site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्वोच्चमा एक सिट खाली राख्नुको रहस्य

काठमाडौं । न्याय परिषद्ले गएको जेठ २७ गते सर्वोच्च अदालतमा तीन न्यायाधीशको नाम सिफारिस गर्‍यो, एक पद खाली राखियो । किन एक पद खाली राखियो ? न्यायिकजगत्मा यतिखेर चर्चाको विषय बनेको छ ।

न्याय परिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम सिफारिस गरेको थियो । न्याय परिषद् बैठकमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले यसरी एक पद रिक्त राख्नु उचित नहुने भन्दै फरक मत राखेको टीकाटिप्पणी न्यायिकवृत्तमा व्याप्त छ ।

न्याय परिषद्ले ०९३ सालमा नृपध्वज निरौलापछिका प्रधानन्यायाधीशको खोजीमा एक पद रिक्त राखेको चर्चा न्याय क्षेत्रमा छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आउँदो चैत १७ गते उमेरहदका कारण अवकाश पाउँदै छन् । उनी ०७३ साउन १७ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थिए । कानुन व्यवसायी पृष्ठभूमिबाट उनी न्यायाधीश हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राउतसँगै न्याय सेवाका दीपक कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई न्यायाधीशमा नियुक्त भएका थिए । न्याय सेवाबाट आएका मध्ये श्रेष्ठ मात्र प्रधानन्यायाधीश भए । अरू न्यायाधीशबाटै अवकाशमा गए ।

एकैदिन नियुक्त भएका वरिष्ठ अधिवक्तामध्येबाट हरिकृष्ण कार्की छोटो समय प्रधानन्यायाधीश हुँदै बाहिरिए । राउतलाई गएको असोजमा प्रधानन्यायाधीश बन्ने अवसर मिल्यो । उनी चैत १७ सम्म प्रधानन्यायाधीश रहनेछन् ।

सँगै नियु्क्त भएका अनिलकुमार सिन्हाले अवकाश पाइसके । मल्ल प्रधानन्यायाधीशको रोलक्रममा छिन् । वरिष्ठ अधिवक्ताबाट नियुक्त भएका मध्ये सिन्हाबाहेक रोलक्रममा सबैले प्रधानन्यायाधीशसम्मको जिम्मेवारी पाए । र, पाउनेछन् ।

हालकी वरिष्ठतम न्यायाधीश मल्ल आउँदो चैत १७ पछि ०८५ कात्तिक ३० सम्म प्रधानन्यायाधीश कुर्सीमा रहनेछिन् । नेपालको न्यायिक इतिहासमा दोस्रो महिला प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहेकी मल्ल कानुन व्यवसायी पृष्ठभूमिबाटै सर्वोच्च प्रवेश गरेकी हुन् ।

वकालतमा रहँदा महिला अधिकारका पक्षमा सक्रिय प्रधान नेकपा (एमाले)का तर्फबाट संविधानसभा सदस्य समेत बनेकी थिइन् ।

रोलक्रम खलबलिने कुनै घटना नभएमा मल्लपछि प्रधानन्यायाधीशको जिम्मेवारीमा न्यायाधीश कुमार रेग्मी हुनेछन् । उमेरहदकै कारण मल्लले अवकाश पाएपछि रेग्मी प्रधानन्यायाधीश बन्नेछन् ।

कानुन व्यवसायी पृष्ठभूमिबाटै आएका रेग्मी ०८५ कात्तिक ३० मा प्रधानन्यायाधीश बन्ने हुन् । उनी ०८८ भदौ २० सम्म झन्डै तीन वर्ष प्रधानन्यायाधीशमा बहाल रहनेछन् ।

रेग्मीपछि प्रधानन्यायाधीशको रोलक्रममा कानुन व्यवसायी पृष्ठभूमिबाट आएका हरिप्रसाद फुयाल छन् । न्यायाधीशमा नियुक्त हुनुअघि फुयालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको महान्यायाधिवक्ता भएर काम गरेका थिए । उनी ०८८ भदौ २० पछि रिक्त हुने प्रधानन्यायाधीश पदमा ०९२ असोज २० सम्म अर्थात् चार वर्ष एक महिना बहाल रहने लाइनमा छन् ।

रोलक्रममा फुयालपछि न्यायाधीश टेकप्रसाद ढुंगाना प्रधानन्यायाधीश बन्नेछन् । उनी ०९२ भदौदेखि ०९३ पुस ५ सम्म प्रधानन्यायाधीश रहनेछन् ।

ढुंगानाको अवकाशपछि रोलक्रममा न्यायाधीश नृपध्वज निरौला छन् । तर, उनको कार्यकाल निकै छोटो हुनेछ । उमेरहदको हिसाब गर्दा उनको भागमा जम्माजम्मी एक महिना १९ दिन कार्यकाल बाँकी रहन्छ ।

सर्वाेच्चमा प्रधानन्यायाधीश र न्यायाधीशको उमेरहद ६५ वर्ष कायम छ । खासमा यतिखेर निरौलापछि प्रधानन्यायाधीश बन्ने पात्रको खोजी गरिँदै छ । त्यसनिम्ति २०३०–२०३१ सालमा जन्मेका कानुन व्यवसायी विकल्प हुन् ।

तर, १० वर्षभन्दा बढी सर्वाेच्चमा न्यायाधीश नरहने गरी नियुक्तिको प्रबन्ध गर्ने यतिखेर समझदारी बनेको न्याय परिषद्का एक सदस्य बताउँछन् । ती सदस्यका अनुसार, त्यो समझदारी कायम भएमा हाल नियुक्त भएका व्यक्तिले ०९२ वा त्यसअघि नै अवकाश पाउनेछन् ।

तर, पृष्ठभूमिमा ०२९ सालपछि जन्मेका व्यक्तिलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने र उनलाई ०९३ माघपश्चात्को प्रधानन्यायाधीश निश्चित गर्ने गृहकार्य भइरहेको चर्चा छ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्