
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको बताएका छन् । शनिबार (असार ७) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।
नेपालमा संविधान निर्माण गर्दा खुसीराजीले संघीयता स्वीकार नगरिएको उनले उल्लेख गरे । उनले हाल नेपाली जनतालाई प्रदेश आवश्यक नभएको जिकिर गरे । उनले राष्ट्रको हितमा नहुने प्रणाली खारेज गर्नुपर्नेमा जोड दिए ।
“...त्यो प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर बिचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको थियो,” उनले भने ।
आफू संघीय प्रणालीको विरोधी नभएको तर संघीयता नेपालमा सम्भव नरहेको उनले बताए । उनले भने, “मलाई त भन्दा भन्दा चित्रबहादुर संघीयताविरोधी हो रे ! म किन हुने संघीयताविरोधी ? नेपालमा संघीयता सम्भव छैन, यसको आवश्यकता छैन भन्नु र संघीय प्रणालीको विरोध हुने एउटै कुरा हो ? यो गलत ।”
सांसद केसीले स्थानीय तह बलियो बनाउनुपर्ने बताए । न्युज एजेन्सी नेपाल