका थिए कि ‘किङ्गफिशर’ नाम आउँदा मानिसहरूको दिमागमा सिधै बियर आउँथ्यो । 

एकातिर प्रचार र अर्कोतिर आफ्ना प्रतिस्पर्धीको कम्पनीका सेयर अधिग्रहण गर्दै थिए ।  उनले आफ्नो पूरै व्यवसायलाई ग्लोबल बनाएका थिए ।  किङ्गफिशर ५० भन्दा बढी देशहरूमा उपलब्ध हुन थाल्यो ।  यूबी ग्रुपको मूल्यांकन विजय माल्या सामेल हुँदा ४० करोडमा सीमित थियो । जुन केही वर्षमै ६ हजार करोडसम्म पर्‍याए ।

माल्याले म्याक्डोवेलको नम्बर १ व्हिस्कीलाई पनि भारतीय बजारमा ल्याए ।  सन् २००५ मा, माल्याले आफ्नो सबैभन्दा ठूलो प्रतिस्पर्धी ‘शा वालेस’लाई ३०० मिलियन डलरमा अधिग्रहण गरे ।  यसले युनाइटेड स्पिरिट्सलाई नम्बर एक स्थानमा पुर्‍यायो र रोयल च्यालेन्जर बैगंलोर (आरसीबी) (हाल बैंगलुरु)  जस्ता ब्रान्डमा पैसा खनाए । 

सन् १९८८ मा माल्याले हेक्ज समूहको विश्वव्यापी बर्जर पेन्ट्सको व्यवसाय अधिग्रहण गरे ।  उनको उद्देश्य भारतको पहिलो बहुराष्ट्रिय कम्पनी सिर्जना गर्नु थियो । उनले जमैका, केन्या र सिङ्गापुरमा आइपीओ निकालेर त्यसको ऋण तिरे । 

आईपीएल र अन्य खेलकुदमा ब्रान्ड बेचे

माल्याले आफ्ना ब्रान्डहरूको व्यक्तित्व निर्माण गर्न र युवाहरूलाई आकर्षित गर्न खेलकुद र मनोरन्जनमा पैसा खनाए ।आईपीएल सुरु हुँदा माल्या भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) समितिका सदस्य थिए । उनले क्रिकेटको माध्यमबाट आफ्ना ब्रान्डहरू (विशेषगरी रोयल च्यालेन्ज ह्विस्की) प्रवर्धन गर्ने अवसर देखे । 

उनले बेंगलुरु फ्रेन्चाइजीको लागि बोली लगाए र रोयल च्यालेन्ज व्हिस्कीको नाममा यसलाई रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) नाम दिए ।  उनले विराट कोहलीजस्ता युवा प्रतिभालाई आईपीएलमा सुरुमै आरसीबीको टोलीमा छनोट गरे । 

माल्याका अनुसार, आरसीबी एक लाभदायक र स्वतन्त्र व्यवसाय बन्यो, जुन केवल ‘भ्यानिटी प्रोजेक्ट’ मात्र थिएन ।

मोटर रेसिङप्रति माल्याको सधैंको लगाव रह्यो । उनले भारतीय झण्डालाइ एफ–१ ग्रिडमा ल्याउने उद्देश्यले ‘फोर्स इन्डिया’ नामक एफ–१ टिम निर्माण गरे । यसले उनका ब्रान्डको प्रचारमा पनि मद्दत पुर्‍यायो ।

यसले किङ्गफिशर क्यालेन्डर ब्रान्डलाई युवा र आधुनिक जीवनशैलीको प्रतीक बनाउन महत्वपूर्ण भूमिका खेल्यो । उक्त क्यालेन्डरमा फिचर भएपछि कुनै हिट फिल्मको भन्दा धेरै चर्चा हुने गर्थ्यो ।  दीपिका पादुकोण र कट्रिना कैफजस्ता मोडलहरू यस क्यालेन्डरबाट चर्चामा आएका थिए । आरसीबीको खेलमा कैफ पोस्टर गर्ल हुने गर्थिन् ।

माल्यालाई मिडियाले प्रायः ‘शो–म्यान’ र ‘फ्लेम्बोयन्ट‘ (भड्किलो) को संज्ञा दिन्थे ।  उनी आफैंमा सार्वजनिक रूपमा बोल्न नडराउने आत्मविश्वासपूर्ण व्यक्ति थिए ।  तर, उनी भन्छन् कि उनले कहिल्यै पनि मिडियाबाट हेडलाइन खोजेनन् । मिडिया नै उनको वरिपरि हेडलाइन सिर्जना गर्‍यो । 

