
काठमाडौं । फिफा क्लब विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा ब्राजिलियन क्लब पाल्मेरसविरुद्ध मैदान उत्रिँदा इन्टर मियामी जितको लक्ष्यमा हुनेछ । यो नतिजाको अर्थ दुवै टिमले क्लब विश्वकपको अन्तिम–१६ मा स्थान सुरक्षित गर्नेछन् ।
अमेरिकी फुटबलमा साँघुरो चारकुनामा संघर्षरत मियामीका निम्ति यो पक्कै पनि ऐतिहासिक उपलब्धि हुनेछ । मियामी त्यही टोली हो, जसले इजिप्टको अल–अह्लीविरुद्ध गोलरहित बराबरी र पोर्टोविरुद्ध जित हासिल गरेको थियो ।
पाल्मेरस चार अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा छ । समान खेलबाट चार अंक नै जोडेको मियामी गोल आधारमा पाल्मेरसभन्दा पछि छ । पोर्टो र अल–अह्ली समान एक अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
किन महत्त्वपूर्ण छ ?
यस समूहबाट अझै पनि चारै टोलीले अन्तिम–१६ को यात्रा तय गर्ने सम्भावना छ । जहाँ, मियामी र पाल्मेरस आफ्नै नतिजामा निर्भर छन् । समूहको शीर्ष स्थानमा रहँदै प्रिक्वार्टरफाइनल पुग्न पाल्मेरसलाई बराबरीको नतिजा नै पर्याप्त छ ।
यस समूहको विजेताले नकआउट चरणमा समूह ‘बी’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । जहाँ बोटाफोगा ६ अंकसहित शीर्ष र युरोपियन क्लब च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) तीन अंकसहित दोस्रो स्थानमा छन् ।
“हामी सम्भवतः क्लब इतिहासकै सबैभन्दा महत्त्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछौँ । हामी पक्कै पनि उच्च उत्साहसाथ प्रतिस्पर्धामा उत्रिनेछौँ । यो अवसरलाई खेर जाने दिने पक्षमा छैनौँ,” समूह चरणको अन्तिम खेलअघि मियामीका मुख्य प्रशिक्षक हाभियर मास्केरानोले भने ।
यी दुई टिमबीचको खेल मंगलबार बिहान नेपाली समयअनुसार ६ः४५ बजदेखि सुरु हुनेछ । यो अमेरिकाको मियामीस्थित हार्ड रक रंगशालामा हुने तालिका छ ।