
काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा नाराबाजीसहित निरन्तर अवरोध गरिरहेको छ ।
‘भिजिट भिसा’मा विदेश जानेबाट रकम असुलिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘राडार’भित्र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थ भट्टराई जोडिएपछि गृहमन्त्रीसमेत आलोचित हुन पुगेका हुन् ।
प्रमुख प्रतिपक्षी माओवादीले पनि सुरुमा अध्यामगन गृह मन्त्रालयअन्तर्गतको कार्यालय भएकाले गृहमन्त्रीमाथि छानबिन र राजीनामा मागेको थियो । पछिल्लो समय माओवादी गृहमन्त्रीको राजीनामा मागबाट पछि हटेको छ ।
रास्वपा सांंसदहरूले मंगलबार निलो रिबन घाँटीमा लगाउँदै प्रर्दशन गरे । संसद् बैठक बिहीबारका निम्ति बोलाइएको छ ।
रास्वपा सांसदहरूका विरोधबीच गत शुक्रबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले आफूमाथि राजनीतिक प्रतिशोध र आफ्नो राजनीतिक जीवन समात्न गर्न नियोजित रुपमा भिजिट भिसा प्रकरण उछालिएको दाबी गरे ।
मन्त्री लेखकले संसद बैठकमै भनेका थिए, ‘‘मलाई बदनाम गर्ने उद्देश्यले केही पार्टी कार्यालमै नक्कली उजुरी लेखिएका छन् । त्यसको सूचना मसित छ । कीर्ते जालसाँजी र अमर्यादित काम गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न आग्रह गर्छु । त्यस्ता मानिसलाई कारबाहीको दायरामा ल्याउँछु ।”
गृहमन्त्री लेखकले संसद्मा कुनै पार्टीको नाम नलिए पनि उनले रास्वपा पार्टी कार्यालयलाई संकेत गरेका थिए । गृह स्रोतको दाबीमा रावस्पा पार्टी कार्यालय गृहमन्त्रीविरुद्ध नक्कली उजुरी लेख्ने अखडा भएको छ ।
ती अधिकारीले भने, ‘‘हामीलाई भिडियोहरू प्राप्त भएका छन् । पीडित भनिएकाहरूबाट पार्टी कार्यालयमै उजुरी लिने र त्यहाँबाट निवेदन लेखाएर अख्तियारमा पठाउने गरेको खुलेको हो ।’’
एक वर्षअघि वैदेशिक रोजगारीका लागि एजेन्टमार्फत पोल्यान्ड जान प्रयासरत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ का तीन युवाले रास्वपा सासंदहरूको योजनामा गृहमन्त्री लखेकविरुद्ध अख्तियारमा उजुरी दिएको खुलेको हो ।
उजुरीकर्तामध्येका गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ मनोज गुरुङले रास्वपा कार्यकर्ताबाट ठगिएको विषयमा सहयोग गर्ने भन्दै केन्द्रीय कार्यालय बोलाउँदै उजुरी दिन अख्तियार पठाएको बताएका हुन् ।
“पहिलो दिन रास्वपा कार्यालयमा योजना बनेको हो,” गुरुङले भनेका छन्, ‘‘त्यसको भोलिपल्ट हामी अख्तियार गएका हौँ । उजुरी लेख्ने मानिससमेत रास्वपाले नै पठाएको हो ।’’
भिजिट भिसामा जानेबाट रकम असुल्दै सहजीकरण गरेको आरोप लागेका सहसचिव तीर्थ भट्टराईसहित केही कन्सल्टेन्सीसहितका अरोपीमाथि अख्तियारले अनुसन्धान जारी राखेको छ ।
भट्टराईसहितका आरोपीको मोबाइल फोन नियन्त्रणमा लिएर अख्तियारले डिजिटल फरेन्सिक ल्याबमार्फत रिकभरसमेत गराएको छ । भिजिट भिसा प्रकरणमा संलग्न अध्यागमन विभागका अन्य कर्मचारीमाथिसमेत अख्तियारले अनुसन्धान गरिरहेको छ ।