उनलाई ‘फ्लेम्बोयन्ट’ भनिनुको कारण, २८ वर्षको उमेरमा युबी समूहको अध्यक्ष बनेर उनले आफ्ना बुबाका समकालीनहरूसँग तुलना गरिएको थियो, तर उनी युवा भएकाले राम्रो गाडी, पार्टी, संगीत र खेलकुदजस्ता युवाका रुचिहरूलाई अपनाए । 

उनले सधैं आफ्नो पैसा खर्च गरेको जिकिर गरे । ‘किंग अफ गुड टाइम्स’ भन्ने वाक्यांश पनि मिडियाले नै दिएको थियो ।  यो किङ्गफिशर बियरको लेबलमा ‘द किङ अफ गुड टाइम्स’ लेखिएको थियो, जसले ब्रान्डको व्यक्तित्वलाई प्रतिनिधित्व गर्थ्यो ।

पतनको सुरुवातः किङफिशर एयरलाइन्स
माल्याको सबैभन्दा ठूलो र विवादास्पद उद्यम किङ्गफिशर एयरलाइन्स बन्यो ।  आफ्नो छोराको १८औँ जन्मदिनको अवसरमा माल्याले किङ्गफिसर एयरलाइन्स सुरु गर्ने सोच गरे । 

सोही अनुसार चार सय करोड खर्च गरेर ९ मे २००५ मा किङ्गफिसर एयर सुरु हुन्छ । उनले यसलाई ‘भारतले देखेको सर्वोत्कृष्ट उडान अनुभव’ प्रदान गर्ने उद्देश्यले सुरु गरेका थिए ।  जसको लक्ष्य प्रिमियम सेवा र भारतीय सहरहरूलाई जोड्नु थियो । 

सुरुमा यो कम लागतको एयरलाइन्स मोडलमा सञ्चालित भए पनि, उडानमा मनोरञ्जन र खानाजस्ता सुविधाका कारण यसलाई ‘फरक’ बनाइएको थियो ।  उनको विमान भारतमात्रै होइन विदेश समेत उडाउने सोच थियो । 
तर, कुनै पनि भारतीय विमानले विदेशमा उडान सुरु गर्नुअघि पाँच वर्षको घरायसी उडानको अनुभव चाहिने नियम थियो । 

विदेश उडाउन माल्याले अर्को सोच बनाए । भारतीय सस्तो विमान डेक्कन एयर किनेर उसैको लाइसेन्सले विदेश उडान गर्ने सोचमा माल्या पुगे ।  सन् २००७ मा माल्याले घाटामा चलिरहेको ‘क्यापिटल एयर’ डेक्कनलाई १३७ मिलियन डलरमा अधिग्रहण गरे । 

मिडियाले यसलाई विदेशी उडान अनुमति पाउनको लागि (पाँचवर्षको नियम) गरिएको भनिए पनि, माल्याले यसलाई किङ्गफिसरको बलियो उपस्थिति र बाधा हटाउन भनेका छन् ।  डेक्कनले एक रुपैयाँको टिकट बेचेर बजारमा मूल्य अपेक्षा घटाएको थियो, जसले समग्र उद्योगलाई असर गरेको थियो । 

यस अधिग्रहणले किङ्गफिशरलाई ठूलो आकार प्रदान गर्‍यो र नयाँ मार्गहरू खोलेको उनको तर्क थियो । सन् २००८ मा लेमन ब्रदर्सको पतनपछि आएको विश्वव्यापी वित्तीय संकटले भारतको उड्ययन क्षेत्रलाई गहिरो असर पार्‍यो । 

कच्चा तेलको मूल्य ४० बाट १६० प्रति ब्यारेल पुग्दा ‘एभिएशन टर्बाइन फ्युल’ (एटीएफ) को मूल्य पनि ह्वात्तै बढ्यो ।  यसले विश्वभरका अन्य विमान ‘कन्जरेभेटिभ अप्रोच’ मा रहँदा माल्याले त्यसो गरेनन् ।  मन्दीले यात्रु कम भएको अवस्थामा समेत उनले दिल खोलेर विमान किन्न र प्रचार प्रसारमा खर्च गरे । 

उनले आर्थिक मन्दीकैबीचमा दुईवटा जहाज थपे । यही जहाज थप्नु नै उनको पतनको सुरुवात थियो । राज्य सरकारले एटीएफमा उच्च ‘एड भ्यालोरेम सेल्स ट्याक्स’ लगाएको थिए । 

