site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी संसद्‌मा ट्रम्पलाई महाभियोग लगाउने प्रयास भारी मतले असफल

काठमाडौं । अमेरिकी तल्लो संसद् कंग्रेसले मंगलबार भारी मतले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रयासलाई रोक्ने निर्णय गरेको छ । 

राष्ट्रपति ट्रम्पले कंग्रेसको पूर्वस्वीकृति नलिई इरानमा सैन्य आक्रमण सुरु गरेपछि उनलाई सत्ताको दुरुपयोगको एकमात्र आरोपमा महाभियोग लगाउने प्रयासलाई अमेरिकी हाउसले मंगलबार भारी मतले रोक्ने निर्णय गरेको समाचार संस्था एपीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन एक प्रगतिशील सांसदले प्रस्ताव लगेका थिए । टेक्सासका डेमोक्र्याट सांसद अल ग्रीन एक्लैले ल्याएको यो प्रस्तावले खासै बहस निम्त्याएन र उनको पार्टीमा विभाजन ल्यायो । 

अधिकांश डेमोक्र्याटहरूले रिपब्लिकनसँग मिलेर यो प्रस्ताव हाललाई स्थगित गर्ने पक्षमा मत दिए । तर, दर्जनौं डेमोक्र्याटरूले ग्रीनको प्रयासलाई समर्थन गरे । मत परिणाम ३४४–७९ रह्यो ।

रिपब्लिकनलाई साथ दिने उदारवादीहरूमा हाउस डेमोक्र्याटिक नेतृत्वका तिनै सदस्यहरू तल्लो सदन अल्पसंख्यक नेता हकिम जेफ्रिस (न्यूयोर्क), सदन अल्पसंख्यक सचेतक क्याथरिन क्लार्क (म्यासाचुसेट्स) र सदन डेमोक्र्याटिक ककसका अध्यक्ष पीट अगुइलर (क्यालिफोर्निया)ले प्रस्ताव स्थगन गर्न मतदान गरे ।

फक्सन्यूजका अनुसार यसअघि पनि ट्रम्पलाई महाभियोग लगाउने धम्की दिइसकेका ग्रीनले आफ्नो पछिल्लो प्रयास राष्ट्रपतिले सप्ताहन्तमा इरानमा गरेको आक्रमणलाई लक्षित गरेको बताए ।
 
ग्रीनले मंगलबार बिहान भनेका थिए, “म राष्ट्रपतिले शक्तिको दुरुपयोग गरिरहँदा र अमेरिकी लोकतन्त्रलाई अधिनायकवादमा परिणत गर्दा म दर्शक बन्न कंग्रेसमा आएको होइन । राष्ट्रपति ट्रम्पको इरानमा अनधिकृत बमबारी युद्धको वास्तविक घोषणा हो । कुनै पनि राष्ट्रपतिलाई जनताका प्रतिनिधिहरूको अनुमतिबिना यस राष्ट्रलाई युद्धमा धकेल्ने अधिकार छैन ।”

जनप्रतिनिधि अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज (न्यूयोर्क) लगायत अन्य प्रगतिशीलहरूले पनि इरानमा भएको आक्रमणलाई लिएर ट्रम्पलाई महाभियोग लगाउन आह्वान गरेका थिए । 

ट्रम्पले मंगलबार आफ्नो ट्रुथ सोसल पोष्टमा ती प्रगतिशीलहरूको खिल्ली उडाउँदै केही टिप्पणी गरेका थिए । एपी

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०७:३७
प्रतिक्रिया दिनुहोस्