
काठमाडौं । गएको महिना भारत र पाकिस्तानबीच युद्धविराम वार्तामा खेलेको भूमिकाको कदर गर्दै पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका निम्ति मनोनयन गर्ने योजना घोषणा गरेको छ ।
सामाजिक सञ्जाल एक्समा पाकिस्तानी सरकारले हालैको भारत–पाकिस्तान संकटको समयमा निर्णायक कूटनीतिक हस्तक्षेप र महत्त्वपूर्ण नेतृत्वका निम्ति उनी यो पुरस्कारको हकदार भएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।
भारतले उक्त युद्ध अन्त्य गर्न अमेरिकाले मध्यस्थकर्ताका रूपमा काम गरेको अस्वीकार गरेको छ । र, तेस्रो पक्षबाट कुनै कूटनीतिक हस्तक्षेप नचाहेको जनाएको छ ।
ट्रम्पले आफूले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुपर्ने बताउँदै आएका छन् । त्यसको विजेता आउँदो अक्टोबरमा घोषणा गरिनेछ ।
मेमा ट्रम्पले भारत–पाकिस्तानबीच युद्धविरामको आश्चर्यजनक घोषणा गरेका थिए । आणविक हतियारसम्पन्न दुई छिमेकी मुलुकबीच चार दिनको युद्धपछि यस्तो घोषणा गरिएको थियो ।
पाकिस्तान सरकारले शनिबार बिहानको आफ्नो पोस्टमा भनेको छ, “राष्ट्रपति ट्रम्पले इस्लामाबाद र नयाँ दिल्ली दुवैसँग बलियो कूटनीतिक संलग्नतामार्फत उत्कृष्ट रणनीतिक दूरदर्शिता र उत्कृष्ट राज्यकौशल प्रदर्शन गरेकाले तीव्र रूपमा बिग्रँदै गएको अवस्थालाई कम गर्न सहयोग गरेको छ । यो हस्तक्षेप उनको वास्तविक शान्तिको पहलकर्ताका रूपमा भूमिकाको प्रमाण हो ।”
पाकिस्तानको यो घोषणाका बारेमा अमेरिका र नयाँ दिल्लीबाट तत्काल कुनै प्रतिक्रिया जनाइएको छैन ।