जसले एयरलाइन्सको सञ्चालन लागतलाई अत्यधिक बढायो । माल्याले सरकारलाई एटीएफलाई ‘डिक्लेअर्ड गुड्स’ को दर्जा दिन आग्रह गरे । जसले केन्द्रीय बिक्री कर मात्रै लागोस् । तर, सरकारले त्यसो गरेन । यसले गर्दा विमान कम्पनीहरुको घाटा झन् झन् बढ्यो ।

माल्याका अनुसार, उनले तत्कालीन वित्तमन्त्री प्रणव मुखर्जीलाई भेटेर एयरलाइन्सलाई डाउनसाइज गर्ने समेत बताएका थिए ।  तर, मुखर्जीले उनलाई ‘नगर्नुहोस्, बैंकहरूले तपाईंलाई सहयोग गर्नेछन्’ भनेर रोके । माल्याका मुखर्जीको यही कुराले किङ्गफिशर एयरलाइन्सको संकटको सुरुवात भएको बताउँछन् । 

मुखर्जीले भनिदिएपछि १७ वटा बैंकहरूको कन्सोर्टियमले किङ्गफिशरलाई ऋण प्रदान गर्‍यो ।  जसमा स्टेट ‘बैंक अफ इन्डिया’ (एसबीआई) लिडर बैंकको रुपमा सहभागी थियो । उक्त समयमा सातहजार करोड ऋण लिएका थिए । 

ऋणका लागि माल्याले आफूले व्यक्तिगत ग्यारेन्टी दिएको र युनाइटेड ब्रुअरीज होल्डिङस् लिमिटेडले पनि ग्यारेन्टी दिएको दाबी गर्छन् ।  उनले तीन हजार करोड रुपैयाँ युबी समूहको पैसा किङ्गफिशर एयरलाइन्समा हालेको बताए । तर, यसको चर्चा नहुने गुनासो गर्छन् ।

उड्ययन ठूलो पुँजी चाहिने उद्योग भए पनि, सरकारले विदेशी लगानीलाई अनुमति दिएन ।  माल्याका अनुसार, उनले इतिहाद एयरवेजका सीईओ जेम्स होगनसँग किङ्गफिशरमा लगानीका लागि सहमति गरिसकेका थिए, तर सरकारले अनुमति दिएन । 

किङ्गफिशर बन्द भएको ६ महिनापछि मात्रै इतिहादलाई जेट एयरवेजमा लगानी गर्न अनुमति दिइयो ।  माल्याका अनुसार, ‘अर्थतन्त्र, परिस्थिति, र तत्कालीन सरकारी नीतिहरूले’ मिलेर किङ्गफिशरको लागि एक आँधी सिर्जना गरे, जसबाट एयरलाइन्स बच्न सकेन ।

आर्थिक संकट र सरकारी नीतिका कारण, किङ्गफिशरको पैसाको समस्या विकराल बन्यो ।  यसले तेल कम्पनीहरू, एयरपोर्ट शुल्क र खानपान सेवा प्रदायकहरूलाई भुक्तानी गर्न दिन सकेन । एयरलाइन्स नगद प्रवाहको समस्याबाट गुज्रिरहेको बेला कर्मचारीहरूलाई तलबमा पनि समस्या भयो । 

माल्याका अनुसार, भारतमा कम्पनीसँग पैसा थिएन किनभने कर्नाटक उच्च अदालतले युनाइटेड ब्रुअरीज होल्डिङस लिमिटेडको २६० करोड रुपैयाँभन्दा बढी नगद फ्रिज  गरेको थियो ।  माल्याले अदालतलाई कर्मचारीहरूको तलब तिर्न त्यो रकम निकाल्न अनुरोध गरे, तर बैङहरूले आपत्ति जनाए र अदालतले अनुमति दिन अस्वीकार गर्‍यो । 

उनले आफूले वर्षमा ३३ करोड रुपैयाँ तलब लिएको भन्ने मिडिया रिपोर्टहरूलाई ‘झूटो’ भनेका छन् । एक कर्मचारीकी पत्नीले तलब नपाउँदा आत्महत्या गरेको घटनाबारे सोध्दा, माल्याले यसलाई लामो समयदेखि चलिरहेको वैवाहिक विवादको परिणति भएको बताए । 

“यसलाई किङ्गफिशर एयरलाइन्स र तलब भुक्तानी नगरेकोमा दोष दिनु सहज भएको थियो,” उनले भने । तर, उनले यो घटनाको लागि व्यक्तिगत रूपमा दुःख व्यक्त गरे र जिम्मेवारी लिए ।

