
अमर अधिकारी
मोबाइलमै कथा–कविता कोरिरहेको हुन्छु
श्रीमती भन्छिन्–
कति फेसबुक चलाएको ?
मैले मोबाइलमा समाचार पढ्दा होस्
वा क्याल्कुलेटर चलाउँदा
उनी भन्छिन्–
कति फेसबुकमा डुबेको ?
मैले लेखन र सम्पादनको काम गरिरहँदा
भन्छिन्–
कति फेसबुकमा झुन्डिएको !
म मोबाइलमै क्यालेन्डर र पात्रो हेर्छु
उनी फेरि भन्छिन्–
कति फेसबुकमा लिप्त भा’को ?
म एक कानले सुनेर अर्को कानले उडाइदिन्छु
उनका आरोपहरू
थप्दै कडा बोल्छिन्–
कति फेसबुकमा मात्र घोप्टिएको ?
इमेल परीक्षण, डाउनलोड र फाइल कपी गर्दा पनि
उनी कराउँछिन्–
फेसबुकबाहेक अरू केही चाहिँदैन हगि ?
र, अनेक कामका लागि
म मोबाइल वा ल्यापटपमा व्यस्त रहन्छु
घरीघरी उनी आरोप लगाउँछिन्–
कति फेसबुकमा घोटिएको ?
यसरी ‘फेसबुके’ आरोप लगाइरहन्छिन् घरीघरी
आफ्ना सिर्जनात्मक काममा व्यस्त हुन्छु
मैले दिनमा एक घण्टा फेसबुक चलाउँदा
उनी ठान्छिन्,
मैले दिनभर फेसबुक चलाएँ !
उनी झोक्किन्छिन्
अनि जान्छिन्
र, व्यस्त हुन्छिन्
आफ्नो मोबाइलको फेसबुकमा !
(बूढानीलकण्ठ, काठमाडौं)