
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संक्रमणकालीन न्यायका विषयमा छलफल भएको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरूबीच छलफल भएको हो । उनीहरूबीच संक्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एक अर्ब रुपैयाँ संक्रमणकालीन न्यायसम्बन्धी कोषमा राख्ने गरी बजेट आएको र पीडितहरूको उपचार सरकारी अस्पतालबाट गर्ने कुराहरू पनि समेटिएकोले ती विषयहरू बैठकमा राखिएको बताए ।
उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण भई कामहरू प्रारम्भ भइसकेको अवस्था रहेको बताउँदै ती विषयहरूलाई पनि छलफलमा ब्रिफिङ गरेर जानकारी गराउने काम भएको उल्लेख गरे । यस्तै, आयोगहरूको कार्यालय र सवारीसाधन व्यवस्थापन लगायतका विषयमा पनि छलफल भएको थियो । बैठकमा संक्रमणकालीन न्याय कसरी अगाडि बढ्दै छ भन्ने विषयमा छलफल केन्द्रित भएको र बाँकी काम आयोगले गर्ने उनले जानकारी दिए ।