सन् २०१५ डिसेम्बरमा माल्याको ६०औँ जन्मदिनको भव्य पार्टी दिए ।  उक्त पार्टीले जनतामा निकै आक्रोश उत्पन्न गरेको थियो ।  किनभने किङ्गफिशर एयरलाइन्स सन् २०१२ मा बन्द भइसकेको थियो ।  बन्द भइसकेको कम्पनीको भुक्तानी गर्न बाँकी रहेको अवस्थामा सार्वजनिक रुपमा भड्किलो पार्टी गरेका थिए । 

कतिले कर्मचारीको तलब नदिएर भड्किलो खर्च गरेको आरोप लगाएका थिए । माल्याले पडकास्टमा आफ्नोे व्यक्तिगत पैसाले पार्टी आयोजना गरिएको बताएका थिए ।  किङ्गफिशर एयरलाइन्सले भुक्तानी गर्न सक्ने अवस्थामा थिएन । 

उनले यसलाई आफ्नो पारदर्शी जीवनशैलीको एक हिस्साका रुपमा उक्त पार्टी रहेको बताए ।  उनले आफ्ना कर्मचारीहरूप्रति गहिरो दुःख व्यक्त गरे । 

“म उनीहरूप्रति दुःखी छु कि उनीहरूलाई यस्तो भयो । म दुःखी छु कि उनीहरूमध्ये कसैले पनि आफ्नो तलब पाएनन् । मसँग कुनै बहाना छैन । म यसको पूर्ण जिम्मेवारी लिन्छु,” किङ्गफिशर एयरलायन्सको बन्दको विषयमा माल्याले भनेका थिए । 

भारत छाड्ने बेला र त्यसपछिका घटनाक्रम

विजय माल्याको भारतबाट बेलायत भाग्नु र त्यसपछिको कानूनी लडाइँ उनको पतनको सबैभन्दा ठूलो पक्ष बन्यो ।  सन् २०१५ मा सीबीआईले माल्यामाथि अनुसन्धान सुरु गर्‍यो । उनले सीबीआईको अगाडि चारपटक हाजिर भएको बताए । 

मिडियामा उनले सीबीआईले पैसा हिनामिना गरेको आरोप लगाएको भनियो ।  तर, माल्याले यसलाई ‘पूर्णतया झूटो’ भनेका छन् ।  सीबीआईले किङ्ग फिशरको लागि किनिएको जहाज प्राइभेट बनाएको आरोपसमेत लगाएको थियो । 

माल्याले २ मार्च २०१६ मा भारत छाडे । माल्या जब भारतबाट भागे, उनी निजी जेटमार्फत होइन, कमर्सियल फ्लाइट प्रयोग गरेर लन्डन पुगे ।  लन्डन पुगेर उनले म्याडम तुसाद म्यूजियम नजिकको बेकर स्ट्रिटमा बस्न थाले । 
तर, भागेको विषयमा उनको ठूलो दूखेसो व्यक्त गरे । 

“म भगौडा होइन, म चोर होइन,” उनले पडकास्टमा भनेका छन् । पुग्नेबित्तिकै विजय माल्याले भने, “म भारत छाड्नुअघि तत्कालीन वित्तमन्त्री अरुण जेटलीसँग भेटेर आएको हुँ ।”  यस अभिव्यक्तिले भारतीय राजनीतिक तरंग समेत ल्याएको थियो । 

vijayamalya-1750215821.jpg
 

माल्याको उक्त दाबीपछि भारतमा अरुण जेटलीको भूमिकामा प्रश्न उठ्न थाल्यो । 

जेटलीले जवाफ दिँदै भनेका थिए, “म संसद् भवनमा उससँग संक्षिप्त रूपमा भेटिएको थिएँ । उ सांसद भएको नाताले केही भनेको हो, तर मैले त्यति गम्भीरतापूर्वक लिएको थिइनँ ।  उसलाई बैंकहरूसँग कुरा गर्न भनेको थिएँ ।”
भारतबाट बेलायत पुगेपछि सरकार र माल्या विरुद्ध जनता र मिडियाले आक्रोश जारी रह्यो । 

भारतीय सुप्रिम कोर्टको बेन्चले माल्याका भारतीय कम्पनीहरूलाई सम्पर्क गर्न थाल्यो ।  यूकेस्थित भारतीय उच्चआयुक्तलाई पनि सक्रिय बनाए, र छानबिन सुरु भयो ।  भारत र बेलायतबीच सन् १९९२ मा भएको ‘एक्स्ट्राडिशन ट्रिटी’अनुसार, कुनै अपराधीलाई एक–अर्काको देशमा सुपुर्दगी गर्न सकिने नियम थियो । 

