
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन हुनुपर्ने बताएकी छन् । शनिबार (असार ७) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएकी हुन् ।
आफूहरूले जनताको आवाज उठाउँदा पनि सरकार बेखबर रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । रुस, युक्रेन सेनामा रहेका नेपाली पनि भिजिट भिसाबाटै त्यहाँ पुगेका उनले बताइन् ।
“...हाम्रा दाजुभाइ, दिदिबहिनीहरू बेचिएका छन् । उनीहरूमार्फत लाखौँ रुपैयाँ असुल गर्नेजस्तो निर्लज्जता केही पनि छैन,” उनले भनिन् ।
गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिएको आरोप लगाउँदै उनले आफूहरूले राजीनामा माग गरेको उल्लेख गरिन् । गठबन्धन दलले सुशासन कायम गर्ने भए गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्ने उनले माग गरिन् ।
‘एक करोड दैनिक आम्दानीको हिस्सा गठबन्धन सरकारका टाउकेहरूले पनि खाएका त छैनन् ?’ भन्दै उनले प्रश्न गरिन् ।
सांसद कार्कीले ‘पैसा कमाउन देश पनि बेच्ने हो ?’ भन्दै प्रश्न गरिन् । अविलम्ब उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा उनले जोड दिइन् । उनले गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइन् । न्युज एजेन्सी नेपाल