
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)को टोली अल–एैनविरुद्ध ५–० को फराकिलो जित निकाल्दै फिफा क्लब विश्वकपमा इटालियन क्लब युभेन्ट्सले सानदार सुरुआत गरेको छ
बिहीबार बिहान औडी फिल्डमा युभेन्ट्सलाई जित दिलाउन रान्डाल कोलो मुआनी र फ्रान्सेस्को कोन्सेइकाओले समान दुई गोल गरे । केनान यिल्डिजका नाममा एक गोल रह्यो । युभेन्ट्सले पहिलो हाफमा चार गोल गरेको थियो । दोस्रो हाफमा एक गोल थपेको हो ।
खेलको ११औँ मिनेटमा मुआनीको गोलमा युभेन्ट्सले अग्रता बनाएको थियो । २१औँ मिनेटमा कान्सेइकाओले इटालियन क्लबको अग्रतालाई दोब्बर बनाए ।
३१औँ मिनेटमा यिल्डिजले गोल गरेपछि युभेन्ट्सले अग्रतालाई ३–० मा पुर्याएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा मुआनीको गोलमा युभेन्ट्सले अग्रतालाई ४–० मा पुर्यायो । ५८औँ मिनेटमा कान्सेइकाओले युभेन्ट्सबाट पाँचौँ गोल गरे ।
प्रतियोगितामा युभेन्ट्स समूह ‘जी’मा छ । पहिलो जितसँगै तीन अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा छ । फराकिलो हार व्यहोरेको अल–एैन तालिकाको पुछारमा छ ।