सन् २०१७ मा माल्या बेलायतमा पक्राउ परे ।  ‘एक्स्ट्राडिशन ट्रिटी’लाई आधार बनाएर, भारत सरकारका तर्फबाट विदेश राज्य मन्त्री वी.के. सिंहले फेब्रुअरी २०१७ मा बेलायतलाई औपचारिक एक्स्ट्राडिशन अनुरोध पठाए । 

त्यसपछि माल्यालाई १८ अप्रिल २०१७ मा लन्डनमा गिरफ्तार गरिएको थियो ।  उनलाई वेस्टमिन्स्टर म्याजिस्ट्रेट कोर्टमा पेश गरियो ।  तर, उनका वकिलहरूले उनलाई ‘कन्डिसनल बेल’ मा छुटाए ।  मिडियामा उनले सर्वोच्च अदालतको सुनुवाइको एक दिन अगाडि देश छाडेको भन्ने आरोप लगाएका थिए । 

तर, माल्याले यसलाई ‘पूर्णतया झूटो’ भनेका छन् । 

“मलाई मार्च ३ मा कुनै सुनुवाइको जानकारी थिएन ।  जिनेभामा एफआईए विश्व परिषद्को पूर्वनिर्धारित बैठक थियो, जुन महिनौँअघि तय भएको थियो,” उनले भने ।

‘म भगौडा होइन’

माल्याले आफू सन् १९८८ देखि बेलायतको स्थायी बासिन्दा भएको र १९९२ मा ‘अनिश्चितकालीन बसोबासको अनुमति’ पाएको बताएका छन् ।  यसअघि पनि उनी वर्षको १८० दिनभन्दा कम समय भारतमा बस्ने गर्थे । उनले भारत छाड्नु ‘पूर्व–निर्धारित भ्रमण’ भएको र त्यसपछि ‘मिडियाको हंगामा र प्रतिकूल वातावरण’ का कारण फर्किन नसकेको बताए । उनले आफू ‘भागेको’ भन्ने आरोपमा उनी क्रुद्ध बने ।

१५ अप्रिल २०१६ मा उनको पासपोर्ट निलम्बन गरियो र २४ अप्रिल २०१६ मा रद्द गरियो ।  ईडीको अगाडि उपस्थित नभएको कारण उनको पासपोर्ट रद्द गरिएको उनको आरोप लगाए । माल्याले आफूले इडीलाई जवाफ दिएको र आफू फर्कने तर केही समय चाहिएको समेत बताएका थिए । 

पासपोर्ट रद्द भएपछि उनी बेलायतमा नै रोकिए र त्यसयता फर्किन नपाएको गुनासो गरे ।

माल्या दाबी गर्छन् कि उनले सन् २०१२ देखि २०१५ को बीचमा बैंकहरूलाई चारवटा सेटलमेन्ट प्रस्तावहरू दिएका थिए । तर, बैंकहरूले उनको प्रस्ताव स्वीकार गरेनन् ।  “मेरो प्रस्ताव स्वीकार गरेको भए, उनीहरूले पाँच हजार करोड रुपैयाँ पाउँथे, तर आज १४ हजार १०० करोड रुपैयाँ असुली भएको छ,” उनले भने ।

आफूमाथि लागेका ‘चोर’ र ‘भगौडा’ जस्ता आरोपहरूलाई मिडियाले भ्रम सिर्जना गरेको र झुटो भएको बताउँछन् । 

भारत सरकारले १४ हजार एकसय करोड रुपैयाँ असुली गरिसकेको र जुन उनको ऋण छ हजार २०३ करोड रुपैयाँको २.५ गुणा भन्दा बढी भएको माल्याले दाबी गरे । 

“म सायद एकमात्र चोर हुँ जसलाई २.५ गुणा पैसा फिर्ता गरेपछि पनि चोर भनिएको छ,” उनले भने । 

उनले बैंकहरूले उनलाई हिसाबको विवरण नदिएकोमा आफ्ना वकिलमार्फत् कर्नाटकमा उच्च अदालतमा मुद्दा दायर गरेको समेत बताए । मिडियाले आफूलाई ‘विलफुल डिफल्टर’ (ऋण तिर्ने क्षमता भए पनि नतिर्ने) बनाएको उनको आरोप छ । 

सरकारले सबै सम्पत्ति फ्रिज गरिएको र सम्पत्ति लगानी र बेचेर पैसा तिर्छु भन्दा नदिएको उनले दाबी गरे । 

