
काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकाले प्रदेश खारेजीको प्रस्ताव नगरसभाबाटै पारित गरेको छ । संविधानले तीन तहका सरकारलाई आपसी सहकार्य र सहअस्तित्वका आधारमा सञ्चालन हुने व्यवस्था गरेको छ । तर, धुलिखेल नगरपालिकाले नगरसभाबाटै प्रदेश खारेजीको प्रस्ताव पारित गरेको हो ।
वडा नम्बर २ का वडाध्यक्ष अर्जुन न्यौपानेले प्रदेश खारेजीको प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा वडा नम्बर ३ का वडाध्यक्ष गणेश आचार्य समर्थक थिए । प्रस्तावलाई नगरसभाले पारित गरेको धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्यान्जु श्रेष्ठले जानकारी दिए । निर्णयका आधारमा अब संघ सरकारलाई प्रदेश संरचना खारेज गर्न सिफारिस गर्ने उनको भनाइ छ ।
वडाध्यक्ष न्यौपानेले प्रस्तावमा भनेका छन्, “प्रदेश सरकारलाई विनियोजित बजेट सिधा स्थानीय तहमा विनियोजन गर्नका लागि संघीय संसदमा प्रस्ताव पेस गर्न यस सम्मानित सभामार्फत प्रस्ताव पेस गर्दछु ।”
उनको प्रस्तावलाई वडा नम्बर ३ का अध्यक्ष आचार्यले समर्थन जनाएपछि प्रस्ताव नगरसभामा पेस भएको थियो ।
संविधानले तीन तहका सरकारलाई आपसी समन्वय र सहकार्यका आधारमा सहअस्तित्व स्वीकार गर्नुपर्ने बताए पनि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्न नचाहेकाले नगरसभाले प्रदेश खारेजीको प्रस्ताव गरेको मेयर ब्यान्जु बताउँछन् । उनले प्रतिशोधमा नभएर प्रदेशको औचित्य नदेखेर निर्णय लिएको बताए ।
“अहिले नेपाली जनतालाई सोध्नुभयो भने प्रदेश खारेजीका पक्षमा बहुमत छ । जनताको भावनाको प्रतिनिधित्व त कहीँ न कहीँ हुन्छ नि !,” ब्यान्जुले बाह्रखरीसँग भने, “हामीले जनताको भावना राखेका हौँ ।”
'संविधानअनुसार शपथ लिएको व्यक्तिले संविधानविपरीतका प्रस्ताव नगरसभाबाट पारित गर्न मिल्छ ?' भन्ने प्रश्नमा उनले आफ्नो शपथ जनताको मतको सम्मानका लागि पनि भएको बताए ।
उनले आफूहरूको निर्णयविरुद्ध कोही अदालत गए आफू सामना गर्न तयार रहेको उनको भनाइ छ ।
“जनताले चाहे भने यो संविधान नै खारेज हुन सक्छ । प्रदेश खारेज गरेर संशोधन पनि हुन सक्छ,” ब्यान्जुले बाह्रखरीसँग भने, “म तेस्रोपटक निर्वाचित मेयर हुँ । पद जान्छ भन्ने चिन्ता गरिँदैन । यस्ता पद आउँछन्, जान्छन् ।”