
काठमाडौं । फिफा क्लब विश्वकपमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सुखद सुरुआत गरेको छ । सिटीले बुधबार आफ्नो पहिलो खेलमा मोरोक्कोको टोली वाइदाद एसीविरुद्ध २–० को जित निकालेको हो ।
अमेरिकाको लिंकन फाइनान्सियल फिल्डमा सिटीलाई जित दिलाउन फिल फोडेन र जेरेमी डोकुले समान एक गोल गरे । सिटीले दुवै गोल पहिलो हाफमा गरेको हो ।
खेलको दोस्रो मिनेटमा नै फोडेनको गोलमा सिटीले अग्रता बनाएको थियो । ४२औँ मिनेटमा डोकुले सिटीको अग्रता दोब्बर बनाए ।
खेलको ८८औँ मिनेटमा रिको लेविसले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि सिटी १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै समूह ‘जी’मा तीन अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा पराजित वाइदाद तालिकाको तेस्रो स्थानमा छ । यो समूहमा सिटी र वाइदादसँगै युभेन्ट्स र अल–एइन छन् ।
रियाल १–१ अल–हिलाल
बुधबार नै भएको अर्को खेलमा स्पेनिस ‘जायन्ट’ रियाल मड्रिड साउदी अरेबियन क्लब अल–हिलालसँग १–१ को बराबरीमा रोकिएको छ ।
हार्ड रक रंगशालामा रियालले अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । रियालका गोन्जालो गार्सियाले ३४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४१औँ मिनेटमा रुबेन नेभेसले पेनाल्टीमार्फत गोल गर्दै अल–हिलाललाई खेलमा फर्काए ।
इन्ज्युरी समयमा रियालले गोलका सुन्दर अवसर गुमाउनु नै बराबरीको कारण बन्यो । रियालका मिडफिल्डर फेडेरिको भाल्भर्डेले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा टोलीले अग्रताको सुनौलो अवसर खेर फाल्यो ।
समूह ‘ए’मा एक अंक जोडेको रियाल तालिकाको दोस्रो स्थानमा छ । समान अंकको अल–हिलाल तेस्रो स्थानमा छ । यो समूहमा रियाल र अल–हिलालसँगै आरबी साल्जबर्ग र पाचुका छन् ।