“बैंकहरूले एकातर्फ सम्पत्ति फ्रिज गर्ने र अर्कोतर्फ ‘चोर’ भन्ने कुरा मिल्दो कुरा होइन,” माल्याले भने । माल्याका अनुसार, पछिल्लो नौ वर्षदेखि उनी भारतमा ‘दुर्व्यवहारपूर्ण र मिडिया ट्रायल’ भइरहेको बताए । 

“मिडियाले मेरो बारेमा धेरै ‘नकारात्मक कथा’ सिर्जना गरेका छन्, जसले मलाई सबैले आक्रोश पोख्ने ठाउँ पाएका छन्,” उनले भने, “मिडियाले सनसनीवादलाई प्राथमिकता दियो र ‘झूटा आरोप’ लगाउन सजिलो भएको छ ।”

मिडियाले आफ्नो व्यवसाय (टीआरपी, पाठक, दर्शक) बढाउन उनको सार्वजनिक छविको प्रयोग गरेको उनको आरोप लगाए ।

माल्याले किङ्गफिशर एयरलाइन्सको असफलता र त्यसपछिका घटनाक्रममा सरकारको ठूलो भूमिका रहेको दाबी गर्छन् । 

उनले सरकारलाई ‘व्यापार गर्नको लागि सबैभन्दा ठूलो चुनौती’ भनेका छन् ।  उनले भारतमा व्यापार गर्न निकै कठिन रहेको बताए ।  भारतमा ‘ब्यूरोक्रेसी’ र राजनीतिक अवरोधहरू धेरै छन् । माल्याले आफू सरकारको ‘पोस्टर ब्वाई’ र ‘राजनीतिक फुटबल’ बनेको दाबी गर्छन्, जहाँ भाजपाले कांग्रेसलाई र कांग्रेसले भाजपालाई उनको मुद्दामा आरोप लगाएको छ । 

अन्य धेरै कम्पनीहरूले ठूलो मात्रामा ऋण डिफल्ट गरे पनि, केवल आफू नै लक्षित हुनु परेको बताए । निष्पक्ष न्याय हुने हो भने भारत फर्किनुहुन्छ भन्ने प्रश्नमा माल्याले भारतीय न्याय प्रणालीमा विश्वास रहेको बताए ।  यद्यपि, उनले सीबीआई र इडीको कार्यशैलीमा प्रश्न उठाए । 

उनीहरूले आफूलाई निर्दोष साबित नगरेसम्म अपराधी मान्ने गरेको बताए ।  माल्या हाल बेलायतमा अर्ध–सेवानिवृत्त जीवन बिताइरहेका छन् । उनी कानूनी मामिलाहरूमा व्यस्त छन् । कानुनी उपचारले उनको अधिकांश समय ओगटेको छ । 

भारतीय सार्वजनिक क्षेत्रका बैंकहरूले उनलाई बेलायतका अदालतहरूमा पनि मुद्दा हालेका छन् । माल्याले आफूलाई ‘निष्पक्ष सुनुवाइ’ र ‘गरिमामय अस्तित्व’ को सुनिश्चितता भएमा भारत फर्कन तयार रहेको बताएका छन् । 
यद्यपि, उनले भारतमा ‘बिना सुनुवाइ लामो समयसम्म हिरासत’ मा राख्ने जोखिम रहेको उल्लेख गरे ।

अन्त्यमा आफू किङ्गफिशर एयरलाइन्सको असफलताले धेरै पश्चाताप रहेको बताए ।  यसअघि उनले आफ्नो व्यावसायिक जीवनमा यस्तो असफलताको अनुभव नगरेको र उक्त असफलताले हालसम्म पश्चातापमा जलिरहेको बताए । 

वित्त मन्त्री प्रणव मुखर्जीको सल्लाह सुनेर एयरलाइन्सलाई डाउनसाइज नगरेकोमा उनलाई पछुतो छ । यदि उनले त्यसो गरेको भए, वित्तीय भार कम हुने थियो र किङ्गफिशर अझै उडिरहेको हुने थियो । माल्या आफूलाई ‘आस्तिक’ बताउँछन् र भारतका धेरै मन्दिरहरूमा दान गरेका बताउँछन् । 

उनले सबरीमाला र तिरुपति तिरुमालाजस्ता मन्दिरहरूमा स्वर्ण छत र स्वर्ण प्लेटिङ दान गरेको बताए । अन्त्यमा आफूलाई ‘चोर’ को रूपमा नभई, सकारात्मक योगदान र राम्रो कामको लागि सम्झना चाहन्छन् । 

अन्तर्वार्तापछि...  

