
काठमाडौं । उपन्यासकार झम्क तिमल्सिनाको दोस्रो उपन्यास ‘विमुक्ति’ सार्वजनिक गरिएको छ । शनिबार (असार ८) काठमाडौंमा आयोजित एक कार्यक्रममा आख्यानकार माया ठकुरीलगायत व्यक्तिले उपन्यास विमोचन गरे ।
उपन्यास सार्वजनिक गर्दै ठकुरीले यसमा सामाजिक अन्तरवस्तु समेटिएको बताइन् ।
समालोचक डा. अशोक थापाले एउटा सम्भ्रान्त वर्गको छुटेको परिवारको कथा यसमा समेटिएको उल्लेख गरे । उनले ‘विमुक्ति’ एउटा सामाजिक र दार्शनिक उपन्यास भएको बताए ।
समालोचक महेश पौड्यालले ‘विमुक्ति’ उच्च सम्भ्रान्त वर्गको कथा भए पनि त्यहाँभित्रको अदृश्य पाटो उत्खनन गरिएको बताए । समाजमा प्रौढ व्यक्तिका दुःख र कथा कम लेखिएको समयमा ‘विमुक्ति’ले त्यो अभाव पूर्ति गर्ने प्रयास गरेको उनको भनाइ थियो ।
उपन्यासकार तिमल्सिनाले पाठकको प्रेरणा प्राप्त भए लेखन यात्रालाई निरन्तरता दिने बताए ।
साहित्यकार भुवनहरि सिग्देलले पनि उपन्यासका विषयमा आफ्नो धारणा राखे । उपन्यास पेज टर्नरले बजारमा ल्याएको हो ।