site stats
बाह्रखरी :: Baahrakhari
कला
समीर भट्टको पारिश्रमिक कति हो ?

काठमाडौं । नेपाली चलचित्र उद्योगका निम्ति समीर भट्ट अहिले ‘हट केक’ हुन् । चलचित्र ‘१२ गाउँ’ रिलिजअगाडि नै उनको नाम चर्चामा थियो ।

‘१२ गाउँ’ व्यापारिक रूपमा सफल भएपछि उनको चर्चा थप चुलियो । उनको क्रेज सामाजिक सञ्जालमा मात्र होइन, हलमा पनि गजबको देखियो । समीरकै कारण ‘१२ गाउँ’ चलेको भन्नेहरू धेरै छन् । यो सिनेमाले नेपाली बक्सअफिसमा १९ करोड ९२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।

‘१२ गाउँ’ले नेपाली सिनेमा उद्योगकै उम्दा ब्रान्ड ‘छक्का पञ्जा’को सिरिजसँग प्रतिस्पर्धा गरेको थियो । यसले ‘छक्का पञ्जा–५’ लाई बक्सअफिस कलेक्सनमा पछि पारेको थियो ।

यति बेला समीरलाई आफ्नो चलचित्रमा लिन चाहने निर्माता तथा निर्देशकको संख्या ठूलो छ । तर, समीरले कसैको चलचित्र साइन गरेका छैनन् ।

सुरुमै साइन गरेको ‘बलिदान’बाहेक हालसम्म उनले अरू चलचित्रमा काम गरेका छैनन् । ‘बलिदान’को छायांकन सकिएको छ । पोस्टप्रोडक्सनको चरणमा छ । 

अब समीर आफ्नै होम प्रोजेक्टमा काम गर्ने तयारीमा छन् । बुवा विराज भट्टले बनाउने चलचित्र ‘१२ गाउँ–२’ मा उनले काम गर्नेछन् । त्यसपछि मात्र उनले अरू निर्माता तथा निर्देशकका चलचित्रमा काम गर्नेछन् ।

सन्तोष सेन निर्देशित ‘बलिदान’ आउँदो दसैँको फूलपातीमा रिलिज गरिँदै छ । मुख्य भूमिकामा छन्, समीर ।

समीरको पारिश्रमिक कति हो भन्ने बजारमा चर्चा छ । तर, ‘बलिदान’यता उनले कुनै चलचित्र साइन गरेका छैनन् । त्यसैले हाल समीरको पारिश्रमिक कति भन्ने धेरै अड्कलबाजी गरिँदै छ ।

उनले ‘बलिदान’मा चाहिँ कति पारिश्रमिक लिए ? समीरले ‘बलिदान’का निम्ति ५१ लाख रुपैयाँ पारिश्रमिक लिएका थिए । तर, उनले यो दुई वर्षअगाडि नै लिएको पारिश्रमिक हो । त्यो समय समीर ‘१२ गाउँ’मा काम गर्ने सोचमा पनि थिएनन् । 

“हामीले समीरलाई दुई वर्षअगाडि नै ५१ लाख रुपैयाँ क्यास दिएका हौँ,” ‘बलिदान’ निर्माण स्रोतले बाह्रखरीसँग भन्यो, “हामीले समीरलाई साइन गराउँदा ‘१२ गाउँ’मा खेल्ने उहाँको सोच थिएन ।”

आसुसेन फिल्मस्को प्रस्तुति रहेको चलचित्र ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड विस्ट हुन् । कार्यकारी निर्मातामा प्रेम पुरी छन् ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्