माल्याले शमानीसँगको अन्तर्वार्तापछि भारतमा उनले बोलेका कुराहरुको सत्य तथ्य बाहिर आउनेक्रम जारी  छ ।  छापा, टेलिभिजन र युट्युबका कन्टेन्ट क्रियटर्सले उनले बोलेका कुराहरु के कति सत्य र झुट छन् भन्नेमा फ्याक्ट चेक गरिरहेका छन् । 

उनको पडकास्टपछि भारतीय मिडिया र युट्युबरहरुले खोतेलेको केही कुराहरु यसप्रकार छन् । 

पडकास्टपछि उनको भनाइमा रहेका भारतीय मिडियाले माल्याले बोलेका विषयमा तथ्यजाँचका केही कुरा– 

माल्या आफूले व्यक्तिगत रुपमा ऋण नलिएको र किङ्गफिसर एयरको लागि ऋण लिएको पडकास्टमा बताएका थिए ।  माल्याले व्यक्तिगत रूपमा ऋण नलिएको भए पनि, किङ्गफिशर एयरलाइन्सका सबै ऋणमा उनी पर्सनल ग्यारेन्टर थिए । 

त्यो उनले पडकास्टमै स्वीकार गरेका छन् । भारतीय अदालत तथा बेलायतका अदालतहरूले समेत माल्याले ऋण तिर्नु कानुनी दायित्व हो भनी स्पष्ट गरिसकेका उल्लेख छ । प्रवर्तन निर्देशनालय (ईडी) को अनुसार, किङ्गफिशर एयरलाइन्सले ऋण लिएको रकममध्ये तीनहजार ५४७ करोड अन्य काममा ट्रान्सफर गरेर मनी लन्ड्रिङ गरेको छ । 

सन् २००८ देखि २०१२ सम्म प्लेन लिजको नक्कली खर्च देखाएर तीन हजार ४३२ करोडको हेरफेर भएको उल्लेख छ । यसबाहेक, स्टेट बैंक अफ इन्डिया (एसबीआई) र पञ्जाब नेशनल बैंक (पिएनबी) बाट प्राप्त ४५.४२ करोडको प्रयोग निजी जेटको लिज चुकाउन गरिएको थियो । 

जुन माल्या र उनको परिवारले व्यक्तिगत यात्राका लागि प्रयोग गरेका थिए । ईडीको अनुसन्धानमा १५.९ करोड आईपीएल टीम रोयल च्यालेन्जर्स बैंगलोरमा ट्रान्सफर गरिएको छ ।  जुन एयरलाइन्सको विज्ञापन खर्च भनेर देखाइएको थियो । बैंकले यस्तो ट्रान्सफर अस्वीकृत गरिसकेको अवस्थामा पनि ट्रान्सफर गरिएको उल्लेख छ ।

फोर्स इन्डिया एफ–१ टिममा लगानी, सम्पत्तिको मूल्य बढी देखाउने, र झुटा ब्रान्ड भ्यालुएसन रिपोर्ट पेश गर्ने जस्ता सबै आरोपले माल्यालाई गहिरो कानुनी फन्दामा पारिसकेका थिए । माल्याले बैंकमा आफ्नो सम्पत्ति कम देखाएका  ईडीको दाबी थियो । 

सन् २०१० मा उनले आफूसँग तीन हजार १६४ करोड बराबरको सम्पत्ति भएको बेला बैंकमा मात्र एकहजार ३९५ करोडको सम्पत्ति घोषणा गरेका थिए । २०१२ देखि २०१५ सम्म किङ्गफिशर एयरलाइन्सले यात्रुहरूसँग एकसय करोडभन्दा बढी सेवा कर उठाएको थियो । तर, सरकारलाई नबुझाएको उल्लेख छ । 

पडकास्टमा माल्याले चारवटा सेटलमेन्ट प्रस्ताव बैंकलाई दिएको दाबी गरेका छन्, तर यसको कुनै पुष्टि सार्वजनिक रेकर्डमा नभेटिएको उल्लेख छ ।  त्यतिमात्र होइन, उनले ‘आई एम नट अ चोर’ भनी आफूलाई निर्दोष प्रमाणित गर्न खोजे, तर उनको विभिन्न कम्पनीमार्फत भएको आर्थिक अपारदर्शिता र अनियमितता रहेको देखिन्छ ।

माल्याले भनेको ‘मैले ९ हजार करोड होइन, छ हजार २०३ करोड ऋण लिएको थिए । त्यो पनि बैंकहरूले पहिले नै फिर्ता लिइसके’ माल्याले पडकास्टमा भनेका थिए ।

