site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशसभा सदस्यको माग : हात्ती पहाड चढे, विद्युतीय फेन्सिङ बनाइयोस्

विराटनगर । तराईका हात्ती कोसी प्रदेशका पहाडतिर समेत उक्लिएर दुःख दिएको भन्दै प्रदेशसभा सदस्यले नियन्त्रण गरी धनजनको रक्षा गर्न माग गरेका छन् ।

आइतबार कोसी प्रदेशसभाको बैठकमा बोल्ने सदस्यहरूले हात्ती आतंक पहाडतिर पनि सुरु भइसकेको भन्दै विद्युतीय फेन्सिङ लगाएर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शम्शेर राईले लामै समयदेखि इलामको दूधै, बाघेटार, सलकपुरलगायत क्षेत्रमा हात्ती आउजाउ गरी धनजन क्षति गर्न सुरु गरेको बताए । “दुःख दिने गरेको छ । बालीमात्र सकेन सलकपुर भन्ने ठाउँमा घर भत्काएको छ । बगरमा मानसिक सन्तुलन गुमाएकी महिलालाई आक्रमण गर्दा दुःखद निधन नै भएको छ,” राईले भने, “हात्तीबाँधको लागि सोलार फेन्सिङ गर्न माग गरे पनि बजेटमा छुट्यो, हात्ती आतंक रोक्न सरकारले पहल गरोस् ।” 

उनले सिद्धिनहर निर्माण भए पनि क्यानलमा कभर नहुँदा मानिसहरू डुबेर मृत्यु भएको सदनसमक्ष जानकारी गराए । एकजना पाटापुरबासीको क्यानलमा डुबेर मृत्यु भएको राईले बताए । 

कांग्रेस प्रदेशसभा सदस्य ममता तामाङ मगरले पनि सुनसरीको बराहक्षेत्र नगरपालिकामा हात्तीले दुःख दिन थालेको बताउँदै सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, “स्थानीयलाई सुरक्षा गर्नुपर्‍यो । सरकारले ध्यान देओस् ।” 

अघिल्लो बैठकमा राप्रपा प्रदेशसभा सदस्य सविना बजगाईंले पनि मेचीनगरको बाहुनडाँगी क्षेत्रमा हात्तीले दुःख दिएको भन्दै नियन्त्रणमा चासो दिन सरकारको ध्यानाकर्षण गराएकी थिइन् । 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्