माल्याले देखाएको ‘डेब्ट रिकभरी ट्रिब्युनल’ को २०१७ को आदेश अनुसार उनले छ हजार २०३ करोड ऋण तिर्नुपर्ने भनिएको छ ।  तर सो आदेशमा वार्षिक ११.५ प्रतिशत ब्याजसमेत थपिएको उल्लेख छ ।  जुन अनुसार कूल ऋणको आकार नौ हजार करोडभन्दा बढी हुन जान्छ । 

अझै पनि बैंकहरूका अनुसार उनी सातहजार करोडभन्दा बढी ऋण असुल गर्न बाँकी रहेको उल्लेख छ । उनले कर्नाटका उच्च अदालतमा सम्पत्ति फ्रिज भएका कारण कर्मचारीको तलब दिन नसकेको पोडकास्टमा बताएका थिए । 

तर, माल्याले २०१२ को मध्यबाटै कर्मचारीको तलब दिन बन्द गरेका थिए ।  उनले २०१३ मा अदालतसामु तलब दिनको लागि गरेको अनुरोधमा जम्मा एक महिनाकोमात्रै तलबको कुरा उल्लेख गरिएको थियो ।  उनले १३ करोड सात लाख १४ हजार ५२३ रुपैयाँ रिलिजको लागि अनुरोध थियो । 

माल्याको कम्पनीले आठ महिनाको तलब दिन बाँकी थियो । तीन हजार कर्मचारीको तीन अर्ब रुपैयाँ तलब दिन बाँकी थियो ।  अन्य कम्पनीबाट भए पनि किङ्गफिशरका कर्मचारीको तलब किन नदिएको भन्ने प्रश्नमा उनले आफ्नो लागि किङ्गफिसर मात्रै महत्वपूर्ण नरहेको जवाफ दिएका थिए । 

जब कुनै कर्मचारीकी पत्नीले आत्महत्याको प्रश्न गरिएको थियो, उनले त्यसलाई वैवाहिक विवाद भनी पन्छाए । डिसेम्बर २०१५ मा आफ्नो ६०औँ जन्मदिन मनाउन गोवामा दुईदिने पार्टी दिए ।  निकै भड्किलो उक्त पार्टीमा दुई सय पाहुना बोलाइएको थियो । 

उनका पाहुनाका लागि गोवाको ताज होटेलमा बस्ने सुविधा थियो । स्पेनिस पप स्टारदेखि बलिउडका हस्ताहरुले उक्त पार्टीमा आमन्त्रित गरेर विशेष कार्यक्रम गरिएको थियो । 

उक्त पार्टीमा १३ करोडको हाराहारीमा खर्च भएको उल्लेख थियो ।  पार्टीको विषयमा माल्यासँग प्रश्न सोध्दा उनले त्यसमा कुनै गल्ती नरहेको बताएका थिए । 

“म एउटा सफल व्यापारी हुँ । मेरो एउटा व्यवसाय चलेन भनेर मैले पार्टी गर्न नपाउने ?,” उनको जवाफ थियो । विजय माल्याको जीवन एक सफल उद्यमी, सांसदबाट विवादास्पद भगौडासम्मको यात्राको प्रतिनिधि कथा हो । 

जसले भारतीय वित्तीय प्रणाली र कानुनी संयन्त्रका कमजोरीहरूलाई उजागर गरेको छ । 

उनले विलासितापूर्ण जीवनशैली र आक्रामक व्यापार विस्तारका नाममा बैंकहरूबाट लिएको अर्बौं रुपैयाँ ऋण फिर्ता नगरी देश छाडेपछि भारतीय राज्यसंयन्त्रले उनलाई भारत ल्याउन लामो समयसम्म प्रयास गरिरहेको छ । 
नौ वर्षदेखि बेलायत बस्दै आएका माल्याको जीवनशैलीमा परिवर्तन छैन । 

अर्थात् उनले भारतीय बैंकबाट लिएको कर्जा विदेशमा पुर्‍याए । कम्पनीका कर्मचारीहरुको तलब दिएनन् ।  भारतीय राज्य संयन्त्रलाई प्रभावमा पारेर बेलायत पुगेपछि उतै बसिरहेका माल्या र नेपालका जीबी राईको जीवनशैली करिब उस्तै देखिन्छ । 

राज्यको ‘लुप होल’ प्रयोग गरेर नेपाल/भारत जस्ता देशमा व्यापारीहरुले जनता डुबाउने कार्य गरिरहेका छन् ।  नेपालमा पछिल्लो सहकारी कान्ड पनि राज्य संयन्त्रको उचित नीति तथा नियमनको कारक हो ।  यस घटनाले नियमन, पारदर्शिता र जवाफदेहिताको खाँचोलाई तीव्र रूपमा देखाएको छ । 
 

 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्